Loving nepal news

Monday, July 26, 2010

जिविसका ठेकेदारद्वारा राजमार्गमा अवैध असुली

सर्लाही, श्रावण १० - जिविसबाट जडीबुटी लगायतका वस्तुको ठेक्का लिएका ठेकेदारले पूर्वपश्चिम राजमार्गमा बसेर मालबाहक सवारीमा जथाभावी कर असुल्न थालेका छन् । जथाभावी कर असुलीको विरोध गर्दा प्रहरीले सुनवाइ नगरेको व्यवसायीको गुनासो छ ।

लालबन्दी र नवलपुरको बीचमा पर्ने जंगलमा बसेर उक्त सडकमा गुड्ने सबै मालवाहक सवारीसँग ठेकेदारले असुली गर्दै आएका छन् । व्यवसायीले प्रहरीको मिलेमतोमा ठेकेदारले लुट मच्चाएको बताए । उक्त ठेक्का ठेकेदार मनोजकुमार सिंहले एक वर्षका लागि ६ लाखमा सकार गरेका हुन् । अवैध असुलीबाट दैनिक संकलन हुने लाखौं रुपैयाँको हिस्सा प्रहरीलाई बुझाएर लुटलाई निर्वाध सञ्चालन गरिएको व्यवसायीको आरोप छ ।

'सबै वस्तुमा कर लिँदा दैनिक एक लाखभन्दा बढी संकलन हुन्छ,' एक ठेकेदारले भने, 'अवैध असुलीका लागि त्यसको सबैभन्दा बढी हिस्सा प्रहरीलाई दिनुपर्छ ।' अधिकार पाएको भन्दा बाहेकको वस्तुमा समेत कर असुली गरेको विरोधमा शनिबार साँझ व्यापारीले पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्धसमेत गरे । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष रंगलाल अग्रवालले प्रहरी प्रशासनको आडमा भएको खुलेआम लुटको विरोधमा गरिएको बन्दको संघले समर्थन जनाएको बताए ।

'असुलीको खबरलगत्तै शनिबार मैले प्रहरी प्रधान कार्यालयमा समेत गुनासो गरिसकेको छु,' काठमाडौंमा रहेका अग्रवालले फोनमा भने, 'उपभोक्तालाई मारमा पार्ने यस्तो लुट नरोकिए हामी कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौं ।' जिविसले दिएको ठेक्काको पट्टामा जडीबुटीबाहेक काठ, इँट्टालगायतका वस्तुमा मात्र कर उठाउन पाइने उल्लेख छ । जिविस कर फाँटका शुभनारायण यादवले तोकिएबाहेक कर असुल्न नपाइने वस्तुमा समेत कर उठाएको गुनासो आएको बताए ।

एउटा शीर्षकमा ठेक्का लिएर राजमार्गमा बस्नेबित्तिकै ठेकेदारले धम्क्याएर जथाभावी असुली थालेको व्यवसायीले बताए । 'रात बिरात गाडी रोकेर पैसा माग्छन्,' एक ट्रक चालकले भने, 'नदिए कुटपिट गर्छन् ।'

चामल, दाल, चिनी, चौपायालगायतका वस्तुमा समेत जबर्जस्ती कर असुल गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । अग्रवालले कृषिकजन्य उत्पादनमा कुनै हालतमा कर असुल्न नपाइने संघले जिविसमा निर्णय नै गराएको बताए । नलाग्ने वस्तुमा समेत कर असुल गर्दा उपभोक्ता महँगीको मारमा पर्छन् । बाटोमा लागेको सबै खर्च व्यवसायीले मूल्यमा जोडेर उपभोक्तसँग असुल गर्छन् । बढ्दो महँगी नियन्त्रण गर्न असफल सरकारका प्रतिनिधिको मिलेमतोमा भएको खुलेआम लुटले सर्वसाधारण सबैभन्दा बढी मर्कामा पर्ने अग्रवालले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks