काठमाडौँ, साउन २ गते । नयाँ सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेसले दलका नेता रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन आइतबार दिनभर अन्य दलसँगको वार्ता र संवादलाई तीव्र बनायो । भेटवार्ता सकारात्मक भएको र त्यसबाट आफूहरू उत्साहित भएको जानकारी काङ्ग्रेस नेताहरूले दिनुभएको छ ।
काङ्ग्रेसका शीर्ष नेताहरूले नेकपा -एमाले)का वरिष्ठ नेता केपी शर्मा ओली, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चार मधेसवादी दल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभयो ।
वार्तामा काङ्ग्रेस नेताहरूले संसदीय दलका नेता पौडेललाई प्रधानमन्त्री पदमा प्रस्तुत गरेकाले उहाँलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो भने अन्य दलले विशेषगरी शान्तिप्रक्रिया र संविधान निर्माणको विषयमा काङ्ग्रेसले राख्ने एजेन्डा हेरेर निर्णय गर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तापछि चार मधेसवादी दलका शीर्ष नेताहरूले संविधान निर्माण, शान्तिप्रक्रिया र मधेसका मुद्दामा काङ्ग्रेसले लिने नीति हेरेर चारै दलको बैठक बसेर निर्णय गर्ने जानकारी दिनुभयो ।
तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले काङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले संसदीय दलका नेता पौडेललाई समर्थन गर्न आग्रह गर्नुभएको र हामीले शान्ति, संविधान र मधेसका मुद्दाबारे आˆनो अवधारणा राख्यौँ, अब चार दलको बैठक राखेर निर्णय गर्छौं भन्नुभयो ।
यसैगरी, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्ति, संविधान र मधेस स्वायत्त प्रदेशलगायतका विषयमा कुरा राखेका छौँ भन्नुभयो भने यस्तै धारणा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको छ । बैठकमा मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) नेपालका प्रवक्ता जीतेन्द्र देव सहभागी हुनुभएको जानकारी काङ्ग्रेसले दिएको छ ।
काङ्ग्रेस सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसीले शान्ति, संविधान र लोकतान्त्रिक अवधारणालाई अझ सशक्त रूपमा अगाडि बढाउन सामूहिक पहल गरौँ भनेर हामीले सहयोगका लागि प्रस्ताव गरेका छौँ, उहाँहरूको दृष्टिकोण सकारात्मक छ भन्नुभयो । मधेसको पहिचान र समानताका लागि उठेका आवाजलाई राम्रोसँग सम्बोधन गर्नु जरुरी छ भन्ने हामीलाई लागेको छ, त्यसका लागि हिजोका सहमति र अब हुने निर्णयलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको प्रवक्ता केसीले बताउनुभयो ।
काङ्ग्रेस संसदीय दलकै कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा र काङ्ग्रेस नेताहरूबीच भेटवार्ता भयो । भेटवार्तापछि अध्यक्ष राणाले शान्तिप्रक्रिया र संविधान निर्माणको सुनिश्चिततालाई हेरेर निर्णय गरिने जानकारी दिनुभयो । यी भेटवार्तामा प्रधानमन्त्रीका उम्मेदवार पौडेल, उपसभापति प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधिलगायतका नेताहरूको सहभागिता रहृयो ।
राससका अनुसार संसदीय दलका नेता पौडेलले आइतबार बिहान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा -एमाले)का वरिष्ठ नेता केपी ओलीसँग सरकार निर्माण गर्न सहयोगसहित छलफल गर्नुभएको थियो ।
भक्तपुरको कमलविनायकस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे निवासमा बिहान ९ देखि १० बजेसम्म भएको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पौडेलले सरकार निर्माणका लागि सहयोगको आग्रह गरेको जानकारी दिनुभयो ।
"छलफलमा भएका कुराकानीले आफू उत्साही भएको र सरकार बनाउन आधार बलियो बन्दै गएको पाएँ", नेता पौडेलले भन्नुभयो । यही आउने ५ गतेभित्र प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा आफूलाई समर्थन गर्न बिजुक्छेसँग समर्थन माग्न आएको बताउँदै नेता पौडेलले छलफल सकारात्मक भएको बताउनुभयो । "राष्ट्रको समस्याका बारेमा छलफल भयो, बिजुक्छे र हाम्रो पार्टीको कुरा एउटै लाग्यो"- पौडेलले भन्नुभयो ।
नेता बिजुक्छेले नीतिमा आधारित कुरा गर्ने भएकाले हाम्रो कार्यक्रम हेरेर मात्रै सहयोग र समर्थन गर्ने आश्वासन पाएको पौडेलले जानकारी दिनुभयो ।
काङ्ग्रेसले मुलुकलाई सुशासन र शान्ति दिने, डेमोक्रेटिक संविधान निर्माणजस्ता कुरालाई आधार मानेर पार्टीले कार्यक्रम ल्याउने तयारी भइरहेको सो अवसरमा नेता पौडेलले बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks