Loving nepal news

Monday, August 2, 2010

दूरसञ्चार कम्पनीबीच मूल्यमा तीव्र प्रतिस्पर्धा

योगेश खतिवडा

काठमाडौ, श्रावण १८ - मुलुकका प्रमुख दूरसञ्चार कम्पनीहरूबीच 'मूल्य युद्ध' सुरु भएको छ । सबैभन्दा ठूलो र पुरानो नेपाल टेलिकम र निजी क्षेत्रको अग्रणी स्पाइस नेपाल (एनसेल) बीच मोवाइल शुल्क कटौतिमा प्रतिस्पर्धा देखिएको छ । अन्तर्राष्ट्रिय फोन शुल्कको प्रतिस्पर्धामा यी दुई कम्पनीसँगै युनाइटेड टेलिकम (युटिएल) पनि अगाडि आएको छ ।

एनसेलले पि्रपेड मोबाइलबाट मुलुकभर कुनै पनि कम्पनीमा फोन गर्दा लाग्ने शुल्क १ रुपैयाँ ९९ पैसा निर्धारण गरेपछि टेलिकमले शुल्क घटाउने गृहकार्य सुरु गरेको सम्बद्ध अधिकारीले बताए । एनसेलले ल्याएका योजनाले टेलिकमलाई मूल्य प्रतिस्पर्धा आउन दबाब दिएको हो ।

यसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउने भएका छन् । केही वर्षअघिसम्म मोबाइल उठाउँदा पैसा बुझाउने गरेका उपभोक्ताले अहिले एक मिनेट फोन गर्दा १ रुपैयाँभन्दा कम तिर्नुपर्ने अवस्था आएको छ । 'प्रतिस्पर्धी कम्पनीले मूल्य घटाएको अवस्थामा हामीले पनि मूल्य कटौतीका लागि गृहकार्य सुरु गरेका छौं,' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, 'प्रतिस्पर्धात्मक बजारमा यो आवश्यक छ ।' शुल्क कटौतीका लागि टेलिकमले जिएसएम पि्रपेड मोबाइललाई लक्षित गरेर कम्पनीले गृहकार्य सुरु गरेको छ ।

जिएसएम पोस्टपोड र सिडिएमए मोबाइलको शुल्क एनसेलको भन्दा कम रहेको अवस्थामा कम्पनीले जिएसएम पि्रपेडको शुल्क कटौतीलाई प्राथमिकता दिएको हो । 'हाम्रा सबैभन्दा धेरै उपभोक्ता जिएसएम पि्रपेड मोबाइलका छन्,' थिकेले भने, 'यसको शुल्क पोस्टपेड र सिडिएमए मोबाइलको भन्दा बढी भएकाले पनि प्राथमिकतामा रहेको हो ।'

टेलिकमले एनसेलले जस्तो सबैतिर फोन गर्दा एउटै शुल्क निर्धारण गर्ने सम्भावना कम रहेको जनाएको छ । कम्पनीले भिन्दै योजनाले उपभोक्तालाई सेवा दिने योजना बनाएको छ । एनसेलले भने आफू मूल्य युद्धमा आउन नखोजेको जनाएको छ । 'हामी सधैं सस्तो मूल्यमा उपभोक्तालाई गुणस्तरीय सेवा दिने योजनामा हुन्छौं,' एनसेलका प्रमुख व्यापार अधिकृत मन्सुर कामिदोभले भन, 'तर हामी मूल्य युद्धमा आएका छैनौं ।'

अन्तर्राष्ट्रिय फोन शुल्कमा भने युटिएलसहितको प्रतिस्पर्धा छ । युटिएलले सुरुमा भारतमा फोन गर्दा ३ रुपैयाँ लाग्ने व्यवस्था गरेको

थियो । त्यसपछि नेपाल टेलिकम र एनसेलले विभिन्न मुलुकमा फोन गर्दा लाग्ने शुल्कमा उच्च कटौती गरेका थिए । एनसेलले पोस्टपेड र पि्रपेड मोबाइलमा फोन गर्दा १० मुलुकमा ६ रुपैयाँ मात्र शुल्क लाग्ने व्यवस्था गरेको छ । यी मुलुकमा अमेरिका, भारत, क्यानडा, चीन, हङकङ, मलेसिया, बहराइन, साउदी अरव, दक्षिण कोरिया र थाइल्यान्ड छन् । टेलिकमले १४२४ डायल गरेर गर्ने अन्तर्राष्ट्रिय शुल्क कटौती गरी एनसेलको भन्दा कम निर्धारण

गर्‍यो । उसले क्यानडा, चीन, हङकङ, भारत, सिंंगापुर, थाइल्यान्ड र अमेरिकामा फोन गर्दा लाग्ने शुल्क ४ रुपैयाँ निर्धारण गरेको छ । मलेसिया, दक्षिण कोरिया र मकाउमा प्रतिमिनेट शुल्क ६ रुपैयाँ तोक्यो । इजरायल, ताइवान, बंगलादेश र पाकिस्तानमा ८ रुपैयाँ निर्धारण गर्‍यो । जापान र रसियामा १० र बेलायत र अस्ट्रेलिया १२ रुपैयाँ तोकिएको छ ।

टेलिकमले पि्रपेड कलिङ कार्ड किनेर कम्प्युटरमार्फत गर्ने अन्तर्राष्ट्रिय शुल्क अझै कम हुने गरी प्राधिकरणसँग मूल्य प्रस्ताव गरेको छ । यसबाट १४२४ डायल गरेर फोन गर्दा ४ रुपैयाँ लाग्ने देशमा ३ रुपैयाँ लाग्नेछ । ६ रुपैयाँ लाग्ने देशमा ५ रुपैयाँ, ८ रुपैयाँ लाग्ने देशमा ६ रुपैयाँ, १० रुपैयाँ लाग्नेमा ८ र १२ रुपैयाँ लाग्ने देशमा १० रुपैयाँ शुल्क लिने प्रस्ताव टेलिकमको छ । 'हामीले टेलिकमको प्रस्ताव अध्ययन गरिरहेका छौं,' प्राधिकरणका सन्दीप अधिकारीले भने, 'अध्ययनपछि छिट्टै शुल्क स्वीकृत गर्छौं ।' उनका अनुसार एनसेलले पोस्टपेड मोबाइलबाट मुलुकभर कुनै पनि नेटवर्कमा फोन गर्दा १ रुपैयाँ ९९ पैसा लाग्ने व्यवस्था गरेको छ । युटिएलका उपभोक्ताले १२२० डायल गरेर ३ रुपैयाँ भारत फोन गर्न सक्छन् । त्यस्तै अमेरिका र क्यानडामा ४ रुपैयाँमा र सिंगापुर, हङकङ र थाइल्यान्डमा ५ रुपैयाँमा फोन गर्न सक्छन् । मलेसिया, बहराइन र दक्षिण कोरियामा ८ रुपैयाँ र ताइवान, पाकिस्तान र बंगलादेशमा ८ रुपैयाँमा फोन गर्न सक्छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks