शिला पाण्डे
काठमाडौ, भाद्र १६ - आगामी पर्यटकीय मौसम अक्टोबर-नोभेम्बर (मध्य असोज- मंसिर) का लागि राजधानीका अधिकांश पाँचतारे होटलमा ९० प्रतिशतभन्दा बढी कोठा ब्लक बुकिङ भएका छन् । यो पछि मार्च-अप्रिलमा बढी पर्यटक आउने गर्छन् ।
यसपालि गत वर्षभन्दा २५ प्रतिशतसम्म पर्यटकको बुकिङ बढेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय विमान कम्पनी थप भएका कारण आउन चाहने पर्यटकले टिकटको लागि लामो समय कुर्न नपर्ने र केही समययता देखिएको शान्तिका कारण पनि बुकिङ उत्साहजनक देखिएको हो । नेपाल पर्यटन वर्ष नजिकिने क्रमसँगै नेपाली पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश प्रवाह भइरहेकाले यसपाला रद्द हुने सम्भावना निकै कम रहेको व्यवसायी बताउँछन् ।
तीन वर्षको अवधिमा यसपालिको बुकिङ 'दिगो' देखिएको होटल संघ नेपालका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले बताए । 'केही न केही अवरोध भइरहन्थ्यो जसले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सूचना पुग्थ्यो,' उनले भने 'यसपालि त्यस्तो छैन ।'
एभरेस्ट, ह्यात र संगि्रला होटलका सबै कोठा आउँदो दुई महिनाका लागि बुक भइसकेका छन् । अन्य होटलका कोठा पनि ९० प्रतिशत बुकिङ भइसकेको छ ।
'यस्तै स्थिति रह्यो भने प्रमख मौसम सुरु हुँदासम्म कोठा छैन भन्ने समय नआउला भन्न सकिन्न,' अन्नपूर्ण होटलका बिक्री व्यवस्थापक राजबहादुर साहले भने, 'त्यो समय नेपाली पर्यटन व्यवसायका लागि निकै महत्त्वपूर्ण रहनेछ ।' अन्नपूर्णमा आगामी मौसमका लागि ८५ प्रतिशत बुकिङ भएको छ । 'तर हामी सत प्रतिशत बुकिङ हुनेमा विश्वस्त छौं,' साहले भने, 'सेप्टेम्बरको पूरै महिना बाँकी भएकाले १५ प्रतिशत बुकिङ यही अवधिमा हुनेछ ।'
नेपाली राजनीतिमा आन्तरिक समस्या अझै रहे पनि त्यसले पर्यटन क्षेत्र र पर्यटकलाई नकारात्मक प्रभाव पारेको छैन । मुख्य गरी बन्द, हडताल, चक्काजाम र विभिन्न समूहबीचको द्वन्द्वले मात्र अन्तर्राष्ट्रिय पर्यटकहरू आउन चाहँदैनन् । तर दशक लामो द्वन्द्वको समयमा पनि पर्यटक कहिल्यै पनि निसानामा परेका थि्नन् ।
यस्ता कुनै अवरोधमूलक गतिविधि नभएकाले सोचेभन्दा राम्रो बुकिङ आएको याक एन्ड यतीका बजार तथा बिक्री निर्देशक भरत जोशीले बताए । 'अक्टोबरका लागि ९५ प्रतिशत बुकिङ भइसकेको छ,' उनले भने, 'अझै समय बाँकी भएकाले यो प्रतिशत अझै बढ्नेछ । अहिलेको बुकिङ गत वर्षको यही अवधिको तुलनामा २५ प्रतिशत बढी हो ।' याक एन्ड यतीले पर्यटन वर्षका लागि कुनै प्याकेज नल्याए पनि अहिलेदेखि नै सेवाको स्तर वृद्धि र होटललाई नयाँ रूप दिएको छ ।
यसअघिका वर्षमा बुकिङ रद्द ३० प्रतिशतसम्म हुने गरेकामा यसपालि त्यस्तो नदेखिएकाले पनि व्यवसायी उत्साही देखिएका छन् ।
गत वर्ष राजनीतिक दलहरूको हिसंात्मक गतिविधि र बन्द, हडतालको संख्या बढी भएकाले बुकिङ रद्द उच्च भएको होटल एभरेस्टका बजार तथा बिक्री निर्देशक आमिर प्रधानांगले बताए । 'देशको अवस्था प्रत्यक्ष रूपमा बिग्रनु र अन्य गन्तव्यले ँयहाँको भन्दा राम्रो र सस्तो सेवा दिँदा रद्द बढी हुन्छ,' उनले भने, 'तर अहिले यी दुवै नभएकाले बुकिङ राम्रो छ ।'
मौसमका दुई महिनाकै लागि एभरेस्टको बुकिङ सत प्रतिशत रहेको उनले जानकारी दिए । 'यसका केही दिन ओभरबुक्ड छन्,' उनले भने, 'त्यतिबेला ग्राहकलाई कसरी सेवा प्रदान गर्ने ? यसबारे सोच्दै छौं ।'
एभरेस्टजस्तै होटल सांगि्रलाको बुकिङ पनि सत प्रतिशत छ । 'रद्द हुने सम्भावना निकै कम छ,' होटलका बजार तथा बिक्री विभागका वरिष्ठ व्यवस्थापक मोहन खनालले भने । बुकिङ आउने क्रम हेर्दा धेरै दिन 'ओभरबुक्ड' हुने अवस्था रहेको उनले बताए । 'तोकिएको दिनका लागि आउनेले रद्द नगरे उनीहरूलाई अन्य होटलमा पठाउने व्यवस्था गरिनेछ,' खनालले भने, 'यही महिना पनि ३/४ दिन सांगि्रला ओभरबुक्ड थियो ।'
गत वर्ष यही मौसमका लागि सांगि्रलाले ९६ प्रतिशतमा बुकिङ बन्द गरेको थियो ।
पर्यटकले बुकिङ रद्द गर्न होटल जुन दिनका लागि लिइएको हो, त्यसको एक महिना अगाडि नै जानकारी दिनुपर्छ । तर अकस्मात हुने अवरोधका कारण बुकिङ रद्द गर्नुपरेमा १५ देखि ७ दिन अगाडि खबर
गर्नुपर्छ । अर्को पाँचतारे होटल र्याडिसनको बुकिङ ९० प्रतिशतभन्दा बढी छ । होटलका बजार तथा बिक्री निर्देशक रञ्जुमान प्रधानका अनुसार यसपालि पदयात्रा र राजधानी घुम्न आउने पर्यटकका साथै आवासीय सम्मेलनका लागि बढी बुकिङ भएको छ । 'गत वर्ष यो मौसमका लागि ८८ प्रतिशतको हाराहारीमा अकुपेन्सी थियो,' उनले भने ।
होटल ह्यात रिजेन्सीको बुकिङ भने तटस्थ रहेको छ । गत वर्ष पनि सत प्रतिशत बुकिङ रहेको ह्यातमा यसपालि पनि सत प्रतिशत बुकिङ रहेको होटल संघ नेपाल (हान) का कार्यकारी अधिकृत माधवओम श्रेष्ठले बताए । 'नेपालको सबैभन्दा ठूलो होटलका रूपमा रहेको र गुणस्तरका हिसाबले पनि उत्कृष्ट भएकाले बढी खर्च गर्ने पर्यटकको पहिलो रोजाइमा पर्छ,' उनले भने, 'त्यसमाथि मौसम नै बढी पर्यटक आउने भएकाले बुकिङ थोरै हुने सम्भावना रहन्न ।' श्रेष्ठका अनुसार यसपालि बुकिङ रद्द हुने सम्भावना पनि छैन । 'मौसम सुरु हँदाूसम्म यस्तै अवस्था भयो भने जतिले बुकिङ गरेका छन्, सबै आउँछन्,' उनले भने ।
होटलहरूका अनुसार यो मौसमका लागि बुकिङ गर्नेमा भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया, जापान र युरोपका पर्यटक बढी छन् । होटल सोल्टी क्राउन प्लाजाको बुकिङ पनि २० प्रतिशतले बढेको सहायक बजार व्यवस्थापक सोनी चौधरीले बताइन् । बुकिङ गर्नेमा मुख्य भारतीय र चिनियाँ पर्यटक बढी छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks