काठमाडौ, श्रावण १६ - नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्नका लागि नयाँ हवाई मार्ग सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि चीन र भारतसँग बेग्लै समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकाले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लबिङ सुरु गरेको छ । नयाँ हवाईमार्ग 'ट्रान्स हिमालयन २' ले दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपेली मुलुकलाई जोड्नेछ ।
पर्यटनमन्त्री शरदसिंह भण्डारीले विज्ञ तथा कूटनीतिक प्रतिनिधिको सहयोगमा दुई देशसँग नयाँ मार्ग सञ्चालनका लागि पहल गरिरहेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । नयाँ हवाई मार्ग खुलेपछि सबै अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपाली आकाश प्रयोग गर्नेछन्, जसले हवाई राजस्वसमेत बढ्नेछ । यसका साथै चीन र दक्षिण एसियाली मुलुकको दूरी छोट्टिने भएकाले पनि पूरै क्षेत्रलाई फाइदा पुग्ने सम्बद्ध अधिकारी बताउँछन् ।
नयाँ सम्भावित मार्ग छोटो हुनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट प्वाइन्टका रूपमा पनि स्थापित गर्ने ती अधिकारीले बताए । 'आगामी वर्ष नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सुरु हुनुले थप अवसर दिनेछ,' उनले भने । बंगाल हुँदै जाने पश्चिमतर्फको हवाई ट्राफिक पनि नयाँ मार्ग सञ्चालनमा आएपछि घट्नेछ ।
अन्तर्राष्ट्रिय हवाई मार्गका कारण नेपाल, दुबई, सिंगापुर, बैंककजस्तै 'हब' बन्न सक्छ । सन् १९७९ देखि १९९७ सम्म अन्तर्राष्ट्रिय हवाई मार्गका कारण दक्षिणपूर्वी एसियाको स्वरूप परिवर्तन भएको थियो । नयाँ मार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन लगायतसँग नियमित ध्यानाकर्षण गराइरहेको पर्यटन प्रवक्ता लक्ष्मण भट्टराईले बताए । 'प्रतिक्रिया सकारात्मक छ,' उनले भने ।
यो रुटको प्रस्ताव सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई पनि औपचारिक रूपमा पठाइसकेको छ । उसले 'मार्ग' सँग जोडिने सबै देशसँग समझदारीपत्रमा हस्ताक्षर गराई सञ्चालनका लागि पहल थाल्न सुझाव दिएको छ । 'नेपालले नयाँ मार्ग सञ्चालनका लागि छुट्टाछुट्टै सम्झौता भने गर्नुपर्छ,' प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले भने, 'यसबारे मन्त्रालयले पहल गरिरहेको मन्त्रीले दिनुभएको छ ।'
प्राधिकरणका अनुसार नेपालले तीनवटा नयाँ हवाईमार्गको प्रस्ताव गरेको छ । जसमध्ये हिमालया १ (बैंकक-कोलकाता- नेपालगन्ज-पाकिस्तानको इन्डेक),
हिमालया २-कुम्निङ-काठमाडौं- दिल्ली) र हिमालया-३ (काठमाडौं- नेपालगन्ज-दिल्ली) रहेको छ ।
'यसमध्ये हिमालया-२ बढी नाफाजनक भएकाले त्यसका लागि भारत र चीनको सहमतिका लागि बढी जोड दिइएको छ,' प्राधिकरण, ट्राफिक व्यवस्थापनका सहायक निर्देशक प्रतापबाबु तिवारीले भने । उनका अनुसार अन्तर्राष्ट्रिय हवाई यातायात संघ -आइटा) ले पनि हिमालया-२ मा चासो देखाएको छ । यो रुट नाफामूलक हुने भन्दै विमान कम्पनीले पनि छिटो पहल गर्न अनुरोध गरिरहेको प्राधिकरणका अधिकारी बताउँछन् । हाल नेपाल आउन पारो-सिमरा-काँकडभिट्टा हवाई मार्ग प्रयोग हुन्छ भने बाहिर जाने अन्तर्राष्ट्रिय उडान काठमाडौं -महेन्द्रनगर-दिल्ली हवाई मार्ग प्रयोग गर्छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks