कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र ९ - दूधजन्य उत्पादनको माग बढेका बेला उत्पादन नबढेकाले उद्योगहरूमा दूधको अभाव भएको छ । तीन वर्षअघिसम्म 'मिल्क होलिडे' भइरहेको मुलुकमा अहिले दैनिक ३ लाख ५० हजार लिटर दूधको कमी छ ।
पचासको दशकभरि किसानले मिल्क होलिडेको मार सहनुपरेको थियो । 'मिल्क होलिडेको अन्त्य गर्न आर्थिक वर्ष २०६३/६४ को बजेटमा सर्लाहीमा धूलो दूध उद्योग स्थापना गर्न बजेट छुट्याएको थियो,' केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष माधव कोइराला भन्छन्, 'उक्त वर्षदेखि बजारमा दूधको अभाव देखिएकाले उद्योग स्थापना गर्ने योजना रद्द भयो ।'
निजी क्षेत्रले धूलो उत्पादन सुरु गर्नासाथ मुलुकमा दूधको अभाव भएको सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठ बताउँछन् । सुजलले तीन वर्षअघि दैनिक ८० हजार लिटर दूध खपत गर्ने क्षमताको इकाई सञ्चालन गर्नासाथ मिल्क होलिडेबाट मुलुक दूध अभावको अवस्थामा पुगेको उनी बताउँछन् । दैनिक १ लाख लिटर दूध आवश्यक पर्ने उनको उद्योगले ४० हजार लिटर मात्र पाइरहेको छ ।
दुग्ध विकास संस्थान र निजी क्षेत्रको साझेदारीमा स्थापित चितवन डेरी सञ्चालनमा आएपछि दूधको अभाव फराकिलो भएको छ । संस्थानका महाप्रबन्धक अजबलाल यादवका अनुसार दैनिक १ लाख लिटर दूध खपत गर्न सक्ने डेरीले अहिले २० देखि २२ हजार लिटर दूध पाइरहेको छ । दूधको उत्पादन सबैभन्दा बढी हुने मंसिरदेखि माघको समयमा पनि पर्याप्त दूध पाउने सम्भावना छैन । भदौदेखि फागुनको अवधिमा दूधको उत्पादन वृद्धि हुने गर्छ ।
दूध उद्योग सम्बद्धहरू मुलुकमा अहिलेसम्म दूधको माग र आपूर्तिको बारेमा भरपर्दो तथ्यांक उपलब्ध नभएका कारण निजी क्षेत्र फसेको बताउँछन् । 'मिल्क होलिडे भनेर निजी क्षेत्रले ठूलो लगानी गर्यो,' डेरी उद्योग संघका अध्यक्ष विश्वराम खड्का भन्छन्, 'उद्योग चलाउने बेलामा भने दूध पाएका छैनन् ।'
दैनिक ३ लाख ७५ हजार लिटर दूध अपुग भएको सरकारले जनाएको छ । उनका अनुसार मुलुकमा संगठित क्षेत्र (डेरी उद्योग) लाई दैनिक ३ लाख लिटरजति दूधको कमी छ । दैनिक ५ लाख ५० हजार लिटर जति दूध संगठित क्षेत्रमा आपूर्ति भइरहेको छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष रामकुमार खड्काका अनुसार मुलुकमा अहिले घरेलुसमेत गरी ४ सयभन्दा बढी डेरी सञ्चालनमा छन् । काठमाडौं उपत्यकामा दैनिक ४ लाख लिटर दूध खपत हुने गरेको छ । दैनिक १ लाख ५० हजार लिटर दूध बिक्री गर्ने संस्थानले ८० देखि ८५ हजार लिटर दूध पाउने गरेको छ । अपुग दूध धूलो दूध घोलेर पूरा गर्ने गरिएको छ । यादवका अनुसार संस्थानले भारतको पटना डेरी परियोजनासँग दैनिक ३० देखि ५० हजार लिटर दूध खरिद गर्ने सम्झौता हालै गरेको छ ।
अध्यक्ष कोइराला एक दशकभन्दा बढी समय रहेको मिल्क होलिडेले दूधको उत्पादनमा नकारात्मक असर परेको बताउँछन् । 'ऋण लिएर व्यावसायिक दूध उत्पादनमा लागेका किसान बिक्री नभएर पछि हट्न बाध्य भए,' उनले भने । पछिल्लो समय युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने प्रवृत्ति वृद्धि भएकाले दूधको उत्पादन घटिरहेको उनको भनाइ छ । दूधको उत्पादन वृद्धि गर्न अब मिल्क होलिडे नहुने विश्वास किसानहरूमा दिलाउन सक्नुपर्ने कोइराला बताउँछन् ।
सुलभ कर्जा, पशु बिमाका साथै किसानलाई उन्नत नश्लका पशु उपलब्ध गराउन अभियान सुरु गर्नुपर्ने उनी बताउँछन् । 'पशुपालनलाई निर्वाहमुखी पेसाबाट व्यावसायिक पेसा बनाउनु सबैभन्दा चुनौती छ ।'
गत वर्ष संस्थानसँग १५ लाख लिटर कच्चा दूध खरिद गरेको पटना डेरीले यो वर्ष संस्थानलाई दैनिक ५० हजार लिटर दूध बिक्री गर्न थालेको छ ।
बाढी पीडितलाई राहतका रूपमा उन्न्त नश्लका पशु वितरण गरेकाले बिहारमा अधिक उत्पादन भएको बताउँदै महाप्रबन्धक यादव यहाँ पनि उन्नत नश्लका पशु वितरण गर्न सके चाँडै अभाव पूर्ति हुने बताउँछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks