Loving nepal news

Monday, August 9, 2010

आवश्यकताअनुसार मात्र विदेशी सहयोग माग्न सुझाव

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २४ - एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले उच्च प्रशासकहरूले उच्च मनोबलका साथ स्पष्ट भिजन राखी काम गरेमा मुलुकलाई सही दिशा दिन सक्ने धारणा व्यक्त गरेका छन् । एडिबीमा सबभन्दा उच्च पदमा पुगेका नेपाली नागरिक लोहनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा सरकारका सबै सचिवसित आइतबार दिउँसो देशको समग्र विकासका लागि उच्च प्रशासकहरूले निर्वाह गर्न सक्ने भूमिकाबारे अन्तरक्रिया गरेका थिए । उनले अनुभवी, स्पष्ट भिजन र अडान भएका अनुभवी प्रशासकले आआफ्ना मन्त्रालयमा राजनीतिक नेतृत्वलाई सही निर्णय गर्न अभिप्रेरित गर्न सक्ने बताएको जानकारी अन्तरक्रियामा सहभागी एक सचिवले दिए ।

ती सचिवका अनुसार सडक, विद्युत्जस्ता क्षेत्रमा ठुलठुला भौतिक पूर्वाधार निर्माण नगरीकन मुलुकको विकास हुन नसक्ने उल्लेख गर्दै लोहनीले ठुला भौतिक पुर्वाधारको विकासमा लाग्न सुझाव दिए । एडिबी, विश्व बैंकलगायत दातासित ठुला भौतिक पुर्वाधार निर्माणका लागि सहयोग माग्नसमेत उनले आग्रह गरे । सचिवहरूले 'ठुलठुला भौतिक पूर्वाधार निर्माण गर्न आन्तरिक स्रोतले पुग्दैन । दाताले ठुला आयोजनामा सहयोग दिँदैनन्, नेपालजस्ता मुलुकले कसरी ठुला भौतिक पूर्वाधार निर्माण गर्न सक्छन् त भन्ने जिज्ञासामा लोहनीले दाताहरूले लाओसजस्तो सानो मुलुकलाई ठूला जलविद्युत् आयोजनालगायतका भौतिक पूर्वाधार निर्माणमा ठुलो सहयोग गरिरहेका छन् भने नेपाललाई किन गर्दैनन् ?' भन्ने प्रश्न गरेका थिए ।

लोहनीले दाताले भनेका आयोजनामा सहयोग लिने प्रवृत्तिलाई रोकी हाम्रो आवश्यकताअनुसारका आयोजनामा मात्र सहयोग लिन सुझाव दिएका थिए । 'दाताले जस्ता आयोजनामा दिन्छन्, त्यसमा सहयोग लिनुहुन्न । हामीलाई नचाहिने खालका आयोजनामा सहयोग दिन खोजेका हुन् भने चाहिँदैन भन्न सक्नुपर्छ,

हाम्रो आवश्यकताअनुसारका आयोजनामा मात्र सहयोग लिनोस्,' उनको भनाइ थियो ।

लोहनी केही दिनका लागि बिदामा नेपाल आएका हुन् । उनी एडिबीमा फाइनान्स र प्रशासन विभाग हेर्ने उपाध्यक्ष हुन् । लोहनी २५ वर्षदेखि एडिबीमा कार्य गर्दै आएका छन् । उनले नेपालमा स्थानीय विकास मन्त्रालय र सडक विभागमा गरी ५ वर्ष कार्य गरेका थिए ।

उनले सचिवहरूसित एसियाका दक्षिण कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्डजस्ता साना मुलुक तथा चीन र भारतजस्ता ठुला मुलुकले गरिरहेको आर्थिक विकासको अनुभवबाट सिकेर नेपालमा कसरी कार्य गर्न सकिन्छ भन्नेबारे समेत अन्तरक्रिया गरेका थिए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks