Loving nepal news

Wednesday, August 18, 2010

दुई परियोजनाका लागि विश्व बैंकद्वारा १३ अर्ब रुपैयाँ सहयोग

रासस

काठमाडौ, भाद्र २ - विश्व बैंकले दुईवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई १७ करोड ६९ लाख २० हजार अमेरिकी डलर (रु १३ अर्ब १६ करोड ८० लाख) बराबरको रकम सहयोग गर्न सहमति जनाएको छ ।

ती दुईवटा परियोजनामध्ये एउटा नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (दोस्रो चरण) रहेको छ जसमा बैङ्कले छ करोड ९६ लाख ५० हजार डलर ऋण र पाँच करोड ९५ लाख डलर अनुदान सहयोग रहेको छ ।

विद्यमान दोस्रो चरण सन् २०१५ को जुलाईमा समाप्त हुने कार्यक्रमले मुख्य गरेर स्वास्थ्य सेवा वितरण र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा सहयोग गर्नेछ ।

नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (दोस्रो चरण)ले गरिब र ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनतालाई प्राथमिक स्वास्थ्य उपचारसम्मको पहुँचको वृद्धिलाई सहयोग पुर्‍याउने छ ।

बालबालिका र गर्भवती महिलाको पोषणस्थितिमा सुधार ल्याउन र एचआइभी तथा एड्ससँग सम्बन्धित गतिविधिलाई समेट्न सहयोगसमेत पुर्‍याउने हुँदा प्रभावकारी स्वास्थ्य क्षेत्रको सेवा वितरण र सुदृढीकरणमार्फत नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न सहयोग गर्नेछ ।

त्यसैगरी विश्व बैंकले अर्को परियोजना अर्थात सामाजिक सुरक्षा सञ्जाल परियोजनाका अतिरिक्त लगानीका लागि रु दुई करोड ३३ लाख डलर ऋण र रु दुई करोड ४४ लाख ७० हजार अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

यो परियोजनाअर्न्तर्गत पहिलो चरणको कार्यक्रम सन् २००८ मा सुरु भई सन् २०१० सेप्टेम्बरमा समाप्त हुनेछ ।

अर्को चरणको कार्यक्रम सन् २०१३ सम्म कायम रहने छ । यो परियोजनाको उद्देश्य कमजोर र उच्च खाद्य असुरक्षा भएको ग्रामीण क्षेत्रमा सार्वजनिक कार्यक्रम, सामुदायिक कोष, सुरक्षा सञ्जाल प्रणाली र मल तथा बीउ-बीजन सहयोग कार्यक्रममार्फत त्यहाँका जनतालाई पोषण तथा खाद्यान्नको पहुँचमा सुधार गर्नु रहेको छ ।

स्थानीय विकास मन्त्रालयले सञ्चालन गर्ने यो परियोजनाको सहयोगसम्बन्धी सम्झौतामा बुधबार अर्थ मन्त्रालयमा अर्थ मन्त्रालयका सचिव रामेश्वरप्रसाद खनाल र विश्व बैंकका नेपाल निर्देशक सुसनजी गोल्डमार्कबीच हस्ताक्षर भयो ।

यसका अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (दोस्रो चरण)का लागि अनुदान सहयोग उपलब्ध गराउने युएसएआइडी, डिएफआइडी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र युएनएफपीएका नेपाल प्रतिनिधिले पनि सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल सरकारले यो सहयोग र नेपालको सामाजिक-आर्थिक विकासमा निरन्तर सहयोग पुर्‍याएकोमा विश्व बैंकप्रति सर्‍हाहना प्रकट गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks