काठमाडौ, भाद्र ५ - शान्तिमन्त्री रकम चेम्जोङले अनमिन बेगर पनि शान्ति प्रक्रियालाई अगाडि बढाउन सकिने तर्क गर्दै उसको अनुपस्थितिमा कुनै असर नपर्ने बताएका छन् । उनले नेपालको शान्ति प्रक्रियामा सहयोग गरिरहेको संयूक्त राष्ट्र संघीय राजनीतिक मिसन अनमिनलाई विदा गर्न सकिने पनि बताए । उनले भने, 'अनमिन नेपालमा रहेर वा नरहेर कुनै असर पर्नेवाला छैन् ।'
उनले अनमिनलाई विदा गरेर राजनीतिक सहमतिको आधारमा नेपालीहरुको भरपर्दो संयन्त्र बनाएर पनि माओवादी लडाकु र कन्टेनरमा राखिएका हतियारको अनुगमन गराउन सकिने धारणा राखे ।
रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै शान्तिमन्त्री चेम्जोङले नेपालको शान्ति प्रक्रियाको अनमिनको भूमिका विवादित बनेको र उसको तटस्थतामा प्रश्न उठेकोले पनि यस विषयमा सोच्नु पर्ने बेला आएको बताए ।
नेेपालको शान्ति प्रक्रियामा अनमिनको भूमिका नरहेको भन्दै उनले केवल माओवादी लडाकु र कन्टेनरमा रहेको हतियारको अनुगमनको मात्र उसको जिम्मेवारी रहेको बताए । उनले भने, 'नेपालको शान्ति प्रक्रिया अनमिनले अगाडि बढाउने होईन । यो त नेपाली जनता र राजनीतिक दलहरुले अगाडि बढाउने हो ।'
उनले नेपाली सेना पनि माओवादीको लडाकु र कन्टेनरमा रहेको हतियारको अनुगमनको जिम्मा अरु कसैलाई दिन सकिन्छ कि भन्ने पक्षमा रहेको जानकारी दिए । उनले शुक्रबार प्रधानसेनापति छत्रमान गुरुङसँगको भेटमा पनि नेपाली सेनाको तर्फबाट त्यस्तो आशय ब्यक्त भएको जानकारी दिए ।
कार्यक्रममा माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्मा प्रभाकरले अनमिनलाई विदा गरे नेपालमा जारी शान्ति प्रक्रिया भंग हुने दावी गरे ।
अनमिनलाई नेपालीहरुले नै शान्ति प्रक्रियामा सहयोग गर्न बोलाएको उल्लेख गर्दै उनले शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दै अनमिनलाई विदाई गरे शान्ति प्रक्रिया भंग हुने र मुलुक द्वन्द्वमा धकेलिनेे चेतावनी दिए ।
उनले राजनीतिक सहमतिको आधारमा सेना समायोजनसहित शान्ति प्रक्रियाको कार्ययोजना बनाएर सोही आधारमा अनमिनको म्याद थप गर्नु पर्ने बताए । 'अनमिनको म्याद नथपे मुलुकमा गंभिर संकट आउन सक्छ । दलहरुले सहमतिको आधारमा अनमिनको म्याद थप्न पहल गर्नु पर्छ । यसको विकल्प छैन', उनले भने । अनमिनलाई नेपालको शान्ति प्रक्रियाबाट अलग बनाउन विभिन्न पक्षको प्रेसर रहेको दावी गर्दै उनले शान्ति प्रक्रियालाई निश्कर्षमा नपुर्याई अनमिनलाई हटाउन नहुने तर्क गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks