Loving nepal news

Saturday, August 21, 2010

राष्ट्रपतिलाई प्यारो सरकारी अस्पताल

अतुल मिश्र

काठमाडौ, भाद्र ६ - ठूल्ठूला नेता र उच्च सरकारी कर्मचारी सामान्य उपचार गर्न विदेश पुग्छन् । देशमै उपचार गराइहाले पनि महँगा निजी अस्पताल रोज्छन् । तर, हेरौं राष्ट्रपतिलाई जो जहिल्यै देशका सरकारी अस्पतालको उपचार रुचाउँछन् ।

राष्ट्रपति डा. रामवरण यादवले शनिबार वीर अस्पतालमा दाँतको उपचार गराए । बिहान ९ बजेतिर पुगेका राष्ट्रपतिको दुई घन्टा उपचार गरियो । दाँत-मुख रोग विभागमा उनको नियमित दन्त परीक्षण, दाँत भर्ने र सफाइ गर्ने कार्य गरियो । स्वास्थ्य सचिवसमेत रहेका अर्थोडोन्टिस्ट डा. प्रवीण मिश्रको नेतृत्वमा डा. शैली प्रधान, डा. सरिता जोशीसहितका विशेषज्ञ उपचारमा संलग्न थिए ।

'एकदम राम्रो उपचार भयो, म सन्तुष्ट छु,' पेसाले चिकित्सक राष्ट्रपति यादवले उपचारपछि कान्तिपुरसँग भने, 'पहिलेदेखि नै म यहीं उपचार गराउँदै आएको छु ।' उनले एक वर्षअघि पनि वीरमै दाँतको विशेष उपचार गराएका थिए । उनको जिब्रोमा दाँतले घर्षण हुने गरेको समस्याको समेत शनिबार उपचार गरियो ।

'मलाई देशको स्वास्थ्य सुविधामा पूर्ण विश्वास छ,' उनले भने, 'राष्ट्रपति होस् वा प्रधानमन्त्री वा अन्य पहिले मुलुककै स्वास्थ्य संस्थामा गएर उपचार गराउनु पर्छ ।' आफू चिकित्सक रहेकाले मुलुकको स्वास्थ्य क्षमताबारे राम्ररी थाहा भएको उल्लेख गर्दै उनले भने, 'प्रतिष्ठित व्यक्तिले आफ्नै मुलुकको स्वास्थ्य निकायमा उपचार गराएर विश्वास प्रकट गर्दा त्यहाँ कार्यरत उच्चतम क्षमतायुक्त विशेषज्ञहरूको मनोबलसमेत बढ्छ र भविष्यमा उनीहरू अझ संस्था र मुलुकप्रति समर्पित हुन्छन् ।'

स्वदेशको चिकित्सा क्षमतालाई कमजोर ठान्न नहुने उल्लेख गर्दै राष्ट्रपति डा. यादवले यहींको उपचारले ठूलो रकम विदेशिनबाट जोगिनेसमेत बताए ।

'राष्ट्रपतिज्यूको दाँतसम्बन्धी समस्याको उपचार धेरैअघिदेखि वीरमै हुने गरेको छ,' स्वास्थ्य सचिव मिश्रले भने, 'मुलुकका ठूलाबडा विदेश गएर उपचार गराउने प्रवृत्ति बढेको अवस्थामा उहाँले आफ्नो मुलुककै चिकित्सा क्षमतामा विश्वास देखाउनु मननयोग्य छ ।' उनले राष्ट्रपतिजस्तै अन्य राजनेता र प्रतिष्ठित समुदायले मुलुकको स्वास्थ्य व्यवस्थामा विश्वास देखाए सकारात्मक परिणाम निस्कने बताए । 'राष्ट्रपतिज्यूको कदमले सबैलाई मार्गदर्शन गरेको छ,' उनले भने । करिब डेढ वर्षअघि त्रिवि शिक्षण अस्पतालस्थित बीपी कोइराला नेत्र अध्ययन केन्द्रमा राष्ट्रपति यादवका दुवै आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको थियो । उनी अझै आँखासम्बन्धी समस्यामा केन्द्रमै भर पर्ने त्यहाँका कार्यकारी निर्देशक डा. डीएन साह बताउँछन् । उनको आँखामा झिल्को देखिने समस्याको उपचार केन्द्रमै जारी रहेको उनले जानकारी दिए ।

राष्ट्रपतिले मुटु र सामान्य परीक्षण भने सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गराउने गरेका उनका निजी चिकित्सक मुटुरोग विशेषज्ञ डा. यादव भट्टले बताए । 'भारत भ्रमणका बेला उहाँ अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पुग्नुभयो तर उपचारका लागि होइन,' उनी भन्छन्, 'उहाँ मुलुकमै सम्भव भएसम्म उपचार गर्न विदेश जान चाहनुहुन्न ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks