नेपालगन्ज, श्रावण २१ - नेपाल राष्ट्र बैंकले बर्दियास्थित राष्ट्रिय वाणिज्य बैंक गुलरिया शखामा भारतीय रुपैयाँको अवैध कारोबार हुँदै आएको फेला पारेको छ ।
राष्ट्र बैंक शाखाका व्यवस्थापक भुवन बस्नेतसहितको टोलीले वाणिज्य बैंकमा अकस्मात् निरीक्षण गरी प्रतिबन्धित भारतीय रुपैयाँ जफत गरेको हो । करिब १ करोड रुपैयाँ गायब भएको सूचना पाउनासाथ नेपालगन्जबाट निरीक्षणमा गएको विशेष टोलीले वाणिज्य बैंकको कोषभित्रै भारतीय रुपैयाँ फेला पारेको हो ।
'राष्ट्र बैंकले प्रतिबन्ध लगाएका भारतीय रुपैयाँ सिल गरेर आएका छौं,' बस्नेतले भने, 'कसैले प्रचलनमा ल्याउन नपाउने रुपैयाँ बैंकभित्रै फेला पर्नुले अवैध कारोबार भइरहको पुष्टि गर्छ ।' बैंकले प्रतिबन्ध लगाएका ५ सय दरका ५० हजार भारतीय रुपैयाँ फेला परेको जनाएको छ । राष्ट बैंकले प्रतिबन्धित रुपैयाँको करोबार गर्ने कर्मचारीमाथि कारबाही गर्न प्रहरीलाई जिम्मा दिने भएको छ ।
राष्ट्र बैंकले २० वर्षदेखि १ हजार र ५ सय दरका भारतीय रुपैयाँको खरिद बिक्रीमा रोक लगाएको हो । भारतले पनि नेपाल र भुटानमा उक्त दरका रुपैयाँको खरिद बिक्री र अन्य कारोबारमा रोक लगाएको छ । प्रतिबन्ध लगाएको मुद्रा खरिद बिक्री नगर्न राष्ट्र बैंकले निजी तथा सरकारी बैंकहरूलाई निर्देशन दिँदादिँदै पनि बर्दियाको राष्ट्रिय वाणिज्य बैंकले गोप्य रूपमा लामो समयदेखि उक्त दरका नोटको कारोबार गर्दै आएको थियो ।
बाणिज्य बैंक बर्दियाका प्रबन्धक अनिलकुमार मल्ल, एकाउन्टेन्ट सुविल राई र खजान्ची प्रेमबहादुर सोडारीको मिलेमतोमा बैंकभित्रैबाट प्रतिबन्धित मुद्राको अवैध कारोबार भएको स्रोतले बतायो । अवैध बैंकिङ कारोबारमा राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख नवराज भट्टसमेत संलग्न रहेको देखिएका छन् ।
'एक वर्षदेखि भारतीय मुद्राको अवैध कारोबार हुँदासमेत क्षेत्रीय प्रमुखले वास्ता नगर्नु संलग्नताको प्रमाण हो,' निरीक्षणपछि राष्ट्र बैंक स्रोतले भन्यो, 'यस्तो हुँदाहुँदै पनि सबै ठीक छ भन्दै रिपोर्ट दिनुले भट्टको संलग्नता पुष्टि गर्छ ।' राष्ट्र बैंकले कारबाही प्रक्रिया थाल्ने निरीक्षण र छानबिनसहितको प्रतिवेदन केन्द्रलाई पठाइसकेको छ । बैंकले भारतीय रुपैयाँको अवैध कारोबार गर्ने वाणिज्य बैंक र कर्मचारीमाथि प्रहरीमार्फत अदालतमा मुद्दा चलाउने भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks