Loving nepal news

Saturday, August 21, 2010

ढिक्का सुन नपाइने

काठमाडौ, भाद्र ५ - ढिक्का सुन किनेर राख्ने सोच बनाउनुभएको छ भने अव तपाईले त्यो नपाउनुहुने भएको छ । बैंकहरूले आयात गरेको सुन सानो परिमाण खुद्रा व्यवसायीलाई दिनुपर्ने र र त्यो सुन गहना बनाएर मात्र बेच्ने प्रावधान राष्ट्र बैंकले गरेपछि यस्तो भएको हो ।
यसअघि बैंकहरूले ल्याएको सुन सुनचाँदी व्यवसायी संघको सिफारिसमा थोक व्यवसायीले लगेको सुन वास्तविक व्यवसायीमा नपुगेको भन्दै बैंकले सुनचाँदी आयात तथा बिक्रीबारे नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार खुद्रा व्यवसायीले बैंकबाट बढीमा १ किलो सुन पाउनेछन् । 'संघले एक व्यवसायीलाई बढीमा १ किलो सुन र ५ किलो चाँदी सिफारिस गर्नुपर्नेछ,' नयाँ व्यवस्थामा छ ।
अहिले आयात हुने दैनिक १० किलो सुन र १ सय किलो चाँदी क्षेत्रगत रूपमा वितरण गर्न बिक्रीको कोटा पनि तोकिएको छ । जसअनुसार दैनिक आयात हुनेमध्ये ६ किलो (६० प्रतिशत) वाग्मती र ४० प्रतिशत अन्य १३ अञ्चलमा बेच्नुपर्नेछ । यसअघि व्यवसायी सिफारिस गर्ने जिम्मा सुनचाँदी व्यवसायी संघले मात्र पाएकामा अब वाग्मती अञ्चलका लागि अन्य दुई संघले पनि सिफारिसको जिम्मा पाएका छन् । आयात भएको सुनचाँदीमध्ये ५० प्रतिशत सुनचाँदी व्यवसायी संघ र २५/२५ प्रतिशत नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघको सिफारिसमा बैंकले दिनुपर्छ । वाग्मतीबाहेकका अञ्चलमा भने सुनचाँदी व्यवसायी संघले मात्र सिफारिस गर्नेछ ।
धेरै व्यवसायीले प्यानमा दर्ता नभई कारोबार गरिरहेको अवस्थामा केन्द्रीय बैंकले संघहरूले प्यानमा दर्ता भई गरगहना, आभूषण, कलात्मक वस्तुलगायत समान बनाउने व्यवसायीलाई मात्र सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । खरिदका लागि आवेदन दिने व्यवसायीलाई सिफारिस नगरी पछि आउने व्यवसायीलाई सिफारिस गर्न नपाइने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थामा सुनचाँदी लिने व्यवसायीले त्यसबाट गरगहना, आभूषण, कलात्मक वस्तु तयार गरी बिक्री गरेको परिमाणको बिल अर्को पटक सिफारिस लिँदा बुझाउनुपर्ने व्यवस्था गरेको छ । सुनचाँदी खरिद गरेको विवरण नबुझाउने र बुझाए पनि कम बिक्री गरेको देखिए त्यसपछि सिफारिस नगर्न बैंकले संघहरूलाई भनेको छ । 'किनेको गहना बिक्री वितरणको विवरण नबुझाउने र लिएको परिणामको ७५ प्रतिशतभन्दा कम बेच्नेलाई सिफारिस गर्न पाइने छैन,' निर्देशिकामा भनिएको छ । व्यवसायीले सुन किनेको र बेचेको मूल्यको अभिलेख पनि तयार गर्नुपर्छ ।
यसअघि बैंकबाट सुन किन्न व्यवसायीको नाम सिफारिस गर्ने जिम्मा पाएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले राष्ट्र बैंकको नयाँ व्यवस्था अदूरदर्शी, अपरिपक्व र अव्यावहारिक भएको बताए । 'संघले ५० प्रतिशत मात्र सुन सिफारिस गर्न पाउने व्यवस्था पछि धेरैले सुन नपाउने भएका छन्,' उनले थपे, 'जम्मा २/३ सय सदस्य भएका अन्य दुई संघलाई आधा र २ हजार ५ सयभन्दा बढी सदस्य भएको हामीलाई आधा सुनचाँदीको सिफारिस गर्न दिनु कत्तिको व्यावहारिक हो ?' उनले आफ्नो संघअन्तर्गत वाग्मती अञ्चलमा मात्र १ हजार सदस्य भएको बताए ।
समावेशी र समानुपातिक नभएको नयाँ व्यवस्थाले ग्राहकको सुनमा लगानी गर्ने अधिकार हनन मात्र नगरेर थोक व्यवसायीको पेसा खोसेको उनले बताए । यसले मुलुकमा रहेका करिब २४ थोक सुनचाँदी पसल बन्द भएको उनको भनाइ छ । 'सुन बिक्री गरेर भाउसमेत बुझाउनुपर्ने व्यवस्था गरेको छ,' उनले भने, 'जनताले किन्न नपाउने र व्यवसायीले बेच्न नपाउने व्यवस्था लोकतन्त्र हो कि तानाशाहीतन्त्र हो ।'
तर केन्द्रीय बैंकले ठूलो परिमाणमा सुन किन्ने र आफूखुसी मूल्य तोकेर उपभोक्तामाथि भइरहेको ठगी रोक्ने प्रयास गरेको जनाएको छ । सरकारले अहिलेसम्म कसैलाई पनि मूल्य तोक्ने अधिकार नदिएको पनि राष्ट्र बैंकका एक अधिकारीले बताए । 'अब प्रतिस्पर्धाले सुन पाउने अरू संस्थाले पनि बेग्लै मूल्य तोक्न सक्ने र त्यसबाट प्रतिस्पर्धा भई उपभोक्ता लाभान्वित हुने आशा गरिएको छ,' उनले भने । नेपाल सुनचाँदी कला व्यवसायी संघले सबै व्यवसायीले सुन नपाएको अवस्थामा राष्ट्र बैंकको नयाँ व्यवस्था स्वागतयोग्य भएको बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks