Loving nepal news

Tuesday, July 27, 2010

मन्त्रीका दबाब छल्न सचिवहरू भाग्दै

विकास थापा

काठमाडौ, श्रावण १२ - विकासे कार्यक्रम र बजेट धेरै भएका मन्त्रालयका सचिवहरू 'हिँड्ने बेलामा' निर्णय गराउन दबाब देलान् भन्ने डरले कामचलाउ सरकारका मन्त्रीहरूलाई छल्ने, बिदामा बस्ने, विदेश जाने तथा हाजिर गरेर हिँड्ने गरेका छन् ।

दोस्रो पटक प्रधानमन्त्रीको निर्वाचन सफल हुन नसकेपछि ऊर्जा सचिव शंकरप्रसाद कोइराला व्यक्तिगत कारण देखाउँदै आइतबारदेखि बिदामा बसे । स्रोतका अनुसार कोइराला सिँचाइ मन्त्रालयका सहसचिव महेन्द्र गुरुङसहितका कविहरूको टोलीलाई लिएर हङकङ, दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय कवि सम्मेलनमा गएका हुन् ।

ऊर्जा मन्त्रीले विभिन्न स्वदेशी तथा विदेशी कम्पनीलाई जलविद्युत् आयोजनाका लाइसेन्स दिन दबाब दिन थालेपछि सचिव कोइराला बिदामा बसेका हुन् । स्रोतका अनुसार उनलाई कांग्रेसनिकट व्यक्तिहरूलाई जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र लिन दबाब परेको छ ।

प्रधानमन्त्रीले गत असार १६ गते राजीनामा दिएपछि संसद्मा पहिलोपटक प्रधानमन्त्रीको चुनाव हुनुअघि पनि कोइरालाले घरायसी काम भन्दै बिदामा बसेका थिए । कोइराला बिदामा बसेपछि कानुन महाशाखाका सहसचिव राजेन्द्रकिशोर छेत्रीले निमित्त सचिव चलाइरहेका छन् । निमित्त सचिवले नीतिगत निर्णय गर्न मिल्दैन ।

ऊर्जा मन्त्रालय मात्र होइन, शिक्षा मन्त्रालयका सचिवद्वय पनि हाजिर गरेर हिँड्ने गरेका छन् । स्रोतका अनुसार सचिव दीपेन्द्रविक्रम थापा र शंकर पाण्डे मन्त्रालयमा आक्कलझुक्कल मात्र आउँछन् । उनीहरू दुवैको मोबाइलको स्विच अफ छ । 'उहाँहरूले कसैलाई जिम्मेवारी दिनुभएको छैन,

बिदा पनि लिनु भएको छैन,'

स्रोतले भन्यो, 'मन्त्रालय आउनेबित्तिकै जाने गर्नुहुन्छ ।'

वन फँडानी र जिल्ला वन अधिकृत सरुवाको विवादमा परेका वन सचिव युवाज भुसाल घुँडामा घाउ आएको बहानामा १२ दिनदेखि मन्त्रालयमा अनुपस्थित छन् । उनले सहसचिव सूर्यप्रसाद जोशीलाई निमित्त दिएका छन् । 'उहाँ (भुसाल) सकेसम्म मन्त्रालय नै नआउ भन्ने मनस्थितिमा हुनुहुन्छ,' एक अधिकारीले भने ।

आर्थिक वर्षको अन्त्यमा आएर बजेट रकमान्तर तथा स्रोतान्तर गरेर व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको छानबिनमा परेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई अरूको तुलनामा निकै सजिलो भएको छ ।

सचिव (सडक हेर्ने) पूर्ण कडरिया र महानिर्देशक रामकुमार लम्साल कामचलाउ सरकार रहेकै बखत एक कार्यक्रममा भाग लिन गत आइतबार क्यानडा गएका छन् । स्रोतका अनुसार संयोगवश एसियाली विकास बैंक (एडीबी) आयोजना निर्देशनालयका दिनकर शर्मासहित विदेश जाने मौका परेर सचिव र महानिर्देशकलाई तीन-तीन जना मन्त्रीका 'निर्देशन' पालना गर्नु परेन ।

उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले हालै एक सहसचिवको सरुवा गराएका छन् । उनले मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर लीलानाथ त्रिपाठीलाई राष्ट्रिय सतर्कता केन्द्र सरुवा गरेका हुन् । राजपत्रांकित द्वितीय श्रेणीसम्मका अधिकृतलाई सचिवले सरुवा गर्छ भने प्रथम श्रेणी -सहसचिवस्तर) लाई मन्त्रीले सरुवा गर्न सक्छ । 'कामचलाउ अवस्थामा निर्णय नगरौं भनेर हामीले मन्त्रीलाई सम्झाएका छौं,' मन्त्रालयका एक अधिकारीले कान्तिपुरसित भने, 'तर एक वर्षसम्म त्रिपाठीलाई राखेर हिँड्ने बेलामा सरुवा गरे ।'

हालै मात्र जल तथा ऊर्जा आयोगबाट सरुवा भई आएका पर्यटन सचिव किशोर थापा एसियाली विकास बैंकका अध्यक्ष हारुहिको कुरोदाको नेपाल भ्रमणका कारण 'व्यस्त' छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी एडीबी टोलीमा सचिव थापा सहभागी भएकाले मन्त्रालयमा उपस्थित हुन नपरेको एक अधिकारीले बताए । वाणिज्य तथा आपूर्तिमन्त्री स्वयं मन्त्रालयमा आक्कलझुक्कल आउने गरेकाले सचिव पुरुषोत्तम ओझालाई काम गर्न निकै सजिलो भएको मन्त्रालयका अधिकारीहरूको अनुभव छ । 'भोलि सरकार बन्दा यो मेरै मन्त्रालय हो भन्दै मन्त्रीले के आइराख्नु भन्नु भा'छ' मन्त्री राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै एक अधिकारीले कान्तिपुरसित भने ।

निजामती कर्मचारीका लागि महत्त्वपूर्ण मानिएको सामान्य प्रशासन मन्त्रालयका सचिव बालानन्द पौडेललाई खासै दबाब नभएकाले उनी नियमित मन्त्रालय आउने गरेका छन् । मन्त्रीले अघिल्लो आर्थिक वर्षमै सबै सरुवाबढुवा भ्याइसकेकाले यतिखेर सामान्य प्रशासन मन्त्रालय मन्त्रीको नजरमा अनाकर्षक मन्त्रालय भएको टिप्पणी एक अधिकारीले गरे । 'अरू मन्त्रालयमा भागाभाग छ, हामीकहाँ त्यस्तो छैन,' उनले भने, 'यो मन्त्रालयमा यतिखेर के नै निर्णय गर्नु छ र ?'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks