काठमाडौँ, साउन २ गते । अघिल्लो आर्थिक वर्षमा भन्सार विभाग लक्ष्यभन्दा आठ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । विभागका अनुसार आर्थिक वर्ष २०६६/२०६७ मा लक्ष्य गरेको भन्दा आठ अर्ब ७९ करोड रुपियाँ बढी सङ्कलन गरेको छ । गत वर्ष विभागले कुल ७४ अर्ब ६७ करोड रुपियाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । यो सङ्कलित रकम आर्थिक वर्ष २०६५/२०६६ को भन्दा २२ अर्ब ४१ करोड रुपियाँ रहेको छ ।
विशेष गरी आयातमुखी भन्सार प्रशासनले लक्ष्यभन्दा बढी रकम सङ्कलन गरेकोमा केही अर्थविद्ले यसलाई सकारात्मक रूपमा लिन नहुने विचार पनि व्यक्त गरेका छन् । प्रा. डा. मदनकुमार दाहाल राजस्व सङ्कलन निर्यातमुखी हुनुपर्नेमा आयातमुखी देखिएकोमा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ, हामीले निर्यातलाई प्रोत्साहन दिनुपर्छ । तब मात्र अर्थतन्त्र सवल हुनसक्छ ।
भन्सार महसुल, पैठारी मूल्य अभिवृद्धि कर र पैठारी अन्तशुल्क गरी कुल ८३ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । यो रकम लक्ष्यभन्दा ११.७७ प्रतिशतले बढी हो । भन्सार महसुल सङ्कलनमा ३५ अर्ब एक करोड रुपियाँ, पैठारी मूल्य अभिवृद्धि करतर्फ ३७ अर्ब ९२ करोड रुपियाँ भएको छ । त्यसैगरी पैठारी अन्तशुल्कतर्फ १० अर्ब ५२ करोड रुपियाँ रहेको छ । यो रकम लक्ष्यभन्दा ४४ प्रतिशतभन्दा बढी र अघिल्लो वर्षको भन्दा १०५ प्रतिशतले बढी भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा राजस्व सङ्कलनका साथै राजस्व प्रशासनमा विभिन्न सुधार कार्यक्रम भएको पनि दावी गरेको छ । व्यापार सहजीकरण गर्न वीरगञ्ज, भैरहवा, विराटनगर, सुख्खा बन्दरगाह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तातोपानी भन्सार, मेची भन्सार, नेपालगञ्ज तथा कृष्णनगर भन्सार कार्यालयमा दलाल मोडयुल लागू गरिएको छ । यसले भन्सार कार्यालयमा छिटो रूपमा मालसामानको जाँचपास हुने गरेको विभागले जनाएको छ ।
देशका प्रमुख भन्सार नाकामा कम्प्युटर प्रणालीमा आधारित छनोट प्रणाली लागू गरिएको छ । यस प्रणालीबाट जोखिमका आधारमा मालवस्तुको जाँचपास सहज र नियन्त्रण अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुने गरेको छ ।
भन्सार विन्दुमा भन्सार सहजीकरण गर्दा हुनसक्ने राजस्व जोखिमलाई न्यूनीकरण गर्न भन्सार जाँचपास परीक्षण कार्यालय समेत स्थापना गरिएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks