Loving nepal news

Wednesday, August 25, 2010

एक मात्र रेल्वे बन्द हुने अवस्थामा

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १० - सरकारले ८ खर्ब (तीन वर्षको बजेट) खर्च गरेर रेलमार्ग बनाउने योजना बनाएका बेला सञ्चालनमा रहेको एक मात्र जनकपुर रेल्वे संकटपूर्ण अवस्थामा पुगेको छ । समयमै मर्मसम्भार नभएर यसै वर्ष सेवा बन्द गर्न बाध्य हुनुपर्ने कम्पनीले जनाएको छ ।

जनकपुरदेखि जयनगरसम्म चल्ने न्यारो गेज (साँगुरो लिक) को नेपाल रेल्वे कम्पनी गत आर्थिक वर्षमा मात्र १ करोड ६ लाख रुपैयाँ घाटामा गएको छ । इन्जिन, यात्रु कोच, ट्रक कन्टेनर र स्लिपरलगायत सामान समयमा मर्मत हुन नसक्दा मुलुककै एक मात्र रेल सेवा जीर्ण अवस्थामा पुगेको हो । कम्पनीलाई आवश्यक पर्नेभन्दा बढी कर्मचारी, राजनीतिक हस्तक्षेप, सञ्चालनमा अनियमितता, व्यवस्थापनको बेवास्तासहित अनुगमनको अभाव कम्पनी सफल नहुनुको कारण भएको जानकारहरू बताउँछन् । रेलमा यात्रा गर्दा भाडा नतिर्ने संस्कारले पनि कम्पनीको आम्दानी घटाएको छ ।

कायकर्ता भर्ती केन्द्रजस्तो देखिएको यो कम्पनीलाई तीन दर्जनभन्दा बढी कर्मचारीको आवश्यकता छैन । यहाँ भने १ सयभन्दा बढी छन् । करिब सात दशकअघि स्थापना भएको यो रेल्वेे जनकपुरदेखि भारतको जयपुरसम्मको दूरी २९ किलोमिटर छ । अहिले रेल्वेेे दुई डिजेल इन्जिन र १२ वटा कोचबाट सञ्चालित छ ।

३ हजार ५ सय यात्रु र ६० टन सामान बोकेर कम्पनीले ७० हजार रुपैयाँ दैनिक आम्दानी गर्ने गरेको छ । यसले दैनिक ३ टि्रप सेवा सञ्चालन गर्ने गरेको छ । कम्पनीका महाप्रबन्धक सञ्जीवकुमार मल्लिकले गत वर्ष रेल सञ्चालन कम हुँदा लागत बढेकाले घाटा उच्च भएको बताए । 'हाम्रो आम्दानी मासिक औसतमा १६ लाखदेखि १० लाख रुपैयाँ छ,' उनले भने, 'सञ्चालन लागत २५ लाखभन्दा बढी छ ।'

राजनीतिक हस्तक्षेपका कारण आवश्यकताभन्दा बढी कर्मचारीले कम्पनीमा काम गर्छन् । अहिले यस कम्पनीमा १ सय ७१ जना कर्मचारीले काम गरिरहेका छन् । जसमा १ सय ९ जना अस्थायी

छन् । कम्पनीको वाषिर्क प्रतिवदेन अनुसार गत आर्थिक वर्षमा १ करोड २५ लाख आम्दानी गरेकामा २ करोड १० लाख रुपैयाँ कर्मचारीको तलब र दसैं खर्चमा लागेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले नाफा गरेको थियो । त्यसबेला कम्पनीको नाफा १५ लाख थियो ।

'मुलुकको एक मात्र रेल्वेेे अहिले दर्दनाक अवस्थामा सञ्चालन भएको छ,' यातायात व्यवस्था विभागका निर्देशक अनिलकुमार गुरुङले भने, 'राम्ररी पुनर्निर्माणको काम नभएर कम्पनी बन्द हुने अवस्थामा छ ।' रल्वेको अवलोकन गरेर आएका उनले सबै पूर्वाधारको पुनर्निर्माणको विकल्प नभएको भन्दै त्यसो नगरिए रेल्वे बन्द हुने अवस्थामा रहेको जानकारी दिए ।

उनले भारत र नेपाली जनताका लागि सजिलो साधन बनेको यो सेवा अहिले घाटामा गएको र पूर्वाधार निर्माणमा कतैबाट पनि लगानी नभएको उनले बताए । गत वर्ष नेपाल रेल्वेेे बोर्डले १० वर्षको कार्यायोजना बनाएका थियो । जसमा पाँच वर्षभित्र एक मात्र रेल्वेे सेवालाई सहज, सुरक्षित र विश्वसनीय बनाउँदै ब्रोड गेज सेवामा लैजाने बताएको थियो । सरकारले तीन आर्थिक वर्षदेखि कुनै आर्थिक सहयोग दिएको छैन ।

'यस आर्थिक वर्षमा पनि सरकारले बजेट विनियोजन नगरे नेपाल रेल्वे बन्द हुन्छ,' मल्लिकले भने, 'हामीले १३ करोड रुपैयाँ बजेट मागेको छौं । ट्रयाक, इन्जिन र कोच मर्मतका लागि मागिएको यो बजेट पाउने हाम्रो आशा छ ।' यसमा ११ करोड रुपैयाँ ट्रयाक मर्मत र १ करोड ९३ लाख रुपैयाँ इन्जिन र कोच मर्मतमा खर्च गर्ने योजना रहेको उनले बताए ।

गुरुङका अनुसार चार वटा इन्जिनमध्ये सञ्चालनमा रहेका दुई इन्जिन र ६ वटा कोच नाजुक अवस्थामा छन् । सन् १९९३ मा दिएको चार वटा डिजेल इन्जिन अहिले 'आउट डेटेड' भएकाले पाउन गाह्रो पर्ने उनले बताए । सन् १९९४ मा भारतले नै १८ वटा आधुनिक कोच दिएको थियो ।

सरकारले नेपाल रेल्वेलाई ब्रोड गेजमा लैजान कामसमेत गरेको जनाएको छ । यस्तै जयनगर- जनकपुर र बिजुलीपुराबाट बर्दिबाससम्म यसलाई सञ्चालन गर्न भारतसँग सहमतिपनि भएको छ । 'भारतले स्तरोन्नतिका लागि गरिएको सर्भे अन्तिम चरणमा पुगेको छ,' गुरुङले भने, 'यद्यपि ब्रोडगेज सञ्चालन गर्नुअघि यसलाई तत्काल सुधार गर्नुपर्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks