गंगा बीसी
काठमाडौ, श्रावण २८ २०६७ ०८:०४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतका कारण आफ्नो नेतृत्वमा सरकार बन्न नसकेको दाबी गरेका छन् । नेपालका राजनीतिक दलहरूमा भारतले 'चलखेल' गरेको भन्दै सरकार बनाउने काम राष्ट्रिय स्वाधीनताको लडाइँसँग जोडिएको उनले बताए ।
'प्रधानमन्त्री निर्वाचन राष्ट्रिय स्वाधीनता र पराधीनताबीचको लडाइँ हो,' बिहीबार केन्द्रीय समिति बैठकमा दाहालले भने, 'हाम्रो नेतृत्वमा बन्न नदिन देशी/विदेशी शक्ति लागिपरेका छन् । त्यसमा हाम्रो सरकार बन्न नदिन भारतले प्रमुख भूमिका खेल्यो ।' उनले यसअघि भारतको दबाबमा मधेसवादी दलहरूले माओवादीलाई रोकेको संकेत गरेका थिए ।
दाहालले भारतका विशेष दूत श्यामशरणसँग उपाध्यक्ष बाबुराम भट्टराईले छुट्टै भेटेको र आफूले टेलिफोनमा कुरा गरेको बैठकमा जनाए । 'बाबुरामजीले सल्लाह भएअनुसार नै भेट्नुभएको हो,' दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'भेटपछि उहाँले जस्ताको तस्तै सबै कुरा जानकारी गराउनुभयो ।' स्थायी समिति सदस्य वर्षमान पुनले भट्टराईले शरणलाई छुट्टै भेटेको भन्दै 'स्पष्टीकरण दिनुपर्ने' माग गरेका थिए ।
बैठकमा दाहालले 'आफूले बोलाएका ठाउँमा श्यामशरण नआएको र आफू उनले बोलाएको ठाउँमा नगएकाले भेट नभए पनि टेलिफोनमा कुराकानी भएको' बताए । 'शरणले बाबुरामजीसँग भएकै कुरा हुन् नयाँ छैन भनेपछि टेलिफोनमा मात्र कुरा भयो,' उनले भने । शरणले दाहाललाई होटल द्वारिकाजमा भेट्न बोलाएकोमा त्यहाँ आउन अस्वीकार गर्दै अर्कै स्थानमा भेट्ने प्रस्ताव गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks