काठमाडौ, श्रावण २१ - बल एउटै लयमा बाउन्स हुन्छ । एस्ट्रो टर्फ सिमेन्टमाथि राख्यो भने बल 'टर्न' गराउन सकिँदैन । तर सामान्य मैदानमाथि राख्ने एस्ट्रोमा भने स्पिन बलिङ प्रभावकारी बन्न सक्छ ।
एस्ट्रो टर्फमा सात दिन नेपाली क्रिकेट टिमले गरेको अभ्यासको नतिजा यही हो । नयाँ पिचमा छोटो अभ्यास गर्ने मौका पाए पनि नेपाली खेलाडीको मनोबल उच्च छ ।
इटालीमा साउन २९ देखि भदौ ५ सम्म हुने डिभिजन-४ मा राम्रो प्रदर्शन गर्ने सोच सबैले बनाएका
छन् । सन् २०१५ को विश्वकपको ढोका मानिएको त्यस प्रतियोगिताको फाइनलमा पुग्नु नै राष्ट्रिय टिमको लक्ष्य हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले लामो समयदेखि एस्ट्रो टर्फ ल्याउने भने पनि गत साउन १३ मा मात्र नेपाल आइपुगेको थियो । खेलाडीको अभ्यास एस्ट्रो टर्फ बिना फितलो देखिएको थियो । तर केही दिन गरेको अभ्यासमा पनि खेलाडी सन्तुष्ट देखिन्छन् । वर्षाको मौसमले गर्दा खेलाडीले पानी छलेर अभ्यास गरेका हुन् ।
कप्तान पारस खडका अभ्यास राम्रो रहेको बताउँछन् । उनले एस्ट्रोबारे जान्ने मौका पाएको बताए । 'इटालीमा सिमेन्टमाथि वा सामान्य मैदानमाथि एस्ट्रो राख्ने त्यसमा पनि भरपर्ने छ,' पारसले भने, 'सिमेन्टमाथि राखेमा बल 'टर्न' हँुदैन यदि सामान्य मैदानमा टर्फ बिछ्याएमा नेपाली स्पिनरलाई सहज हुन्छ ।'
पारसले पिचभन्दा पनि खेलमा जसले बलिङ र ब्याटिङ राम्रो गर्न सक्यो उसैले बाजी मार्ने बताए । 'घरेलु भूमिमा डिभिजन-५ मा हात पारेको सफलता र एसीसी एलाइट कपको फाइनल यात्राले खेलाडीको मनोबल उच्च छ,' पारसले भने, 'इटालीमा हुने अभ्यास खेलले टिमलाई थप ऊर्जा दिनेछ ।'
ब्याटिङ र बलिङमा खेलाडीले राम्रो प्रदर्शन गरे पनि टिमको फिल्डिङ भने कमजोर देखिएको छ । वषर्ाले गर्दा मैदानमा पानी जम्ने समस्याले गर्दा फिल्डिङ कमजोर भएको हो ।
नेपालले इटालीमा कायमन आयरल्यान्ड र इटालीको स्थानीय टिमसँग खेल्नेछ । साउन २९ मा नेपालले अमेरिकाको सामना गर्नेछ । प्रतियोगितामा डिभिजन-५ बाट बढुवा भएका नेपाल र अमेरिकासहित कायमन आयरल्यान्ड, अर्जेन्टिना, इटाली र तान्जानिया छन् । उत्कृष्ट दुई टिमले अर्को वर्ष हङकङमा हुने डिभिजन-३ को बाटो पक्का गर्दै विश्वकप खेल्ने सपनालाई जीवितै राख्नेछन् ।
घरेलु मैदान कीर्तिपुरमा बुधबार गरिएको अन्तिम अभ्यासपछि प्रशिक्षक रोय लुक डायसले तयारी सन्तोषजनक रहेको बताए । एस्ट्रो पिच आएपछि अभ्यास गर्न थप सहयोग मिलेको उनले बताए । 'खेलाडीले आफ्नो जिम्मेवारीलाई बहन गरेका छन् । सबैले राम्रो खेल्नुपर्ने भन्ने सोच्नुका साथै कडा मिहिनेतका साथ अभ्यास गरिरहेका छन्,' डायसले भने ।
सन् २००५ पछि राष्ट्रिय टिममा 'कमब्याक' गरेका मन्जित श्रेष्ठले इटाली यात्राका लागि तयार रहेको बताए । 'अभ्यास राम्रो भएको छ, राम्रो खेल्ने सोचमा छु,' मन्जितले
भने । उता, राष्ट्रिय टिममा 'डेब्यु' गरेका युवा खेलाडी प्रदीप ऐरीले राष्ट्रका लागि खेल्न आफू आतुर रहेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks