भैरहवा, श्रावण ६ - एक साताअघि जंगलमा मृत फेला परेका सैनामैनास्थित चौथो डिभिजनअन्तर्गत कृष्ण सेन स्मृति बि्रगेडका दुईजना लडाकुको हत्या शिविरकै सहकर्मीबाट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधबार यहाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै शिविरकै विकास र मानव उपनाम गरेका माधव घिमिरेले विष मिलाएको पेय पदार्थ सेवन गराई पर्वत हुवास-६ का विष्णु न्यौपाने र पर्वत मल्लाहाज-१ का चन्द्रबहादुर बोहराको हत्या गरेको जनाएको हो । प्रहरीका अनुसार घिमिरे र बोहराकी श्रीमती संगीता उपनामकी सम्झना छेत्रीबीच प्रेमसम्बन्ध भएका कारण विवाहका लागि बाधा नपुगोस् भनेर हत्या गरिएको हो ।
एक वर्षअगाडि शिविरबाहिर गई विवाह गरेका बोहरा र सम्झनाबीच पछिल्ला दिनमा सम्बन्ध चिसिँदै गएको प्रहरीले उल्लेख गरेको छ । 'श्रीमान्-श्रीमतीबीच शिविरभित्रै पनि झगडा र कुटपिट हुने गरेको थियो,' रूपन्देहीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले भने, 'प्रेम प्रसंग प्रगाढ बन्दै गएपछि विवाहका निम्ति बोहरा बाधकका रूपमा रहेकाले घिमिरेले उनलाई मार्ने योजना बनाएका हुन् ।'
घिमिरेले न्यौपानेलाई भने मार्ने षड्यन्त्र नगरेको तर बोहरासँगै विष मिलाएको पेय पदार्थ पिएकाले उनको पनि मृत्यु भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
'षड्यन्त्रअनुरूप घिमिरेले चन्द्रबहादुरलाई रक्सी खुवाउने निम्तो दिएका थिए,' प्रतिवेदनमा छ, 'शिविरमा रक्सी खान नपाउने भएकाले जंगलमा लगी घिमिरेले पहिले मादक पदार्थ सेवन गराए । पछि नशा लागेपछि विष मिसाएको कोक खुवाई उनीहरू अचेत भई भुइँमा पल्टेपछि घाँटी दबाएर हत्या गरे ।' घिमिरेले कोक र रक्सीमा थ्ााइडिन नामको विष मिसाएर पिलाई हत्या गरेको प्रहरीको ठहर छ । विष मिश्रति रक्सी र कोक पिएपछि सुरुमा न्यौपानेको मृत्यु भएको र बोहरालाई घिमिरेले ढुंगामा टाउको ठोक्याएर मारेको प्रहरीले बतायो ।
प्रहरी नियन्त्रणमा रहेका माधव र सम्झना दुवैले आफूप्रति लागेको अभियोग स्वीकार गरेका छन् । सम्झनाले भने घटनाले हत्यासम्मकै रूप लिन्छ भन्ने कल्पना नै नगरेको बताइन् । प्रतिवेदन सार्वजनिक कार्यक्रममा लुम्बिनी अञ्चल प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अर्याल लगायतको उपस्थिति थियो । घटनाको अनुसन्धान गर्न माओवादी शिविरबाट सहयोग मिलेको प्रहरीले बतायो ।
शिविरकी बि्रगडियर कमान्डर सपनाले प्रहरी अनुसन्धान साँचो भएको बताइन् । उनले आफूहरूको सहयोगकै कारण प्रहरीलाई तथ्य पत्ता लगाउन सहज भएको बताइन् । 'हामीले सोधपुछ गर्दा पनि केही शंका पाएका थियौं,' उनले भनिन्, 'उनीहरूलाई हामीले नै प्रहरीमा दिएका हौं ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks