नयाँ दिल्ली, भाद्र १४ - नेपालसँगको सीमानामा नेपाली एफएम रेडियोहरु सुनिएकोप्रति असन्तुष्ट बनेको भारतले अब आफै सीमानामा एफएम रेडियो खोलेर नेपाली रेडियो तरङ्गलाई चुनौती दिने भएको छ । नेपालसँगको सीमानाका तीन विहारी जिल्लाहरु बेतिया, मोतिहारी र मधुवनीमा शक्तिशाली प्रसारण क्षमताका एफएम स्टेशनहरु खोल्ने प्रस्तावलाई भारत सरकारले गत साता स्विकृत गरेको दिल्लीबाट निस्कने दैनिक हिन्दुस्तान टाइम्सले सोमबार उल्लेख गरेको छ ।
'सीमाक्षेत्रमा नेपाली च्यानलहरुको लोकपि्रयतालाई चुनौतीदिन सरकारले विहारको भारत-नेपाल सीमानामा चाडै एफएम रेडियो सेवा थाल्ने भएको छ,' पत्रिकाले 'सीमा युद्ध/सरकारले नेपाली, पाकिस्तानी टीभी र रेडियोलाई चुनौती दिने' शीर्षकको पहिलो पृष्ठको समाचारमा उल्लेख गरेको छ । विहारका उल्लेखित जिल्लाहरुमा 'नेपाली एफएम रेडियो निकै लोकपि्रय भएको' पत्रिकाले लेखेको छ ।हालैमात्र भारतले आफू नियन्त्रित कास्मिरस्थित तनावग्रस्त पाकिस्तानी सीमा क्षेत्रमा सञ्चालित रेडियो र टीभीको प्रसारण क्षमता बढाउने निर्णय गरेको थियो । त्यसका लागि भारतीय सूचना तथा प्रसारण मन्त्रालयले एक अर्ब भारु छुट्ट्याएको टाइम्सले उल्लेख गरेको छ । सीमाबाहिरबाट भित्रिने प्रसारण संकेतहरुभन्दा बलिया संकेतहरु भारतबाट बाहिर पठाउनुपर्ने आवश्यकता भारतीय मन्त्रालयले औल्याएको छ । 'हाम्रा प्रसारण संकेतहरु बलिया भएको हामीले सुनिश्चित गर्नु पर्छ,' मन्त्रालयका एक बेनामी अधिकारीले टाइम्ससँग भनेका छन्- 'र ती संकेतहरु सीमानाको अर्कापट्टीबाट आउने कुनै पनि संकेतभन्दा बलियो हुनुपर्छ ।'
भारतीय सुरक्षा एजेन्सीहरुले नेपाली एफएम रेडियोहरु माओवादी र पाकिस्तानी विद्रोहीहरुले समेत प्रयोग गर्न सक्ने भनि दुई दुई पटक सरकारलाई सचेत पारेको पनि पत्रिकाले उल्लेख गरेको छ ।
नेपालसँगको सीमा क्षेत्रमा भारतीय रेडियो नहुदा त्यहाँका आफ्ना जनताले भारतीय रेडियो सुन्न नपाएको तर नेपाली रेडियो सजिलै सुन्न पाएको मन्त्रालयका अधिकारीले गुनासो गरेका छन् । 'त्यहाँका जनता भारतीय रेडियो सुन्न सक्दैनन् तर नेपाली रेडियो सजिलै टिप्छ,' ती बेनामी अधिकारीले टाइम्ससँग भनेका छन् ।
भारतमा सरकारले नीजि क्षेत्रलाई समाचार भन्ने अधिकार सहित रेडियो सञ्चालन गर्ने अनुमति दिएको छैन । नेपालको तुलनामा यहाँ निकै कम एफएम स्टेशन सञ्चालनमा छन् र सरकारी अल इन्डिया रेडियोको एफएमले बाहेक अन्यले समाचार भन्न पाउँदैनन् ।
भारतीय सञ्चार माध्यमको नेपालमा तुलानै गर्न नमिल्ने प्रभाव र पहुँच छ । नयाँ दिल्लीबाट निस्कने लगभग सबै पत्रिकाहरु काठमाडौंमा त्यही दिन पुग्छन् भने नेपाली पत्रिकाहरु दिल्ली या भारतका कुनै पनि ठुला शहरमा देख्न पाइदैन । त्यस्तै यहाँका ठूला शहरका केबुलमा नेपाली टीभी च्यानलहरु पनि उपलब्ध छैनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks