जे पाण्डे
नेपालगन्ज, श्रावण १२ - उपचारार्थ अस्पताल आउने ९५ प्रतिशत मृगौला पीडितको औषधि किन्ने पैसा नहुँदा मृत्यु हुने गरेको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सकले आर्थिक अभावमा उपचार गर्न नसक्दा यति धेरै मृगौला पीडितको मृत्यु हुने गरेको दुःखद तथ्यांक दिएका छन् ।
'दुवै मृगौलाले काम गर्न छाडेपछि डाइलाइसिस गर्न ल्याएका धेरै जनाको खर्च जुटाउन नसक्दा मृत्यु हुने गरेको छ,' अस्पतालका मेडिकल अधिकृत डा. पीयूष झाले कान्तिपुरसित भने, 'बचाउन सकिने अवस्थामा पनि आर्थिक कठिनाइले औषधि किन्न नसक्दा अकालमै ज्यान जाने गरेको छ ।'
अस्पतालमा विपन्न वर्गका धेरै बिरामी आउने गर्छन् । उपचार विधि निकै महँगो भएकाले एकपटक डाइलाइसिस गरेका बिरामी घर फर्केपछि फेरि आउँदैनन् । कृत्रिम मृगौलाका माध्यमबाट शरीरभित्र फैलिएको विषाक्त वस्तु हटाउने प्रविधि हो, डाइलाइसिस । 'यस्तो प्रविधिबाट उपचार गर्न नेपालीको आर्थिक क्षमताले पुग्दैन,' डा. पीयूषले भने, 'सरकारले उपचार खर्चका लागि पहल गर्नु जरुरी छ ।'
हरेक महिना ४० देखि ६० मृगौला रोगी उपचारार्थ आउँछन् । तीमध्ये औषधि किन्ने पैसा नभएका ३५ देखि ५५ को मृत्यु हुने गरेको छ । वैशाखयता झन्डै डेढ सय बिरामी उपचारार्थ भर्ना भएका थिए । तीमध्ये ९५ प्रतिशत उपचार खर्च पुर्याउन नसकेर फर्केका छन् । महिना दिनअघिमात्र उपचार खर्च जुटाउन नसकेको भन्दै आफन्तले ३ बिरामीलाई अस्पतालबाट घर लगेका थिए । 'पैसा नभएकै कारण मृत्यु भएको देख्दा साह्रै मन रुन्छ,' उनले भने । कृत्रिम प्रविधिबाट उपचार गराउँदा औषधिसहित महिनामा ३० हजार खर्च लाग्छ ।
मध्यपश्चिमका हिमाली र पहाडी जिल्लामा मृगौला रोग पहिचान गर्ने विशेषज्ञ अभावले पनि अन्तिम अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेको चिकित्सकले बताए । यस्तै अवस्थामा ल्याइएकी दाङकी दिनसरी विकको उपचार हुँदाहुँदै दुई दिनअघि मृत्यु भयो । 'पहिचान नहुँदा अर्कै औषधि चलाउने गरेको पनि पाइएको छ,' पीयूषले भने । रोग लाग्नुको कारण थाहा नहुनु र लागे पनि पहिचान नहुँदा अस्पतालै नआई कतिपय बिरामीको घरमै मृत्यु हुने गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks