काठमाडौ, श्रावण ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल तीनै जना प्रधानमन्त्रीका प्रतिस्पर्धीहरुले आफ्नो उम्मेदवारी फिर्ता नगरे बाँकी १ सय ४१ सांसद रहने छन् ।
यस्तो अबस्थामा उम्मेदवारी नदिएका दल तथा स्वतन्त्र साँसद सबैले एकै जना उम्मेदवारलाई मतदान गर्ने होभने पनि माओवादीका दाहालले बाहेक अन्य उम्मेदवारले सामान्य बहुमत पुर्याउन सक्ने छैनन् ।
माओवादी, काँग्रेस र एमालेका उम्मेदवारले एक्ला एक्दै गरी उम्मेदवारी नदिएको दल तथा स्वतन्त्र साँसदहरुको सबै मत पाउने होभने पनि काँग्रेसका पौडेलले २ सय ५४ र एमालेका खनालले २ सय ५० मत मात्र पाउने छन् । कुल ५ सय ९९ संख्या रहेको संसदमा सामान्य बहुमत पुर्याउनका लागि पनि ३ सय मत प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपी उम्मेदवारी नदिएका सबै दल र स्वतन्त्र साँसदहरुले एकै उम्मेदवारलाई मतदान गर्ने संभावना न्यून छ ।
माओवादीका उम्मेदवार दाहालकै कुरा गर्दा उनले मधेसवादी प्रमुख चार दललाई मिलाउन सकेपनि बहुमत पुर्याउन सक्ने छन् । मधेसी लोकतान्त्रिक मोर्चामा आबद्ध चार दलको ८३ र आफ्नो २ सय ३६ जोडेर उनले ३ सय १९ पुर्याएमा पनि बहुमत पुग्नेछ । तर, आफैबीच सहमति कायम गर्न नसकेको मधेसी दलहरु माओवादीसंग एकै ठाउँमा उभिने गराउनु भनेको माओवादीको लागि फलामको च्युरा चपाउनु जतिकै गाह्रो हुने निश्चित छ ।
बाँकी रह्यो एमाले बाहेक कम्युनिष्टहरु तथा जातीय सवाल उठाइ रहेका दल तथा कुनै दुइ मधेसवादी दलहरुको सहयोगमा माओवादीले सरकारको नेतृत्व गर्ने अबस्था । यसो गर्दा पनि प्रमुख दुइ मधेसवादी दलको सहयोग विना संभव छैन ।
यसैले हुन सक्छ उम्मेदवारी दिएपछि माओवादी अध्यक्ष दाहालले फोरमका अध्यक्ष उपेन्द्र यादव र तमलोपका अध्यक्ष महन्त ठाकुरसंग छुट्टछुट्टै भेटी छलफल गरेको । यसले दाहाल सामान्य बहुमतकै भएपनि आफ्नो नेतृत्वमा सरकार बनाउन चाहेको स्पष्ट हुन्छ । यद्यपी उनले यस प्रकरणमा प्रधानमन्त्री माधवकुमार नेपालको सरकार बनाउदाको गठबन्धनलाई भने तोडेको छ ।
एमालेले आफै उम्मेदवार दिनु र मधेसी दलहरुले एक्लाएक्लै माओवादीसंग छलफल गर्नुले काँग्रेस नेताहरुले भने जस्तै गठबन्धन तोडिएकै छैन भन्ने अवस्था छैन । माओवादी बिरुद्धको अभियानमा फेरी जोडिन सक्ने संभावना मात्र बाँकी हो ।
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जित्नका लागि एमाले या माओवादीले उम्मेदवारी फिर्ता लिएर सघाउनै पर्ने बाध्यता छ । उनको आश अझै एमालेले सघाउने रहेको छ । एमालेले मात्र समर्थन गर्दैमा पनि पौडेलले जीत सुनिश्चित भने हुदैन । यसमा पुरानै गठबन्धनको पुनराबृत्ति आवश्यक हुन्छ । यसमा फोरमको २५ सदस्य थपिन सक्छ ।
एमाले अध्यक्ष खनालले उम्मेदवारको रुपमा अडिनकै लागि ४ सय मत प्राप्त गर्ने ग्यारेन्टी हुनुपर्छ । माओवादीको समर्थनले मात्र पनि यो संख्या पुग्दैन । यसका लागि कमसेकम तीन वटा मधेसवादी दलले समर्थन दिनुपर्ने हुन्छ । त्यसो भएमा मात्र उनले ४ सय मत पाउने छन् । नत्र काँग्रेसले पनि समर्थन गर्नुपर्ने हुन्छ ।
दलहरुको साँसद संख्या:
माओवादी - २३६
काँग्रेस- ११३
एमाले- १०९
लोकतान्त्रिक फोरम- २८
मधेसी जनअधिकार फोरम- २५
तराई मधेस लोकतान्त्रिक पार्टी – २१
सद्भावना पार्टी– ९
माले- ९
राप्रपा- ८
नेकपा संयुक्त- ५
नेपाल मजदुर किसान पार्टी – ५
राप्रपा (नेपाल)- ४
राष्ट्रिय जनमोर्चा - ४
राष्ट्रिय जनशक्ति पार्टी – ३
नेपाल सद्भावना पार्टी (आनन्दीदेवि) - ३
संघीइ लोकतान्त्रिक मञ्च- २
राष्ट्रिय जनमुक्ति पार्टी– २
नेपाली जनता दल- २
नेकपा एकीकृत - २
दलित जनजाति पार्टी– १
नेपाः राष्ट्रिय पार्टी – १
समाजवादी प्रजातान्त्रिक जनता पार्टी– १
चुरेभावर एकता पार्टी – १
नेपाल लोकतान्त्रिक समाजवादी दल - १
नेपाल परिवार दल - १
स्वतन्त्र- २
कुल- ४९९
खाली- २
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks