Loving nepal news

Saturday, July 24, 2010

कांग्रेस अधिवेशन आजदेखि


कुलचन्द्र न्यौपाने

काठमाडौ, श्रावण ९ - कांग्रेस अधिवेशन देशव्यापी रूपमा आइतबार सुरु हुँदैछ । त्यसका लागि राजधानीमा रहेका नेता आ-आफ्ना जिल्ला फर्केका छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनको निर्वाचन प्रभावित पार्ने हुँदा नेताहरू गाउँ तहदेखिकै निर्वाचनमा सक्रिय हुन जिल्ला-जिल्ला पुग्न थालेका हुन् ।

यसपालि केन्द्रीय महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधिले भाग लिनेछन् । कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा लड्ने सार्वजनिक गरिसकेकाले गाउँ अधिवेशनबाटै दुई पक्षबीच भिडन्त हुने भएको छ ।

७२ जिल्लाका झन्डै ४ हजार गाविस र नगरपालिकामा कांग्रेसको एकैसाथ निर्वाचन हुन लागेको हो । त्यसका लागि केन्द्रबाट निर्वाचन सामग्री र निर्वाचन अधिकृतहरू सम्बन्धित ठाउँमा पुगिसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए ।

प्रधानमन्त्रीको निर्वाचनका कारण साउन १७ गते हुने भनिएको जिल्ला अधिवेशन २७ गते सारिएको छ । केन्द्रीय समितिको आइतबारको बैठकले जिल्ला अधिवेशन सार्ने निर्णय गरेको

हो । क्षेत्रीय अधिवेशन भने साउन १५ मै हुनेछ । अधिकारीका अनुसार एक क्षेत्र मात्रै रहेका १६ जिल्लामा क्षेत्रका अतिरिक्त जिल्ला अधिवेशन पनि हुनेछ । अधिवेशन सकेर प्रधानमन्त्रीको निर्वाचनमा आउन कतिपय दुर्गम जिल्लाका सभासदलाई समस्या पर्ने भन्दै केही केन्द्रीय सदस्यहरूले क्षेत्रीय अधिवेशन पनि सार्नुपर्ने माग गरेका थिए । भक्तपुरमा क्रियाशील सदस्यता मिल्न बाँकी रहेको, कालीकोट र मुगुमा निर्वाचन अधिकृत र सामग्री शनिबारसम्म पुग्न नसकेकाले ती जिल्लाको निर्वाचन पछि तोकिने अधिकारीले बताए । उनका अनुसार गाउँ/नगरका ४ हजारभन्दा बढी ठाउँमा हुने निर्वाचनमा ३ लाख १० हजार क्रियाशील सदस्यले प्रत्यक्ष भाग लिँदैछन् । कांग्रेसको सक्रिय सदस्यसमेत यसपालि उत्साहजनक रूपमा बढेको छ । नवीकरण गर्नेको संख्या १ लाख २८ हजार मात्रै छ भने

नयाँ सक्रिय सदस्यता लिनेको संख्या १ लाख ८२ हजार छ । तीमध्ये महिलाको संख्या सत्र प्रतिशत छ । कांग्रेस विधानअनुसार पार्टीमा साधारण र क्रियाशील दुई प्रकारका सदस्यता हुन्छन् । पार्टीको कार्यमा दैनिक संलग्न भई लगातार दुई वर्ष साधारण सदस्यता लिएको वा कुनै भ्रातृसंस्था वा शुभेच्छुक संस्थाको साधारण सदस्य भई लगातार चार वर्ष काम गरेको व्यक्तिले क्रियाशील सदस्यता पाउँछन् । क्रियाशील सदस्यहरूबाट नै गाउँ/नगर अधिवेशन हुन्छ । महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम वा अल्पसंख्यक वा पिछडिएका वर्ग' सहितको ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । त्यसरी निर्वाचित क्षेत्रीय प्रतिनिधिबाट क्षेत्र र जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन हुन्छ । क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय अधिवेशनमा मताधिकार प्रयोग गर्छन् । केन्द्रीय महाधिवेशन भदौको १० देखि १४ सम्म राजधानीमा हुँदैछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks