Loving nepal news

Saturday, July 24, 2010

प्रधानमन्त्री बन्न तयार छु्: बाबुराम भट्टराई

गंगा बीसी

काठमाडौ, श्रावण ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा चुनिने प्रयास जारी राखेकै बेला उपाध्यक्ष बाबुराम भट्टराईले सहमतीय सरकार निर्माण भए आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनले बहुमतीय सरकारले शान्ति र संविधानलाई निष्कर्षमा नपुर्‍याउने बताउँदै सहमतीय सरकारमा जोड दिएका हुन् ।

'राष्ट्रिय सहमति जहाँ बन्छ, त्यहाँ हामी जानुपर्छ । म व्यक्तिगत रूपमा कुनै पदको आकांक्षी होइन । तर राष्ट्रिय सहमति बन्छ भने म प्रधानमन्त्रीका निम्ति तयार छु,' उनले शनिबार कान्तिपुरसँग भने, 'म पदकै निम्ति मरिहत्ते गर्ने पक्षमा चाहिं छैन ।' उनले राजनीतिक दल र नेताको सत्ता/पदका लागि मरिमेट्ने प्रवृत्ति सहमतिको बाधक रहेको टिप्पणी पनि गरे ।

माओवादीले अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुअघि भट्टराईलाई पनि त्यसको दाबेदार मानिएको थियो । 'राजनीतिक दल र तिनको नेतृत्वमा चरम आत्मकेन्द्रित महत्त्वाकांक्षी हुने, सत्ता र पदका निम्ति मरिहत्ते गर्ने प्रवृत्ति देखापर्‍यो, त्यो पनि अर्को समस्या हो,' उनले आफ्नै पार्टी नेतृत्वतर्फसमेत लक्ष्य गर्दै भने, 'कसको नेतृत्वमा सरकार बन्ने, को प्रधानमन्त्री बन्ने भन्ने कुरातिर लागे समस्या समाधान हुँदैन ।'

भट्टराईले अहिले जसको नेतृत्वमा बहुमतको सरकार बने पनि त्यसबाट समस्या समाधान नहुने जनाउँदै संसद्को कार्य सञ्चालन नियमावली संशोधन गरेर भए पनि सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिए ।

'माओवादी नेतृत्वको सरकारले मात्र शान्ति र संविधान बन्दैन, माओवादीबिनाको सरकारले पनि शान्ति र संविधान बन्दैन,' उनको भनाइ छ, 'मुख्य रूपमा माओवादी, कांग्रेस, एमाले सम्मिलित सरकारले मात्र शान्ति र संविधानको कार्यभार पूरा गर्न सक्छ ।' बहुमतीय सरकारका लागि माओवादी र कांग्रेसबीच कठिन कसरत भइरहेका बेला भट्टराईले यस्तो फरक धारणा सार्वजनिक गरेका हुन् ।

उनले सहमतीय सरकारका लागि संसद्को कार्य सञ्चालन नियमावली संशोधन गरेर भए पनि बाटो खोज्न सकिने विकल्प अगाडि सारेका छन् । 'संसद्को नियमावली संशोधन गरेर अहिलेको प्रक्रिया अन्त्य गरी सहमति खोज्न सकिन्छ,' उनले भने, 'राजनीतिक इच्छाशक्ति भयो भने नियमले छेक्दैन ।' यही चुनावी प्रक्रियाभित्रबाट सहमति कायम गरेर एउटा उम्मेदवारले छाडेर अर्कोमा सहमति गरे पनि सहमति हुनसक्ने उनको भनाइ छ ।

सहमतीय सरकार बनेन भने कुनै पनि ढंगले बनेको कुनै बहुमतीय सरकार दिगो नहुने दाबी गर्दै उनले भने, 'अन्तिम घडीसम्म पनि सहमतिको सरकारको प्रयास गर्नुपर्छ । यसका लागि आ-आफ्नो अहम् त्याग गर्नुपर्छ । माओवादी त्यो त्याग गर्न तयार छ ।' उनले सहमतिका निम्ति अध्यक्ष दाहालको उम्मेदवारी फिर्ता हुनुपर्ने राय अप्रत्यक्ष रूपमा राखे ।

'अहिले पनि ३ सय १ को खेलमा होइन, राष्ट्रिय सहमतिमार्फ राष्ट्रिय सहमतिको सरकार बनाउन लाग्नुपर्छ,' उनले साउन १७ को तेस्रो निर्वाचनतर्फ औंल्याउँदै भने, 'यो १० दिनको समयमा गम्भीर ढंगले सोच्यौं भने यही प्रक्रिया वा अर्को प्रक्रियाबाट राष्ट्रिय संयुक्त सरकार बनाउन हामी सक्छौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks