Loving nepal news

Tuesday, August 17, 2010

राजाको फोटो भएका नोट एक वर्षपछि नचल्ने

गोकर्ण अवस्थी

काठमाडौ, भाद्र २ - राजाको फोटो भएका र अन्य झुत्रा नोट सञ्चय गरिराख्नुभएको छ भने यसै वर्ष साट्नुहोला । अन्यथा राष्ट्र बैंकले सुरु गरेको सफा नोट नीतिअन्तर्गत २०६८ सालदेखि त्यस्ता नोट बजारमा चल्ने छैनन् । सफा नोट नीतिअन्तर्गत २०६७ भित्र यस्ता नोट बैंकमा बुझाई नयाँ नोट लिइसक्नुपर्नेछ ।

अहिले सजिलै साट्न पाइए पनि कारणबस यस्ता नोट आफूसँग बाँकी रहे अर्को वर्षदेखि साट्नका लागि राष्ट्र बैंक वा उसले तोकेको निश्चित ठाउँमै पुग्नुपर्नेछ । 'अर्को वर्षदेखि बैंक वित्तीय संस्थाले यस्ता नोट स्विकार्ने छैनन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'केन्द्रीय बैंकले तोकिदिएको स्थानमा मात्र यस्ता नोट चल्नेछन् ।'

गणतन्त्र स्थापना भएदेखि नै राजाको फोटो अंकित नोट हटाउने तयारी भइरहे पनि कार्यान्वयन हुन सकेको थिएन । तत्काल सम्भव नभएपछि त्यति बेलै ३ वर्षभित्र यस्ता नोट खिच्ने निर्णय सरकारले गरेको थियो । गत वर्ष नै केन्द्रीय बैंकले अधिकांश नोट खिच्ने प्रयास गरे पनि दसैंका बेला अभाव भएपछि पुनः तिनै नोट बजारमा पठाएको थियो ।

यस वर्ष मौदि्रक नीतिले अवलम्बन गरेको सफा नोट नीतिअन्तर्गत यस्ता नोटलाई यसै वर्षभित्र तान्ने कामलाई राष्ट्र बैंकले तीव्रता दिएको छ । निश्चित समयपछि नोटको अंकित मूल्यको निश्चित प्रतिशत मात्रै भुक्तानी गर्नेतर्फ पनि केन्द्रीय बैंकमा छलफल भइरहेको सम्बद्ध स्रोत बताउँछ ।

नीति कार्यान्वयनको पहिलो चरणमा भदौदेखि एकभन्दा बढी स्टिच भएका नोटको बन्डल केन्द्रीय बैंकले अस्वीकार गर्ने भएको छ । 'भदौ ३१ गतेदेखि एकभन्दा बढी स्टिच भएका नोटका प्याकेट राष्ट्र बैंकका कुनै पनि कार्यालयले नबुभmने व्यवस्था अनिवार्य रूपमा लागू गरिनेछ,' केन्द्रीय बैंकका प्रवक्ता गोपाल काफ्लेले भने । यसबारे राष्ट्र बैंकले सार्वजनिक सूचना पनि जारी गरिसकेको छ । यसकारण बैंक तथा वित्तीय संस्थाले नोटको बन्डलमा एक पटक मात्रै स्टिच गर्नुपर्नेछ ।

कापmलेले नोटमा लेख्ने, कोचेर राख्ने बानी निरुत्साहित गर्न थप जनचेतना जगाउने कार्यक्रम ल्याइने बताए । 'सफा नोट चलन चल्तीमा ल्याउने प्रयासस्वरूपमा स्टिच निरुत्साहित गरिएको हो,' उनले भने ।

नोटको सुरक्षालाई राष्ट्र बैंक ऐनले पनि प्राथमिकता दिएको छ । 'एक पटक मात्रै स्टिच गर्नुपर्ने व्यवस्थाले काममा खासै बाधा पर्दैन,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने । अहिले १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरका नोट बजारमा चलनचल्तीमा छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks