Loving nepal news

Tuesday, August 3, 2010

एमालेमा विवाद मिलाउने कसरत

दुर्गा खनाल

काठमाडौ, श्रावण १९ - देशव्यापी रूपमा कार्यकर्ताको दबाब बढ्न थालेपछि एमाले नेताहरू पार्टी भित्रको आन्तरिक विवाद मिलाउने कसरतमा लागेका छन् । पछिल्लो पटक प्रधानमन्त्री निर्वाचनको विषयलाई लिएर शीर्ष नेताहरूबीचको विवाद सार्वजनिक रूपमै छताछुल्ल भएको थियो । विवाद बढ्दै गए पार्टी विभाजन समेत हुन सक्ने खतरा बढ्न थालेपछि सहमतिको प्रयास सुरु गरिएको हो ।

अध्यक्ष झलनाथ खनाल पक्षले सहमतिका लागि भन्दै कुनै पनि बहुमतीय सरकारलाई सहयोग नगर्ने अडान राख्दै आएको थियो । उत्ता ओली पक्षले कांग्रेसलाई समर्थन गरेर जानुपर्ने धारणा राख्दै आएको थियो । यो प्रकरणमा प्रधानमन्त्री माधव नेपालसमेत ओली पक्षको नजिक देखिएपछि सम्बन्ध झन् चिसिएको थियो । शीर्ष नेताहरूबीचको सम्बन्ध नसुधि्रए पार्टी समाप्त हुने भन्दै कार्यकर्ताले नेतालाई भेटेरै दबाब दिइरहेका छन् । कार्यकर्ताको दबाब थेग्न नसक्ने अवस्थामा पुगेका नेताबीच केही दिनयता आपसी वार्तामा तीव्रता आएको छ । दुवै पक्षका नेताहरू विवाद कम गरी पार्टी सुढृढ गर्नुपर्नेमा सहमत भएका छन् । दुवै पक्षलाई मिलाउन स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी, पोलिट ब्युरो सदस्य प्रदीप नेपाललगायत नेताका लागेका छन् ।

'नेताहरू डाँडामा बसेर गीत गाउँदा भन्दा कोठामा बसेर बाझ्दा राम्रो हुन्छ,' नेता नेपालले कान्तिपुरसँग भने, 'त्यसैले बाहिर देखिने गरी विवाद गर्दै हिँड्नु ठीक हुँदैन भनेर हामी नेताहरूलाई सचेत गराउन लागेका

हांै ।' उनले केही दिनयता नेताहरूबीचको विवाद मत्थर हुन थालेको बताए । 'अहिलेका बेला झगडा र तानातानको होइन,' उनले भने, 'पार्टीभित्रै झगडा भयो भने बाहिर कसरी सहमति हुन्छ, भरसक साथीहरू मिलिदिए हुथ्यो ।'

प्रधानमन्त्री निर्वाचनपछि राजनीतिक संवाद गर्न छोडेका अध्यक्ष खनाल र प्रधानमन्त्री नेपालबीच गत आइतबार र मंगलबार गरी दुई पटक लामै छलफल भएको छ । विवाद मिलाउन लागको नेताहरूले दुवै गुटमा रहेका एक-अर्कालाई निषेध गर्ने र माओवादी वा कांग्रेस भन्ने दुवैथरी अतिवादी विचार नराख्न सुझाव दिने गरका छन् । उनीहरूले नेताहरूका फरक-फरक अडानले पार्टीको स्वतन्त्र अस्तित्व नै नरहेको जस्तो देखिन थालेको भन्दै त्यसमा सचेत हुन आग्रह गर्ने गरेका छन् । पार्टीभित्र कार्यसम्पादन, क्षमता, सक्रियताका आधारमा मूल्यांकन हुने प्रणाली विकास नभएकाले गुट बनेको भन्दै त्यसलाई सुधार्न अनुरोध गरेका छन् । 'क्षमता विशेषताका आधारमा मूल्यांकन हुने प्रावधान नरहेकाले आफू अघि बढ्न यो वा त्यो कित्तामा लाग्नुपर्ने अवस्था छ,' केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने, 'यसमा सुधार्ने हो भने पार्टी भित्रको गुट र विवाद पनि समाप्त हुन्छ ।'

नेतृत्वकर्ताको हैसियतमा अध्यक्षले पार्टी सुदृढीकरणका लागि लाग्नुपर्ने भन्दै अन्य नेताहरूबाट प्रस्ताव आएपछि खनालले आफू निकट पोलिट ब्युरो, केन्द्रीय कमिटी र विद्यार्थी भ्रातृ संगठनसम्मका नेताहरूलाई संवाद गर्न परिचालन गरेका छन् । विभिन्न टोलीमा विभाजित नेताहरूको समूहले खनाल, अेाली र नेपालबीच भेटघाट गरिरहेका छन् । नेता ओलीले खनाल निकट नेताहरू प्रकाश ज्वाला, अरुण नेपाल, घनश्याम भुसाल, विजय पौडेल, योगेश भट्टराईलगायतलाई मंगलबार आफ्नै निवासमा भेटे । भेटमा उनले पार्टीभित्रको सृदृढीकरण गर्नुपर्ने पक्षमा आफू पनि रहेकाले त्यसका लागि नेतृत्वबाट पर्याप्त पहल हुनुपर्ने बताए । 'सबैलाई मिलाएर लैजानुपर्‍यो यसका लागि अध्यक्ष क्रियाशील हुनुपर्छ' ओलीको भनाइ उद्धृत गर्दै नेता भट्टराईले भने । ओलीले आफ्नो कसैप्रति कुनै पूर्वाग्रह नरहेको उल्लेख गरेका थिए । झन्डै ४ घन्टा भएको छलफलमा नेताहरूले हरेक विषयमा एउटै धारणा बनाएर जान आग्रह गरेका थिए । उनीहरूले प्रधानमन्त्री निर्वाचनमा पार्टीले लिएको निर्णय ठिक भएकाले अहिले नै अन्य पार्टीलाई समर्थन गर्ने धारणा नराख्न ओलीलाई आग्रह गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks