Loving nepal news

Thursday, August 12, 2010

कोइराला र देउवा पक्षबीच प्रतिस्पर्धा


काठमाडौ, श्रावण २८ २०६७ ०८:०५ - कांग्रेसका बिहीबार भएका जिल्ला अधिवेशनमा कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । राति अबेरसम्म प्राप्त परिणाममा कोइराला पक्षले अग्रता लिएको छ ।

दुईभन्दा बढी उम्मेदवार रहेका अधिकांश जिल्लामा बहुमत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुँदैछ । सभापति हुन खसेको मतको ५० प्रतिशत प्राप्त गर्नुपर्छ । पचास प्रतिशत मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ ।

काठमाडौं, काभ्रे, कास्की, कैलाली, मकवानपुर, सुनसरी, कपिलवस्तु, मोरङ, रामेछाप, धनगढी, सिन्धुपालञ्चोकमा पुनः मतदान हुँदैछ । तीमध्ये मकवानपुरमा बिहीबारै पुनः मतदान भइसकेको छ भने अन्यमा शुक्रबार हुँदैछ । कतिपय जिल्लामा राति अबेरसम्म मतगणना जारी छ भने कतिपयमा शुक्रबार मात्रै गणना हुनेछ ।

तीन शीर्ष नेताका गृहजिल्लामा आ-आफ्ना पक्षका उम्मेदवारले जितेका छन् । कार्यवाहक सभापति कोइरालाको गृहजिल्ला बाँकेमा डा. अरुण कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा ध्रुव वाग्ले अत्यधिक मतान्तरमा निर्वाचित भएका छन् । देउवाको गृहजिल्ला डडेलधुरामा भने सर्वसम्मतिबाट कर्णबहादुर मल्ल सभापति बनेका छन् । केन्द्रीय तहका नेताहरू गृहजिल्लामा आफू पक्षीय उम्मेदवार जिताउन लागिपरेका थिए । केन्द्रीय तहका नेताहरू नै पक्ष/विपक्षमा उत्रिएका थिए । केन्द्रीय सभापतिमा कोइराला र देउवाबीचको प्रतिस्पर्धाका कारण पनि गाउँ, नगर, क्षेत्र हँुदै जिल्ला अधिवेशनसम्म दुई नेताबीच धुव्रीकरण देखिएको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार ५३ जिल्लामा अधिवेशन सुरु भएको थियो । अधिवेशन सुरु भएकामध्ये दैलेख र डोल्पामा विवादका कारण निर्वाचन हुन सकेन । पाल्पा, बागलुङ, पर्वत, धनुषामा अधिवेशन सुरु भए पनि शुक्रबार र तेह्रथुममा शनिबार मतदान हुँदैछ । यसअघि सत्र जिल्लामा भइसकेको छ ।

भक्तपुर, सप्तरी, पर्सा र रसुवामा विवादका कारण निर्वाचनका कार्यक्रम पछि प्रकाशित गरिने भएको छ । निर्वाचन अधिकृत पुग्न नसकेका कारण रोकिएको सोलुखुम्बुको निर्वाचन पनि शुक्रबार हुने अधिकारीले

बताए । चार दिनदेखि मौसमका कारण जहाज जान नसकेका कारण निर्वाचन रोकिएको थियो ।

काठमाडौं जिल्ला कार्यसमितिका सभापतिमा देउवा पक्षको उम्मेदवारी

परेन । देउवा पक्षबाट उम्मेदवारका रूपमा प्रस्तुत गरिएका वर्तमान सभापति ध्यानगोविन्द रन्जितले अन्तिम अवस्थामा आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए । स्रोतका अनुसार उपसभापति प्रकाशमान सिंहको समर्थनमा उम्मेदवार बनेका राजेन्द्रकुमार केसीलाई देउवा पक्षले पनि समर्थन गर्ने भएका छन् । चार जना उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने केसी र अर्का उम्मेदवार भीमसेनदास प्रधानबीच शुक्रबार मतदान हुँदैछ ।

बिहीबारको निर्वाचनमा दुवैले ४ सय २१ मत ल्याएका थिए । सचिव र कोषाध्यक्षमा केसी प्यानलका प्रचण्डदेव मानन्धर र सुनिल गौतम निर्वाचित भएका छन् ।

तत्कालीन प्रजातान्त्रिक कांग्रेसमा रहे पनि केसी हाल सिंहको पक्षमा लागेका छन् । कार्यवाहक सभापति कोइरालाको समर्थन भने भीमसेनदास प्रधानप्रति छ ।

अधिवेशन उद्घाटनमा काठमाडौं कांग्रेस नेतृत्वले कोइराला र देउवा दुवैलाई बोलाएनन् । कार्यवाहक सभापति कोइरालालाई बोलाउने कार्यक्रम थियो तर त्यसको असर निर्वाचनमा पर्न सक्ने देखेर उपसभापति सिंहको अनुरोधमा रोकिएको एक नेताले बताए । उद्घाटन कार्यक्रममा बोल्ने नेताहरूले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन पूरै निर्वाचनमुखी मात्रै भए पनि कांग्रेसलाई पुनर्जागरण गर्ने हिसाबले ऐतिहासिक रहेको बताए ।

प्रमुख अतिथिसमेत रहेका सिंहले अहिलेको अधिवेशनबाट कांग्रेस बूढापाकाहरूको पार्टी नरहेको बताए । 'अधिवेशनले युवाहरूको आकर्षण ह्यात्तै बढाएको छ,' उनले भने, 'यसले पार्टीलाई नयाँ दिशामा जान मद्दत

गर्छ । उनले संविधानसभामा कांग्रेसले जितेको ३६ सिटमध्ये ६ सिट काठमाडौंको मात्रै रहे पनि राजधानीले एउटै पनि मन्त्री नपाउनुमा नेताहरूको कमजोरी रहेको बताए । 'त्यसैबाट मेरो लडाइँ सिद्धान्तका लागि भएको छ,' उनले भने । केन्द्रीय सदस्य नरहरि आचार्यले आन्तरिक लोकतन्त्रका लागि लामो समयदेखि भएको संघर्षको परिणाम मुलुकभर कांगे्रसमा जागरण आएको बताए ।

को कता ?

कोइराला पक्ष

१. चितवन विकास कोइराला

२. तनहुँ ध्रुव वाग्ले

३. बाँके डा. अरुण कोइराला

४. बर्दिया सञ्जय गौतम

५. मुस्ताङ सुवर्णकुमार बिष्ट

६. सिन्धुली मोहन बराल

७. प्यूठान सुवास केसी

८. रुकुम मानबहादुर नेपाली

९. लमजुङ कृष्ण कोइराला

१०. दोलखा तारा कोइराला

११. ताप्लेजुङ केशव दाहाल

१२. पाँचथर नरेन्द्र केरुङ

१३. म्याग्दी रेशमबहादुर बानियाँ

१४. गोरखा हरि घले

१५. गुल्मी चन्द्र केसी

१६. मनाङ टेकबहादुर गुरुङ

१७. सल्यान गणेश चन्द

देउवा पक्ष

१ भोजपुर बालकृष्ण थापा

२.. कञ्चनपुर बहादुरसिंह थापा

३. ललितपुर मदन अमात्य

४. डडेलधुरा कर्णबहादुर मल्ल

५. स्याङ्जा कमल पंगेनी

६. धनकुटा मनोहरनारायण श्रेष्ठ

७. जुम्ला मानव सैंजुवाल

८. कालीकोट कालीबहादुर सहकारी

९. हुम्ला जयपति रोकाया

१०. सुर्खेत तप्तबहादुर बिष्ट

११. बैतडी नरबहादुर चन्द

१२. मुगु ऐनबहादुर शाही

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks