काठमाडौ, श्रावण ४ - नयाँ प्रधानमन्त्री चयनका लागि मंगलबार संसद्मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । संसद् सचिवालयले बिहान ११ देखि साँझ ५ बजेसम्म दर्ताको समय तोकेको छ । मंगलबार दर्ता भएका प्रधानमन्त्रीका उम्मेदवारसम्बन्धी प्रस्तावमा बुधबार संसद्मा मतदान हुनेछ । मतदान मतविभाजन प्रक्रियाबाट हुनेछ ।
उम्मेदवारी प्रस्तावको रूपमा दर्ता हुनेछ । राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न गत २८ गते संसद्लाई आह्वान गरेका छन् । त्यसपछि संसद्ले प्रधानमन्त्रीको चुनावी प्रक्रिया अघि बढाएको हो । सहमतिका लागि दिएको १२ दिनको समय दलहरूले गुजारेपछि बहुमतीय प्रक्रिया सुरु भएको हो ।
यसैबीच संसद सचिवालयले अहिलेसम्म कांग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरे र साना दलको तर्फबाट चुरे भावर राष्ट्रिय एकता पार्टीका केशव मैनाली र दलित जनजाति पार्टीका विशेन्द्र पासवानले प्रधानमन्त्रीको मनोनयनपत्र लगेको जानकारी दिएको छ । कांग्रेसले संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा उठाउने निर्णय गरिसकेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks