काठमाडौ, श्रावण १४ - अब धेरै रकमको बिमा गर्ने व्यक्तिले पनि आम्दानीको स्रोत देखाउनुपर्ने भएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार जीवन बिमा गर्दा वाषिर्क १ लाखभन्दा बढी र निर्जीवनमा ३ लाख रुपैयाँभन्दा बढी पि्रमियम तिर्ने ग्राहकले लगानीको स्रोत खुलाउनुपर्नेछ ।
सम्पत्ति शुद्धीकरण (मनी लउन्डरिङ) सम्बन्धी राष्ट्र बैंकको निर्देशनले बिमा व्यवसायलाई समेत समेटेर यस्तो प्रावधान बनाएको हो । व्यवसायी भने सम्पत्ति शुद्धीकरण नियमावली २०६६ अन्तर्गतको बिमा कारोबारसम्बन्धी निर्देशनले विदेशी बिमा कम्पनीलाई फाइदा पुग्ने बताउँछन् । 'सुरक्षासँग सम्बन्धित भएकाले यसलाई लागू गर्नुको विकल्प छैन,' बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले भने, 'हामी प्रावधानबारे छलफल गरिरहेका छौं ।'
बिमामार्फत अर्बौं रुपैयाँ बर्सेनि भारत गइरहेको अवस्थामा यस्तो प्रावधानले थप असर गर्ने व्यवसायीले बताए । 'महिनामा एकपटक मुख्य सहर आएर पैसा उठाउँदै भारत लैजाने क्रम सरकारले रोक्न सकेको छैन,' एक बिमा व्यवसायीले भने, 'यस्तो प्रावधानले यसमा अझै ठूलो वृद्धि ल्याउनेछ ।'
बिमक संघमा जीवन बिमा कम्पनीका तर्फबाट उपाध्यक्ष रमेशकुमार भट्टराईले ५ लाख रुपैयाँभन्दा बढीको मात्र स्रोत खोजिनुपर्ने सुझाव दिएको बताए । '१ लाख न्यून रकम हो,' उनले भने, 'यसले धेरै रकमका बिमालाई निरुत्साहित गर्नेछ ।' ठूलो रकमको बिमा गर्नेलाई मनोवैज्ञानिक त्रास पर्ने उनी बताउँछन् ।
रकमको दायरा फराकिलो बनाउन र अन्य आवश्यक सुधार गर्न बिमक संघले नियमक बिमा समितिसँग अनुरोध गरेको छ । 'वाषिर्क १ लाखभन्दा बढी पि्रमियम तिरेर जीवन बिमा गर्ने व्यक्तिको संख्या न्यून छ,' समितिका अध्यक्ष फत्तबहादुर केसीले भने, 'तर पनि यसबारे छलफल गरिरहेका छौं ।' वाषिर्क १ लाखभन्दा बढी पि्रमियम तिर्ने गरी सानो संख्याका ग्राहकले मात्र बिमा गरेको बताइन्छ । यसबाहेक निर्जीवन बिमा गर्दा ठूला कम्पनीले स्वदेशी भन्दा विदेशी बिमा कम्पनीलाई प्राथमिकता
दिने गरेको बिमा व्यवसायी बताउँछन् ।
बैंकको खातामा १० लाखभन्दा बढी रकमको स्रोत खोजिने हल्लाले पनि तरलता अभावलाई मद्दत पुगेकाले बिमामा समेत असर पर्ने विश्लेषकहरू बताउँछन् । यसका साथै घरजग्गामा हुने लगानीको स्रोत खोजिने भएपछि घरजग्गा व्यवसायीले पनि बैंकिङ प्रणाली बाहिर रकम राखेको बताइन्छ । स्रोत खुलाउनुका साथै बिमा गर्ने व्यक्ति/संस्थाको कागजात र विवरण बिमा कम्पनीलाई राख्न निर्देशन दिइएको छ । ग्राहकसँग सम्पर्क राखी अभिकर्ताले मात्र कारोबार गर्ने भएकाले यसलाई लागू गर्न नसकिने बिमा व्यवसायी बताउँछन् । 'ग्राहकसँगको सीधा सम्पर्क अभिकर्ताको मात्र हुन्छ,' भट्टराईले भने, 'यो अव्यावहारिक देखिन्छ ।' यसबाहेक पुराना ग्राहकको विवरणसमेत दुई वर्षभित्र अद्यावधिक गर्नुपर्ने बताइएको छ ।
गैरकानुनी रूपमा कमाएको पैसालाई वैध बनाउने काम रोक्ने मुख्य उद्देश्य सम्पत्ति शुद्धीकरण ऐनको हो । त्यसबाहेक अन्तर्राष्ट्रिय आतंकवाद, लागू औषध, हातहतियारको अवैध व्यापारबाट कमाएको पैसा निर्मलीकरण हुनबाट रोक्ने अन्तर्राष्ट्रिय प्रयासपछि नेपालले पनि यो कानुन बनाएको हो । प्रतिबद्धताअनुसार सरकारले कानुन कार्यान्वयन गर्दै आएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks