खलंगा, श्रावण १९ - आफन्तसँग फोनमार्फत भलाकुसारी गर्न चाहनुहुन्छ ? हो, भने जाजरकोटमा साँझ ६ बजेपछि टेलिफोन गरेर छुट लिने वा राति र शनिबार मज्जाले फोन गरेर टेलिकमको ५० प्रतिशत छुट पाउनेमा भर नपर्नुहोला ।
किनभने विद्युत् नभएको जनाउँदै टेलिकमले सदरमुकाम वितरित टेलिफोन पनि आंशिक रूपमा मात्र सञ्चालन गर्न थालेको छ । टेलिकमले सौर्य ऊर्जाबाट सञ्चालित उपकरणमा टेलिकमले २ सय ५० साधारण टेलिफोन लाइन जोडेको छ ।
पि्रपेडसँगै तीन हजारभन्दा बढी सिडिएमए, २ हजार जिएसएम सिम कार्ड वितरण गरेपछि उपकरण चल्नै नसक्ने अवस्थामा पुगेको हो । यही कारण बिजुलीको भर पर्नुपर्ने भएकाले मोबाइल सेवा बन्द हुने गरेको छ । साधारण टेलिफोन बिहान ११ देखि ४ बजेसम्म मात्र सुचारु हुन्छ ।
तीन वर्षअघि वितरित सिडिएमएका घरमा राख्ने अधिकांश सेट बिग्रेर थन्केका छन् । 'दूरसञ्चारले बदल्ने पनि गरेको छैन,' खलंगा-८ रिम्नाका जसवीर रानाले भने । 'टेलिफोन नचल्दा यस वडाका घर भाडामा पनि जाँदैनन्,' पूर्वसांसद दीपकजंग शाहले भने । नेटवर्कले काम नगरेपछि मोबाइलधारीहरू गीत सुन्न प्रयोग गरिरहेका छन् । शनिबार भने सबैखाले टेलिफोन सेवा बन्द हुने गरेका छन् । टेलिफोन आएको बेला पनि डायलअप इन्टरनेटमा समस्या देखिने भएकाले रकम आदानप्रदानमा समस्या परेको र ग्राहकलाई घन्टौं पर्खाउनुपरेको आइएमई शाखाले गुनासो गरेको छ ।
जिल्लास्थित दूरसञ्चार कार्यालयमा ३ जना प्राविधिकको दरबन्दी भए पनि ८ वर्षदेखि कर्मचारी उपस्थित छैनन् । सामान्य मर्मतमा पनि समस्या परेको छ । 'एक्सचेन्जमा ऊर्जा थप गर्न सोलार प्यानल आएको छ,' टेलिकम जिल्ला प्रमुख हरिजंग शाहले भने, 'तर प्राविधिक नभएकाले थप्न सकिएको छैन ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks