Loving nepal news

Saturday, August 21, 2010

ट्रयाक खुल्यो, पुलहरू छैनन्

विकास थापा

काठमाडौ, भाद्र ६ - मुलुककै आर्थिक विकासमा कायापलट गर्ने अपेक्षा गरिएको मध्यपहाडी राजमार्गको ट्रयाक खन्ने काम पूरा हुन लागिसक्दा पनि त्यसमा पर्ने ३३ वटा पुलको डिजाइनसमेत भएको छैन ।

तीन वर्षदेखि निर्माण सुरु ३ सय ६३ किलोमिटर ट्रयाक बनिसक्दा पनि जमार्गमा पर्ने ३३ वटा पुलको रेखांकनसमेत भएको छैन । पूर्वको चियो भन्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म १ हजार ७ सय ६७ किलोमिटर मध्यपहाडी राजमार्गमा जम्मा ३८ वटा पुल निर्माण गर्नुपर्छ । तर अहिले पाँचवटा पुल मात्र निर्माण भइरहेका छन् ।

अरू डिजाइन हुने क्रममा रहेको आयोजना प्रमुख दिनेशप्रकाश बस्नेतले बताए । उनका अनुसार राजमार्गअन्तर्गत पाँचथरमा मेवा खोला, सिसिले, फलाम, सार्किखोला र मसुवा खोलामा पुल बनाउनुपर्छ । भोजपुरको चान्ता, हिन्वा खोला, सेरा र पिखुवा गरी चार ठाउँमा पुल चाहिन्छ । सबैभन्दा बढी पुल आवश्यक भएको सिन्धुलीमा बहादुरे, सोकु, चाल्र्ना, खान्साङ, वाम्सु, निउरो, बितीचोर, फोस्रें, बन्जिफोर, सुङदे, सखार र ट्याउ खोलामा पुल बनाउनुपर्छ । बागलुङमा २, जाजरकोटमा २ र दैलेखमा ५ वटा पुल चाहिने आयोजनाले जनाएको छ ।

मन्त्री, सभासद, राजनीतिक दलका केही प्रभावशाली नेताले तराई तथा ग्रामीण क्षेत्रअन्तर्गत पर्ने आ-आफ्ना इलाकामा ४ सयभन्दा बढी पुल बनाउन दबाब दिएका छन् । यता पहिलो प्राथमिकतामा परेको आयोजनामा भने पुल निर्माणको टुंगो लागेको छैन ।

बस्नेतका अनुसार ठूला नदीमा पर्ने पाँच ठूला पुल भने सडक विभाग र बेलायती सरकारको सहयोगमा निर्माण भइरहेको छ । अरुण नदीमा बेलायती सरकारको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दूधकोसी र सुनकोसीमा सडक विभाग तथा तमोर र कणर्ालीमा आयोजनाको पहलमा निर्माण भइरहेको छ । 'अरू बाँकी (३३ वटा) पुल भने डिजाइन हुने क्रममा छ,' बस्नेतले कान्तिपुरसित भने ।

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले एकाएक बजेट वक्तव्यमार्फत 'मध्यपहाडी राजमार्ग' निर्माणको घोषणा गरेका थिए । सडक विभाग, योजना आयोग र अर्थ मन्त्रालयका पदाधिकारीसमेत यसबारे अनभिज्ञ थिए । गरिबी निवारण, क्षेत्रीय असन्तुलनको अन्त्य र पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको यो राजमार्गको घोषणापछि बल्ल सडक विभागले अध्ययन सुरु गरेको हो । यो राजमार्ग निर्माण भएपछि मुलुकको करिब ७७ प्रतिशत भूभाग समेट्ने अध्ययनले देखाएको छ ।

आयोजना प्रमुख बस्नेतका अनुसार कामचलाउ सरकार भएकाले पुल निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत भएको छैन । 'कामचलाउ सरकार भएकाले यसको स्वीकृति नभएर टेन्डर हुन सकेन,' उनले भने, 'अनुमानित लागतका आधारमा टेन्डर स्वीकृतिका लागि अर्थ मन्त्रालयको सहमति लिने प्रक्रियामा

छौं ।' हाल डिजाइन भइरहेका ३३ पुलका लागि १ अर्ब ७८ करोड रुपैयाँ लाग्ने अनुमान छ । ठूला नदीमा बाहेक अन्य पहाडी क्षेत्रमा बन्ने पुल 'ओपन फाउन्डेसन' (खुला जग) भएकाले निर्माण कार्य छिटो भई एक वर्षमा पूरा हुने अपेक्षा आयोजनाको छ । सरकारमा बसेका प्रभावशाली व्यक्ति तथा राजनीतिक दलले आ-आप्फ्नो निर्वाचन क्षेत्रमा पुल बनाउने होडबाजी चलिरहेका बेला राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष सम्बद्ध यो राजमार्गको पुल निर्माणसम्बन्धी कसैले चासो नलिएको सडक विभाग स्रोतले बतायो । विभागको पुल आयोजनाका प्रमुख माधवकुमार कार्कीले पनि मध्यपश्चिम राजमार्गमा चाहिने पुल डिजाइन कार्य भइरहेको जानकारी दिए । 'छिटोभन्दा छिटो काम गरी यो वर्षभित्र डिजाइन पूरा गर्ने गरी काम भइरहेको छ,' उनले भने । राजमार्गको गतवर्ष १ सय २० किलोमिटर ट्रयाक खोलिएको थियो । त्योभन्दा अघि ८० किलोमिटर ट्रयाक खोलिएको यो राजमार्गमा यो वर्ष २ सय २७ किलोमिटर खोल्ने लक्ष्य छ । मध्यपहाडी राजमार्गमा बेलायतको ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) ले म्याङलुङदेखि संक्रान्ति बजारसम्म ८८ किलोमिटर, पश्चिम दैलेखेको चुप्रावेसटाडा खण्डको २० किलोमिटर गरी ८८ किलोमिटर खनिसकेको छ । नेपाली सेनाले मुसिकोटदेखि रुकुमकोटसम्मको ३९ किलोमिटर ट्रयाक खोलिसकेको छ । कुल लम्बाइमध्ये यो राजमार्गमा १ हजार १ सय ७८ किलोमिटर बनिबनाउ छ । करिब ३५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पिच भने विदेशीदाताले गर्ने अपेक्षा सरकारको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks