काठमाडौ, भाद्र १४ - महाधिवेशन नजिदिँदै गर्दा कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको बढ्दो सहभागिताको यतिखेर निकै चर्चा चलेको छ ।
महाधिवेशनमा युवावर्गको यो अधिकतम सहभागितालाई सो पार्टीभित्र यतिखेर 'नयाँ अनुहार, नयाँ सन्देश'को नाराका रुपमा छलफलमा ल्याइएको छ । आसन्न १२ औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन सदस्यहरुमा युवा जोश र जाँगरका नयाँ अनुहारको प्रवेशले पाका व्यक्तिहरुको बुढो पार्टीका रुपमा परिचित काँग्रेस आउने दिनमा 'न्यू फेसज, न्यू मेसेज' का साथ नयाँ सोच र कार्यक्रम लिएर अघि बढ्ने आशा पलाएको छ ।
कांग्रेसको आगामी महाधिवेशनमा महाधिवेशन सदस्यका रुपमा आएका प्रतिनिधिमध्ये ४० वर्षमुनिका युवाहरु मात्र ३० प्रतिशतभन्दा बढी छानिएका छन् । काँग्रेसमा हाल तीन लाख १७ हजार सक्रिय सदस्य छन् । 'कांग्रेसको छ दशक पुरानो इतिहासमा यो ऐतिहासिक र अत्यन्त सह्राहनीय काम भएको छ'- काँग्रेसमा नयाँ विचारको नेतृत्व गर्ने नेता नरहरि आचार्यको भनाइ छ ।
यीमध्ये एक लाख ८० हजार नयाँ कार्यकर्ताले सक्रिय सदस्यता पाएका छन् । यो महाधिवेशन अगाडि वितरण गरिएका यी पछिल्ला सक्रिय सदस्यमध्ये करिब ४० प्रतिशत युवा नै छन् । यो सङ्ख्याले अहिले तत्कालको महाधिवेशनभन्दा पनि आगामी दिनको कांग्रेसको नेतृत्वमा युवा वर्गको बाहुल्यता रहने बाटोलाई रामै्रसँग फराकिलो बनाई दिएको छ ।
यसपटकको काँग्रेसको महाधिवेशन तीन हजार ८८ जना केन्द्रीय प्रतिनिधिका रुपमा महाधिवेशनमा आउने भएका छन्, यद्यपि कतिपय जिल्लामा भने प्रतिनिधिहरु छानिनै बाँकी छन् । यसरी हेर्दा कांग्रेसको इतिहासमा यसपटक सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि आउँदैछन् ।
सअघिको एघारौँ महाधिवेशनमा भने युवावर्गको नगन्य प्रतिनिधित्व रहेको थियो । सो महाधिवेशनमा एक हजार ४०० मात्र प्रतिनिधि रहेकामा जम्मा दस प्रतिशतमात्र युवावर्गको प्रतिनिधित्व रहेको थियो । नेपाली काँग्रेसको तथ्याङ्कअनुसार गत महाधिवेशनमा करिब डेढ सयको हाराहारीमा मात्र युवावर्ग महाधिवेशन प्रतिनिधि तथा जिल्ला नेतृत्वमा थिए ।
'हुन त अहिले पनि सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरुको पुस्ताले नै नेतृत्व गर्ने हो । तर यिनै नेताहरुलाई पनि समयसापेक्ष र मुलुकले खोजेको आधुनिक सही दिशातर्फ उन्मुख गराउन केन्द्रीय समितिमा धेरै युवाहरुको सहभागिता आवश्यक छ' युवा नेता एवम् सभासद् गगन थापाले भने ।
असोजको पहिलो साता राजधानीमा कांग्रेस महाधिवेशन हुँदैछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks