Loving nepal news

Sunday, August 1, 2010

एक मधेस प्रदेशमा कांग्रेस मौन

कुलचन्द्र न्यौपाने

काठमाडौं, श्रावण १६ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको एक मधेस एक प्रदेशकाबारेमा कांग्रेस मौन बसेको छ । कांग्रेसले मोर्चालाई आइतबार बुझाएको आधारपत्रबारेको पार्टी धारणामा एक मधेस एक प्रदेश उल्लेख छैन ।

मधेसवादी चार दल सम्मिलित मोर्चाले भने प्रधानमन्त्रीको उम्मेदवारी दिएका दलले एक मधेस प्रदेशसहितका आफ्ना मागप्रति प्रतिवद्धता जनाउने दललाई समर्थन गर्ने बताउँदै आएको छ । शनिबार माओवादीले पनि एक मधेस एक प्रदेश अस्वीकार गरेको थियो ।

कांग्रेसले आत्मनिर्णयको अधिकार, राज्य पुनर्संरचना आयोगको औचित्य, नेपाली सेनामा मधेसीको समूहगत प्रवेशकाबारेमा पनि थप स्पष्टताको आवश्यक रहेको बताएको छ ।

१३ बुँदे पार्टी धारणामा मोर्चाले उठाउँदै आएको सुरक्षा अंगलाई समावेशी बनाउनेमा भने कांग्रेसले सहमति जनाएको छ । यस्तै नागरिकता समस्याको समाधानका लागि व्यवहारिक नीति आवश्यक रहेको कांग्रेसको जवाफमा उल्लेख छ ।

'मोर्चाले उठाएका अधिकांश माग पुरा गर्न हामी गम्भीर छौं,' बैठकपछि कांग्रेस सह-महामन्त्री रामशरण महतले भने, 'एक मधेस प्रदेशलगायतका विषयमा भने केन्द्रीय समिति बैठकले नै निर्णय गर्नुपर्दछ, अहिले केन्द्रीय समितिका धेरै साथीहरु पार्टीको निर्वाचनमा राजधानी बाहिर भएकाले बैठक बस्न सकिएको छैन ।' आधारपत्रबारे कांग्रेसको धारणा गम्भीररुपले अध्ययन गरेरमात्र निर्णय दिने मोर्चाका नेताहरुले जवाफ लिएको महतले जानकारी दिए ।

आधारपत्रबारे कांग्रेसको धारणा आएपछि मोर्चाका नेताहरुको बैठक बसिरहेको छ ।

मोर्चाको आधारपत्रबारेको पार्टी धारणा लिएर कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता एवम् प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेल र सह-महामन्त्री रामशरण महत सदभावना पार्टी संसदीय दलको कार्यालय गएका थिए । पार्टी धारणा बुझाउनेक्रममा मोर्चा आवद्ध मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र सह-अध्यक्ष जेपी गुप्ता, तराई मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, सदभावनाका राजेन्द्र महतोलगायतका नेताहरु सहभागी थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks