Loving nepal news

Saturday, August 21, 2010

भारतसँग चिसिँदो माओवादी सम्बन्ध

गंगा बीसी
काठमाडौ, भाद्र ५ - आफ्नो नेतृत्वमा सरकार बन्न नसक्नुमा भारतको हात रहेको निष्कर्षमा माओवादी पुगेको छ । जति चरणको निर्वाचन भए पनि उसले न आफ्नो नेतृत्वमा सरकार बनिहाल्ने सम्भावना देखेको छ, न त भारतसँग तत्काल सम्बन्ध सुधारिने सम्भावना देखेको छ ।
तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनलगत्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत श्याम शरणको नेपाल भ्रमण माओवादीका लागि टाउको दुखाइको विषय बन्यो । कारण थियो, भ्रमणपछि माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना कम हुनु ।
साउन १७ मा भएको प्रधानमन्त्री निर्वाचनमा मधेसी फोरमका ११ सभासदले 'फ्लोर क्रस' गरेपछि सरकार बन्नेमा आशावादी देखिएको माओवादी शरण आएपछि 'निराश' हुन पुग्यो । किनभने मत दिएका फोरमका सभासद साउन २१ को निर्वाचनमा तटस्थ बसे ।
त्यतिबेला माओवादीको एजेन्डासँग नजिक भएको बताउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसका मुद्दासँगै लडाकु व्यवस्थापनको खाका स्पष्ट गरेमात्र उसलाई समर्थन गर्ने सर्त राख्यो । माओवादी बुझाइमा यो सबै शरण भ्रमणको परिणाम थियो ।
'प्रधानमन्त्री निर्वाचनका बेला भारतीय प्रधानमन्त्रीका विशेषदूत आउनुले भारतको हस्तक्षेप प्रस्ट हुन्छ,' माओवादी सचिव सीपी गजुरेलले कान्तिपुरसँग भने, 'माओवादीको नेतृत्वमा सरकार बन्नबाट रोक्नु शरणको मुख्य उद्देश्य थियो ।' उनले भारतकै प्रभावका कारण एमाले र मधेसवादी दलले निर्णय गर्न नसकेको आरोपसमेत लगाए ।
गजुरेलले राष्ट्रियताको आन्दोलन थाल्ने चेतावनीसमेत दिए, 'भारतको हस्तक्षेप हदै भइसक्यो, अब हामी राष्ट्रियताको आन्दोलन थाल्छांै ।' उपाध्यक्ष मोहन वैद्यले शुक्रबार राजधानीमा राष्ट्रियताको लडाइँ चर्काउनुपर्ने अभिव्यक्ति दिँदै भारतविरुद्ध आन्दोलन थाल्ने संकेत दिएका थिए ।
'हामी जनवाद र गणतन्त्रको लडाइँमात्र लड्दै छैनौं,' वैद्यले भने, 'सारमा राष्ट्रिय स्वाधीनताको लडाइँ पनि लड्दैछौं ।' वैद्यको धारणासँग अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत भएको स्रोतले जनाएको छ ।
शरणको भ्रमणबाट असन्तुष्ट माओवादी आफ्ना केन्द्रीय सदस्य एवं सभासद रामकुमार शर्मालाई भारतीय दूतावासका कन्सुलर सुब्रत दासले दिएको 'धम्की' बाट थप उत्तेजित भएको थियो । त्यसलाई उसले 'संविधानसभा, व्यवस्थापिका/संसद्को अपमान, राष्ट्रिय सार्वभौमिकतामाथि ठाडो चुनौती र नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्ने दुस्साहस' का रूपमा चित्रण गर्‍यो ।
लगत्तै बसेको केन्द्रीय पदाधिकारीको बैठकले भारतीय राजदूत राकेश सूदलाई बोलाएर त्यसबारे सोध्ने निर्णय गर्‍यो ।
माओवादी सभासद पद्मलाल विश्वकर्मा सभापति रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले दासलाई 'अवाञ्छित व्यक्ति' घोषणा गरी स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दियो ।
यद्यपि सभासद रामकुमारी यादवको दिल्लीमा उपचारका लागि माओवादीले भारतीय दूतावाससँगै मानवीय सहयोग माग्यो । मंगलबार दूतावासमा विरोधपत्रसम्म बुझाएकै दिन त्यो कुरा उसले स्मरण गराएको थियो । राजदूत सूदले समय नदिएका कारण वरिष्ठ नेताहरू जाने कार्यक्रम स्थगित गरी कार्यालय सचिवमार्फत त्यहाँ विरोधपत्र बुझाइएको थियो । नेताहरूलाई समय नदिएर दूतावासले पनि सांकेतिक असन्तुष्टि जाहेर गरेको थियो ।
पछिल्ला घटनाक्रमले माओवादी र भारतको सम्बन्ध चिसिँदै गएको देखाउँछ । माओवादीले विरोधपत्र बुझाएपछि दूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवको भनाइ थियो, 'दूतावासका वरिष्ठ कूटनीतिज्ञविरुद्ध विभिन्न सञ्चारमाध्यममा गरिएको गलत र आधारहीन प्रचारले सम्बन्ध सुधार गर्न गाह्रो हुन्छ ।' माओवादीले 'राष्ट्रवादी' हरूसँग संयुक्त मोर्चा बनाएर राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्ने भन्ने निर्णय भारतलाई चित्त बुझेको छैन ।
गत वैशाखमा सरकारबाट हटेपछि बिगि्रएको माओवादी-भारत सम्बन्ध प्रधानमन्त्री निर्वाचनसम्म आइपुग्दा झनै बिथोलिएको छ । यसबीचमा उसले भारतविरुद्ध पशुपतिनगर, सुस्ता, लक्ष्मणपुर, महाकालीलगायत सीमा क्षेत्रमा प्रदर्शन गरिसकेको छ भने देशव्यापी अभियानसमेत चलाइसकेको छ ।
भारतलाई माओवादीले आफ्नो दस्तावेजमा अझै पनि 'विस्तारवादी' कै रूपमा चित्रण गरेको छ । तर भारतलाई हेर्ने दृष्टिकोणमा माओवादीभित्रै तीनखाले धारणा देखिन्छन् । पहिलो, भारतविरुद्ध आन्दोलन छेडेर जानुपर्छ । दोस्रो, भारत र उसको इसारामा चल्ने शक्तिसँग सन्तुलित संघर्ष गरेर जानुपर्छ । तेस्रो, कूटनीतिक आधारमा सम्बन्ध सुधारको बाटोबाट अघि जानुपर्छ । पहिलो उपाध्यक्ष मोहन वैद्य, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र तेस्रो बाबुराम भट्टराईको धारणा हो । 'भारतको हैसियत बढ्दै गएको हुनाले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,' सचिव गजुरेलको भनाइ छ, 'आगामी केन्द्रीय समिति बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।'
उपाध्यक्ष भट्टराई भने 'आन्तरिक जनवादको प्रश्न हल नगरेसम्म आन्तरिक राष्ट्रिय एकता बलियो हुँदैन र त्यो नभएसम्म बाह्य लडाइँ जित्न नसकिने' धारणा राख्छन् । आफ्नो मुद्दा कायम राख्दै भारतसँग सम्बन्ध सुधार राख्न सकिने उनको विश्लेषण छ ।
माओवादी विदेश विभाग सदस्य राम कार्कीले भारतसँग सम्बन्ध सुधार नभएको बताए । 'पहिले जस्तो सम्बन्ध छ, अहिले पनि त्यस्तै छ,' उनले कान्तिपुरसँग भने, 'भारतविरुद्ध उपिmँदैमा समस्या समाधान हुँदैन ।' पार्टीले भारतसँग कस्तो सम्बन्ध राख्ने विषयमा निरन्तरता हुनुपर्ने कार्कीको भनाइ छ । 'कमसेकम कस्तो सम्बन्ध राख्ने भन्नेमा निरन्तरता हुनुपर्छ,' उनले भने, 'नीति छिटोछिटो परिवर्तन गर्नु व्यावहारिक हुँदैन ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks