Loving nepal news

Wednesday, August 25, 2010

माओवादीमा तीन फरक प्रतिवेदन * शान्ति र संविधानमा षड्यन्त्र भए जनविद्रोहः दाहाल * जिनविद्रोहको तयारी गरौं: वैद्य * प्रा

गंगा बीसी

काठमाडौ, भाद्र १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा केन्द्रीय समितिमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा असहमति जनाउँदै उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले फरक दस्तावेज राखेका छन् । लोकतान्त्रिक गणतन्त्रको बाटोबाट जनमुखी संविधान बनाउने कि जनविद्रोहमा जाने विषयमा तीन नेताबीच मुख्य रूपमा फरक धारणा आएको छ ।

पार्टीले लिने कार्यदिशाबारे पार्टीभित्र मतभेद भएपछि तीन नेताले फरक-फरक धारणा प्रस्तुत गरेका हुन् । दाहालको प्रतिवेदनमाथि असहमति जनाउँदै दुई उपाध्यक्षले लिखित रूपमा फरक धारणा ल्याएको यो पहिलो पटक हो । केन्द्रीय कार्यालयमा बुधबार सुरु भएको बैठकमा दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । लगत्तै वैद्य र भट्टराईले फरक प्रतिवदेन राखेका थिए । दाहाल र भट्टराईभन्दा वैद्यको प्रतिवेदन सैद्धान्तिक र लामो छ ।

दाहालले शान्ति र संविधानमा षड्यन्त्र भए जनविद्रोहमा जानुपर्ने धारणा राखेका छन् । वैद्यले भने 'सर्वहारा वर्गको अधिनायकत्व स्थ्ाापित गर्न जनविद्रोहमा जानुपर्ने' प्रस्ताव गरेका छन् । भट्टराईले हालसम्मका उपलब्धि रक्षा गरी जनताको संघीय लोकतान्त्रिक गणतन्त्रमा जानुपर्ने र त्यो हुन नदिए जनविद्रोहमा जाने विषय उठाएका छन् । भारतलाई हेर्ने दृष्टिकोणमा दाहाल र वैद्य नजिक देखिएका छन् । स्रोतका अनुसार 'भारतीय घरेलु प्रतिक्रियावादीसँग घुलमिल भएर आएको' भन्दै प्रधान अन्तरविरोध त्यही भएको दाहाल र वैद्यको विश्लेषण छ । माओवादीको नेतृत्वमा सरकार बन्न नदिनु भारतको प्रमुख हात रहेको उनीहरूको आरोप छ ।

भट्टराईको प्रतिवेदनमा 'भारतद्वारा संरक्षित घेरलु प्रतिक्रियावाद' सँग प्रधान अन्तरविरोध हुनुपर्ने उल्लेख छ । 'भारतीय संरक्षित घेरलु प्रतिक्रियावाद बढी खतरनाक छ,' भट्टराईको प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूबीच तीन 'स' को आन्दोलन चलाउन भने सहमति देखिएको छ । पहिले सरकार, त्यसपछि सदन र सडकबाटै जनमुखी संविधान बनाउन दबाब दिनुपर्ने दाहालको भनाइ छ । भट्टराईले सडक प्रमुख त्यसपछि सदन र सरकारबाट आन्दोलन गर्नुपर्ने उल्लेख गरेको एक नेताले बताए ।

बैठकमा पढेर सुनाइएका प्रतिवेदनमा पार्टी बिगि्रएको भन्ने सम्बन्धमा वैद्य र भट्टराईले घुमाउरो भाषाले दाहाललाई आरोप लगाएका छन् । त्यसमा दुवैको मत मिलेको छ । स्रोतका अनुसार दाहालले वैद्यलाई 'वामन्थी दुस्साहसवादी' र भट्टराईलाई 'दक्षिणपन्थी अवसरवादी' भनेका छन् । वैद्यले दाहाललाई मध्यपन्थीको आरोप लगाएका छन् । भट्टराईले दाहालप्रति संकेत गर्दै पार्टीका लागि मध्यपन्थी अवसरवाद बढी खतरा भएको जनाएका छन् ।

वैद्यले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको चुनवाङ बैठकको कार्यनीतिमा समीक्षा गर्न प्रस्ताव गरेका छन् । उनले शान्ति सम्झौता र स्थानीय जनसत्ता भंग गलत भएको जिकिर गरेका छन् । 'शान्ति सम्झौता र २०६५ असार ११ गते माओवादी र सात राजनीतिक दलबीच भएको सहमति गलत भएको धारणा राख्नुभयो,' वैद्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'सर्वहारावर्गको अधिनायकत्वका लागि जनविद्रोहमा जाने प्रस्ताव आएको छ ।'

शान्ति र संविधान बनाउने सम्बन्धमा दाहालको मध्यमार्गी प्रस्ताव छ । उनले शान्ति र संविधासभाकै बाटोबाट पार्टी अघि बढे पनि षड्यन्त्र हुने सम्भावना भएकाले जनविद्रोहमा जानु पर्ने देखाएका छन् । 'शान्ति र संविधानसभाको बाटोबाट अघि बढ्नुको विकल्प छैन तर षड्यन्त्र हुने सम्भावना भएकाले जनविद्रोहको तयारी पनि आवश्यक छ,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

भट्टराईले जनताको बलमा जनविद्रोह सम्भव हुने भन्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता राजनीतिक रूपमा सफल भएको उल्लेख गरेका छन् । उनले अग्रगामी संविधान बनाउन सकिने धारणा राखेका छन्् । शान्तिपूर्ण सबै बाटा बन्द भए जनविद्रोहको विकल्प नभएको उनले जनाएका छन् । साथै, प्रतिवेदनमा भट्टराईले महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।

बैठकपछि प्रवक्ता दीनानाथ शर्माले अध्यक्ष दाहालको पूरकका रूपमा वैद्य र भट्टराईले फरक राजनीतिक प्रस्ताव ल्याएको दाबी गरे । 'पूरक प्रस्तावका रूपमा दुवै प्रतिवेदन आएका छन्,' उनले भने, 'यी भिन्न मतको प्रस्तावका रूपमा आएका होइनन्।' उनले शान्ति र संविधानका लागि सरकार, सदन र सडकको मोर्चाबाट आन्दोलन गर्ने विषय समेटिएको उल्लेख गरे । वैद्य र भट्टराईले भने बैठकमा पूरक प्रतिवेदन नभई नमिलेका विषय प्रतिवेदनमा उठाएको बताएका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै दाहालले सबै विचार संश्लेषण गरी पार्टी एकताका लागि फरकफरक प्रतिवेदन आएको बताएका थिए । २०६५ मंसिरमा खरिपाटीमा भएको बैठकमा दाहालविरुद्ध वैद्यले छुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीनै पक्ष कसरतमा तीन प्रतिवेदनमाथि बलियो समर्थन जुटाउन दाहाल, वैद्य र भट्टराई पक्ष बुधबार राति छलफलमा व्यस्त थिए । ती प्रतिवेनमाथि बिहीबार छलफल सुरु हुनेछ । तीनै नेता आफूले अघि सारेका कार्यनीति पारित गराउन गृहकार्यमा लागेको स्रोतले जनाएको छ ।

'यो गृहकार्य बिहीबारदेखि व्यापक रूपमा अघि बढ््नेछ,' दाहाल निकट एक पोलिटब्युरो सदस्यले भने । तीन नेता निकट स्थायी र पोलिटब्युरो सदस्यहरू केन्द्रीय सदस्यलाई आ-आफ््नो पक्षमा पार्ने कसरतमा लागेका छन् । भेटघाट बुधबार राति अबेरसम्म जारी थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks