Loving nepal news

Tuesday, July 13, 2010

प्रधानमन्त्रीको निर्वाचन साउन ५ मा

प्रधानमन्त्रीको निर्वाचन साउन ५ मा
नारद गौतम




काठमाडौँ, असार २९ गते । राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न दलहरूबीच सहमति कायम हुन नसकेपछि साउन ५ गते संविधानअनुरूप बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।

व्यवस्थापिका-संसद्मा बहुमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढे पनि राजनीतिक दलहरूले त्यही आधारमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि वार्ता र संवादलाई अझै जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ -१) अनुसार राजनीतिक सहमतिको सरकार गठनका लागि तोक्नुभएको समय र थप समय पनि सकिएपछि सोही धाराको -२) अनुसार संसद्बाट बहुमतीय आधारमा सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

संसद्को मङ्गलबार बसेको बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बहुमतीय आधारमा सरकार गठनका लागि संसदीय प्रक्रिया सुरु भएको जानकारी गराउनुभयो । यो प्रक्रियाअनुसार संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।

संविधानसभा -व्यवस्थापिका-संसद्)को कार्य सञ्चालन नियमावली, २०६५ अनुसार राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा प्रधानमन्त्रीको निर्वाचन हुने र त्यसको सूचना संसद्का महासचिवले प्रकाशन गर्ने उल्लेख छ ।

मङ्गलबार प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम तय गर्ने सन्दर्भमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक आयोजना गर्नुभएको थियो । त्यही बैठकमा सहमति भएअनुसार साउन ५ गते

प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यक्रम तय भएको हो ।

मङ्गलबार नै संसद्का महासचिव मनोहरप्रसाद भट्टाराईले प्रधानमन्त्रीको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्दै संविधानसभाका कुनै सदस्यलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना संसद् सचिवालयमा दर्ता गराउन साउन ४ गतेको दिन तोक्नुभएको छ ।

सो प्रस्ताव साउन ४ गते बिहान ११ बजेदेखि ५ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महासचिवको कार्यकक्षमा दर्ता गराउनुपर्नेछ । निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार ५ः३० बजे सूची प्रकाशन गर्ने र साउन ५ गते बिहान ११ बजे संसद्को बैठकमा ती प्रस्तावलाई निर्णयार्थ

प्रस्तुत गरी प्रधानमन्त्रीको चयन गरिनेछ

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks