Loving nepal news

Monday, August 2, 2010

१६० हजार डलर ठगेर बेलायती नागरिक फरार

प्रतिमा बाँस्कोटा

काठमाडौ, श्रावण १८ - एक बेलायती नागरिक नेपालीलाई ठगेर फरार भएका छन् । बेलायतका नाइजेल जिफोर्ड ओबिईले ठमेलको एक्सपोलर हिमालयका अध्यक्ष सुमनविक्रम पाण्डेलाई १ लाख ६० हजार ८ सय ७३ अमेरिकी डलर ठगेर फरार भएका हुन् । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले खोजी गरिरहेको छ ।

परिसरका डिएसपी लालमणि आचार्यले उजुरी परेको जानकारी दिँदै प्रहरीले खोजी गरिरहेको बताए । 'अध्यागमन विभाग र विमानस्थलमा उनका बारेमा जानकारी गराइसकेका छौं,' आचार्यले भने, 'तर त्यो हुलियाको व्यक्ति फेला परेको छैन ।'

यति ठूलो रकम ठगिएको पहिलोपल्ट भएको बताउँदै डिएसपी आचार्यले भने, 'छिट्टै इन्टरपोलमार्फत खोजी गर्छौं ।' उनले नेपालीले विदेशीलाई ठगेका केही उजुरीहरू परेको भए पनि विदेशीले नेपालीलाई ठूलो रकम ठगेको पहिलोपल्ट भएको बताए ।

पाण्डेले जिफोर्डसँग मिलेर सन् २००८ मा संयुक्त रूपमा पर्यटन विकासका लागि एभरेस्ट स्काई डाइभ गराएका थिए । त्यसमा क्रममा विदेशी पर्यटकबाट आउनुपर्ने १ लाख ६० हजार ८ सय ७३ अमेरिकी डलर जिफार्डले एकलौटी उठाएको पाण्डेले कान्तिपुरलाई बताए ।

'स्काई डाइभ गराउने क्रममा लागेको सबै खर्च नतिरी पर्यटकबाट पैसा लिएर गयो,' पाण्डेले भने 'एकलौटी पैसा उठाएको थाहा पाएर पैसा माग्दा जिफोर्डले रकम तिर्ने कागज गरेको छ ।' सन् २००८ को डिसेम्बर सम्ममा पैसा तिरिसक्ने सम्झौतामा छ ।

जिफार्ड बेलायत फर्केपछि उनी निर्देशक वाइल्ड लिमिटेड टाट पल्टेको भन्दै पैसा तिर्न नसक्ने बेहोराको पत्र पठाएका थिए ।

'२००९ मा बेलायतको कम्पनी डुबेको भनेर पत्र पठाउने व्यक्ति पैसा नतिरी दुई वर्षपछि फेरि नेपाल आएर लगानी गर्ने भन्दै हिँड्न थालेपछि उजुरी दिइएको हो,' उनले भने ।

पीडित पाण्डेले नेपालस्थित बेलायती राजदूतावासमा समेत आफू ठगिएको बेहोराको पत्र दर्ता गराएर जिफोर्डलाई कारबाहीको माग गरेका छन् । जिफोर्डले गत असार २१ गते नेपाल आएर पर्यटन व्यवसायी भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । 'कम्पनी टाट पल्टेको भन्दै फेरि नेपालमा आएर पर्यटन व्यवसायी भएको भन्दै हिँड्न थालेको सुनियो,' आचार्यले भने, 'अनुसन्धान गरिरहेका छौं ।'

जिफोर्डले स्काई डाइभ्स एभरेस्ट नामक वेबसाइट बनाएर आफू नेपालमा पर्यटन विकासका लागि आएको बताएका छन् ।

एभरेस्ट स्काई डाइभ पाण्डेको नाममा दर्ता छ । टाट पल्टेको कम्पनीका सञ्चालक चारतारे होटलमा बसेर नयाँ कम्पनी र व्यवसाय सञ्चालन गर्ने हैसियतमा नपुग्ने भन्दै आफू नियतबस ठगिएको पाण्डेले बताएका छन् ।

अध्यक्ष पाण्डेको उजुरीमा स्काई डाइभका क्रममा पर्यटकबाट उठाएको पैसा लगानी गर्न लागेको भन्दै त्यसमा संलग्न माथि पनि कारबाहीको माग गरिएको छ । पाण्डेले प्रहरीमा जिफोर्डले पैसा तिर्ने

भनेर गरेको कागज, जिफोर्डको बेलायतस्थित कम्पनी टाट पल्टेर पैसा तिर्न नसक्ने बेहोरामा लिक्विडेटरले लेखेको पत्र र बेलायती दूतावासमा जर्फडले आफूललाई ठगेको बेहोराको पत्र दर्ता गराएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks