भद्र शर्मा / शेखर अधिकारी
काठमाडौं, श्रावण १३ - प्रधानमन्त्रीका लागि बहुमत जुटाउन माओवादी र कांग्रेसले प्रयास गरिरहेका बेला एमाले अध्यक्ष झलनाथ खनालले भने बहुमतीय सरकारमा मतदान नगर्न मधेसवादी दलहरुलाई आग्रह गरेका छन् ।
खनालले बुधबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध चार वटै मधेसवादी दलहरुलाई पत्र लेखेर बहुमतीय सरकारका लागि कुनै पनि उम्मेदवारलाई मतदान नगर्न आग्रह गरेका हुन् । अध्यक्ष खनालको पत्र मधेसवादी दललाई बुझाउन पोलिटव्युरो सदस्यद्वय रामचन्द्र झा र प्रकास ज्वाला गएका थिए । 'अध्यक्षज्यूको पत्रप्रति उहाँहरु -मधेसवादी दल) को प्रतिक्रिया पनि सकारात्मक छ,' ज्वालाले भने ।
पत्रमा खनालले एमाले अझै पनि सहमतीय सरकारका लागि दृढ भएको उल्लेख गरेका छन् । उनले सहमतीय सरकारलेमात्र शान्ति प्रक्रिया र संविधान निर्माण गर्न सक्ने बताउँदै बहुमतीय खेलमा नलाग्न आग्रह गरेका छन् ।
सहमतीय सरकार बनाउने सम्भावना क्षीण भएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षधरले केन्द्रीय कमिटीको निर्णयमा पुर्नविचार गर्नुपर्ने बताउँदै आएका बेला खनाल बहुमतीय सरकारविरुद्ध झन् खरो उत्रिएका छन् । खनालले पठाएको पत्रप्रति आफूहरु सकारात्मक रहेको मधेसी जनअधिकार फोरमका सह-अध्यक्ष जेपी गुप्ताले प्रतिक्रिया दिए । उनले कांग्रेसले एमालेको समर्थन जुटाउने आश्वासन दिएकाले मात्र आफूहरुले सघाउन सकिने बताएको उल्लेख गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks