काठमाडौं, श्रावण २६ - पूर्व भारतीय राजदूत केभी राजन बुधबार अपरान्ह काठमाडौं आइपुगेका छन् । उनी इण्डियन एयरलाइन्सको विमानबाट पौने ४ बजे त्रिभूवन विमानस्थलमा उत्रिएका हुन् ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत बनेर नेपाल आएका पूर्व राजदूत श्यामशरण फर्किएको एक सातापछि राजन नेपाल आएका हुन् । प्रधानमन्त्री चयनमा सहमति नहुँदा चार चरणको निर्वाचन व्यर्थै भइरहेका बेला राजनको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
पूर्व भारतीय राजदूत राजन र्याडिसन होटलमा बस्ने छन् । उनले प्रमुख दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । पूर्व राजदूत राजन नेपाल मामिलामा जानकार मानिने भारतीय कुटनीतिज्ञ मध्येका एक हुन् । नेपालमा राजनीतिक उतारचढाव भएका बेला उनी काठमाडौं आउने गरेका छन् ।
उनी जेठ अन्तिम सातामा पनि अनौपचारिक भ्रमणमा आएका थिए । माओवादीले माधवकुमार नेपाल सरकारविरोधी आन्दोलन चर्काइरहेका बेला आएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालललाई भेटेका थिए । राजनलाई भेट्न दाहाल ककनीको पार्टी प्रशिक्षणमा सहभागी नभई काठमाडौं फर्किएका थिए ।
यसैबीच बिदा मनाउन थाइल्याण्डको बैंकक गएका भारतीय राजदूत राकेश सूद पनि बुधबार नै काठमाडौं आइपुगेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks