काठमाडौ, श्रावण ८ - प्रधानमन्त्री चयनका लागि निर्णायक मधेसी मोर्चाले अघि सारेको आधारपत्रमा माओवादीले 'सकारात्मक' जवाफ दिए पनि समर्थन भने पाउन सकेको छैन ।
माओवादी पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको पक्षमा मतदान गर्न आग्रह गर्दै मोर्चालाई 'सकारात्मक छलफल' गर्न सकिने भन्दै लिखित पत्र शुक्रबार पठाएको थियो । तर मोर्चाले छलफलका लागि समय अभाव भएको भन्दै माओवादी पक्षमा मतदान गर्न नसक्ने जवाफ दियो । त्यसपछि उसले शुक्रबारको प्रधानमन्त्री निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको थियो । उसले अर्को चरणको निर्वाचनका लागि छलफल गर्न सकिने भन्दै माओवादीको सहयोग प्रस्ताव अस्वीकार गर्यो ।
'मधेसी मोर्चाले अघि सारेको आधारपत्रमा छलफल गरी निष्कर्षमा पुग्न समय पुगेन,' मोर्चासँग अनौपचारिक वार्तामा सहभागी माओवादी स्थायी समिति सदस्य देव गुरुङले कान्तिपुरसँग भने, 'आधारपत्रमा हामी सकारात्मक रूपमा छलफल गर्न तयार छौं भनेका छौं ।' प्रधानमन्त्रीको निर्वाचन शुक्रबार एक बजे हुने तय भए पनि पौने सात बजेमात्र सुरु भएको थियो । त्यसबीचमा माओवादीले मोर्चालाई आफ्नो पक्षमा तान्न निकै कसरत गरेको थियो ।
मोर्चाले बिहीबार सार्वजनिक गरेको आधारपत्रमा मधेसी मोर्चासँग भएका ८ र मधेसी जनअधिकार फोरमसँग भएका २२ बुँदे सम्झौतामा बाँकी रहेका विषयहरू कार्यान्वयन हुनुपर्ने, आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेशको स्पष्ट खाकामा प्रतिबद्धता जनाउनुपर्नेलगायत उल्लेख छ । यसमा माओवादी पहिलैदेखि सकारात्मक छ ।
माओवादीले बिहीबारको आधारपत्रको लिखित जवाफ दिने तयारी गरिरहेको बेला शुक्रबार उसले दुई पेज लामो मधेस सवाल, संविधान निर्माण र शान्ति प्रक्रियासम्बन्धी अर्को आधारपत्र माओवादीलाई लक्षित गरी सार्वजनिक गरेको थियो । आधारपत्रमा संविधानसभा राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले तयार पारेको प्रतिवेदन र राज्य पुनर्संरचना आयोगको औचित्य र सान्दर्भिकता नभएको र तराई वन विनास रोक्नुपर्ने उल्लेख छ । गुरुङले बिहीबारको आधारपत्र स्वीकार्न सकिने खालको भएको बताए । 'बिहीबार मोर्चाले सार्वजनिक गरेको आधारपत्रमा सकारात्मक हुन खासै समस्या थिएन,' उनले भने, 'शुक्रबारको आधारपत्रमा धेरै कुरा थपिएको हुनाले थप छलफलको आवश्यकता परेको हो ।'
मोर्चाले अर्को आधारपत्र सार्वजनिक गरेपछि गुरुङ पार्टीको पत्र लिएर मोर्चाको बैठक भइरहेको स्थान सिंहदरबार गएका थिए । त्यसबीचमा माओवादी अध्यक्ष दाहाल र मोर्चा सम्बद्ध मधेसवादी दलका नेताहरूसँग पटकपटक फोन वार्ता भए पनि सहमति हुन सकेन । 'अध्यक्षसँग पनि मोर्चाका नेताहरूसँग पटकपटक फोनमा कुराकानी भयो,' उनले भने, 'व्यवस्थित रूपमा छलफल गरौं भन्ने कुरा भएको थियो ।' उनका अनुसार माओवादी र मोर्चाबीच शुक्रबार बिहान वार्ता गर्ने तय भएको थियो । मोर्चाहरू 'व्यस्त रहेकाले' वार्ता हुन नसकेको उनले जानकारी दिए ।
मधेसवादी दलका नेताहरूले भने माओवादीसँग शुक्रबार वार्ता नभएको दाबी गरे । 'माओवादीसँग आइतबार वार्ता गर्छौं,' मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, 'उहाँहरूको आधिकारिक धारणा त्यसबेला मात्र थाहा हुन्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks