Loving nepal news

Monday, August 30, 2010

कांग्रेस महाधिवेशनमा पौडेल तटस्थ मनस्थितिमा

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १५ - कांग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेल पार्टीको १२ औं महाधिवेशनमा कुनै पक्षमा नलागी तटस्थ बस्ने मनस्थितिमा पुगेका छन् ।

संसदीय दलको निर्वाचनपछि कार्यवाहक सभापति सुशील कोइरालानजिक पुगेका पौडेल महाधिवेशनको पूर्वसन्ध्यामा मध्यमार्गी धारमा देखिएका हुन् । सभापतिका लागि पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र कोइरालाबीच गुटबन्दी बढ्दै गएकाले पौडेललाई मध्यमार्गी भूमिकामा रहन पार्टीभित्रकै एउटा समूहले सुझाव दिएको थियो । विगतमा देउवानजिकका प्रदिप गिरी, पूर्णबहादुर खड्का, नारायण खड्का, दीपकुमार उपाध्याय, बलबहादुर केसी, खुमबहादुर खड्कालगायतले उनलाई मध्यमार्गी भूमिकामा रहन आग्रह गरेका थिए । पौडेलले मध्यमार्गी धार समाते आफूहरूसमेत त्यसैमा रहने उनीहरूको तर्क छ ।

पार्टी कोइराला र देउवा गुटमा विभाजित भएकाले संगठनमा थप क्षति हुन नदिन पौडेललाई कुनै पनि पक्षमा नखुल्न सुझाव दिएको केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले बताए । पौडेलले यसबारे अहिल्यै प्रतिक्रिया नदिने जनाए । निकटका एक नेताका अनुसार प्रधानमन्त्रीको उम्मेदवारसमेत रहेकाले कुनै पक्षमा नखुलेका हुन् । 'उहाँ देउवाको प्रस्ताव र महामन्त्री कुलबहादुर गुरुङको समर्थनमा उम्मेदवार बन्नुभएको हो,' ती नेताले भने, 'नैतिक रूपमा पनि उहाँ बीचमा बस्नुपर्ने बाध्यता छ ।' पौडेलको भूमिकाले देउवालाई अप्रत्यक्ष सहयोग पुग्ने देखिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks