काठमाडौ, श्रावण २७ - कांग्रेसको गाउँ, नगर र क्षेत्रपछि बिहीबार ५४ जिल्लामा अधिवेशन हुँदैछ । जिल्ला अधिवेशन समेत पार्टीको नीति र कार्यक्रममा भन्दा नेतृत्व चयनमा केन्दि्रत देखिएको छ । केन्द्रीय नेताहरू पनि उम्मेदवारका पक्ष/विपक्षमा खुलेर लागेका छन् ।
राजनीतिक परिस्थितिका कारण तीन शीर्ष नेता राजधानी नछाड्ने भनिए पनि स्वयं प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल बुधबार बिहान गृह जिल्ला तनहुँको अधिवेशन उद्घाटन गर्न पुगे । पौडेलले तनहुँमा देउवानिकटका धु्रव वाग्लेलाई समर्थन जनाएका छन् । उनका परम्परागत प्रतिद्वन्द्वी केन्द्रीय सदस्य गोविन्दराज जोशी कृष्णप्रसाद गौतमका पक्षमा जिल्लामै खट्दै आएका छन् ।
कार्यवाहक सभापति सुशील कोइरालाले बाँकेमा भाइ डा. अरुण कोइरालालाई साथ दिइरहेका छन् । उता वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो जिल्ला डडेलधुरामा हालका सभापति रघुवीर भट्टलाई समर्थन जनाएका छन् । काठमाडौंमा उपसभापति प्रकाशमान सिंह राजन केसीको पक्षमा खुलेरै लागेका छन् भने लोकेश ढकाल, भीमसेनदास प्रधान र ध्यानगोविन्द रञ्जित पनि मैदानमा छन् । प्रधानलाई नरहरि आचार्य, युवा नेता गगन थापा लगायतको समर्थन छ ।
महामन्त्री विमलेन्द्र निधि धनुषामा रामसरोज यादवलाई जिताउन लागेका छन् । नुवाकोटमा प्रवक्ता अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य रामशरण महतबीच टकराव छ । केसीले आफ्नै भाइ जगदीशनरसिंह केसीलाई र महतले बहादुर लामालाई साथ दिएका छन् । मन्त्री प्रकाशशरण महत देउवा पक्षतिर भए पनि जिल्लामा दाजुकै शिविरमा छन् ।
झापामा कृष्णप्रसाद सिटौला र चक्र बाँस्तोला आ-आफ्ना उम्मेदवार जिताउन भिडेका छन् । युवा नेता विश्वप्रकाश शर्माको पक्षमा बाँस्तोला देखिएका छन् भने सिटौला उद्धव थापातिर छन् । मोरङमा कोइराला परिवारसमेत विभाजित छ । शेखरको समर्थन गोपालमानसिंह भण्डारीलाई छ भने सुजाता अमृत अर्याललाई जिताउन लागिपरेकी छन् । अर्यालको पक्षमा महेश आचार्य र आमोदप्रसाद उपाध्याय पनि उभिएका छन् । अर्का नेता मिनेन्द्र रिजाल बिगबहादुर लिम्बूका लागि मत मागिरहेका छन् ।
आफ्नो राजनीतिक सुरक्षा र पकड कायम राख्न पनि नेताहरू आफूअनुकूल सभापति बनाउने अभियानमा लागेका हुन् । 'केन्द्रीय नेताहरू नै हराउने र जिताउने अभियानमा घुँडा धसेर लाग्नु पार्टी हितविपरीत छ । यसले पार्टी पुनर्निर्माणको अभियानमा असर गर्छ,' केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले कान्तिपुरसँग भने ।
केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीका अनुसार सत्र जिल्लामा अधिवेशन भइसकेको छ भने विवादका कारण भक्तपुर, सप्तरी, रसुवा र पर्सामा पछि हुनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks