विमान दुर्घट्नामा मारिएकाहरुको डीएनए जाँच्न अमेरिकी विशेषज्ञ आउने
काठमाडौ, भाद्र ९ - जहाज दुर्घटनामा परी मृत्यु भएका विदेशीको शव पहिचान गर्न अमेरिकी चिकित्सकहरूको विशेषज्ञ टोली काठमाडौं आउने भएको छ । पोस्टमार्टममा संलग्न चिकित्सक डा. हरिहर वस्तीका अनुसार अन्तिम संस्कारका लागि ५ नेपाली मृतकका परिवारले शवको अवशेष बुधबार पहिचान गरी लगेका छन् । बुधबार अपराह्न दुइ मृतकको कपडा र अन्य केही वस्तु पनि पहिचान भइसकेकाले उनीहरूका आफन्तले पनि बिहीबार ती अवशेष लैजाने भएका छन् ।
शिक्षण अस्पताल हातामा रहेको फरेन्सिक डिपार्न्टमेन्टमा अब ३ जना नेपाली र ६ जना विदेशीको शव उनीहरूका आफन्तले लैजान बाँकी छ । तीमध्ये एक जापानी नागरिकको शव पनि पहिचान हुने गरी केही अवषेश भेटिएका छन् ।
पोस्टमार्टममा सम्लग्न ८ जना चिकित्सक टोलीले मंगलबार राति ३ बजेसम्म काम गरेका थिए । बुधबार बिहान ७ बजेदेखि राति अबेरसम्म पहिचानका लागि खटिरहेका थिए । 'बरामद गरिएका अवशेषहरूबाट २ दिनमै ७ शव पहिचान गर्न सकिएलाजस्तो लागेको थिएन तर धेरै सफलता पायौं, वस्तीले भने ।
नेपालमा मृत्यु भइसकेकाको डीएनए परीक्षण नहुने भएकाले शव पहिचान गर्न गृह मन्त्रालयले बुधबार मित्र राष्ट्रहरूसँग सहयोग माग्नका लागि परराष्ट्र मन्त्रालयलाई लिखित अनुरोध गरेको छ । 'सरकारले औपचारिक रूपमा आग्रह गरे हामी डीएनएमार्फ शव पहिचान गर्नका लागि विशेषज्ञ मगाइदिन सक्छौं,' भनी अमेरिकी राजदूत स्कट एच डेलिसीले उच्च सरकारी अधिकारीहरूसमक्ष प्रस्ताव राखेपछि गृहले त्यस्तो अनुरोध परराष्ट्रलाई गरेको हो ।
गृहको चिठी पुगेलगत्तै परराष्ट्र मन्त्रालयले दूतावासलाई अनुरोध गरेको छ । 'अमेरिकी दूतावासले सहयोग गर्ने आश्वासन देखाएपछि हामीले सहयोगका लागि अपिल गर्न परराष्ट्रलाई पत्राचार गरेका छौं,' गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने ।
अग्नि एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका चालकदलका सबै सदस्यको बुधबार दाहसंस्कार गरिएको छ । शिक्षण अस्पताल, महाराजगन्जका चिकित्सकले बुधबार दिउँसो दिएका आधारमा शव पहिचान गरी परिवारलाई बुझाइएको अग्निका बजार व्यवस्थापकका शैलेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार दुर्घटनामा परेका यात्रु आशबडी राई र पी शेर्पाको परिवारलाई पनि शव बुझाइसकिएको छ ।
दुर्घटनापछि सेना र फिस्टेल एयरको उद्धार टोलीले यात्रु तथा चालकका शवका टुक्रा प्लास्टिकमा पोको पारेर राजधानी ल्याएको थियो । टुक्रा-टुक्रा भएका कारण पहिचानका लागि ती शवलाई शिक्षण अस्पताल पुर्याइएको हो ।
बुधबार फिस्टेल एयरले मृतक परिवारलाई श्रद्धाञ्जलिका लागि दुर्घटनास्थल लगेको थियो । 'उनीहरूसँगै नागरिक उड्डयन मन्त्रालयका प्राविधिक पनि अनुसन्धानका लागि गएका थिए,' एयरलाइन्सका प्रबन्ध निर्देशक सुमन पाण्डेले भने । जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरबारी र सेनाको टोली पनि त्यहाँ पुगेको थियो ।
दुर्घटनामा मृत्यु भएका १४ मध्ये ६ जना विदेशी पर्यटक छन् । जसमध्ये एक जापानी, एक आयरल्यान्डको र ४ अमेरिकी नागरिक छन् ।
दुर्घटनामा मृत्यु हुने यात्रुका परिवारलाई २० हजार अमेरिकी डलर र चालकदलका सदस्यका परिवारलाई ३० हजार अमेरिकी डलर बराबर क्षतिपूर्ति दिइने एयरलाइन्सका बजार व्यवस्थापक श्रेष्ठले बताए ।
मंगलबार काठमाडौंबाट लुक्लाका लागि उडेको अग्निको विमान खराब मौसमका साथै जेनेरेटर र ब्याट्री बिग्रिएका कारण करिब १ हजार ७ सय मिटरको उचाइबाट सीधा तल खसेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks