Loving nepal news

Thursday, July 22, 2010

तरकारीले सानको जीवन

दीपेन्द्र बडुवाल

भरतपुर , श्रावण ७ - पूर्वी चितवनको भण्डारा-१ का तरकारी कृषक चन्द्रकान्त पाण्डेको परिवार २७ वर्षअघि सामान्य थियो । धादिङ, मेलखुबाट झरेका उनलाई हातमुख जोर्न समस्या थियो । सगोलमा हुँदा भण्डारा-५ मा १० कट्ठा खेत किनेका थिए । दाइ कृष्णराज धान खेतीमा विश्वास गर्थे । दाजुभाइले परिश्रम गरेर २४ कट्ठा खेत किने । ८५ वषर्ीय आमालाई

४ कट्ठा जिउनी छाडेर १०/१० कट्ठा बाँडे ।

२०५० सालको बाढीले पिरेपछि बसाइ सरेर १ नम्बर वडा आए । तरकारी खेती गरेको ११ वर्ष भो । सुरुमा झुपडी घर थियो । दाउराको भर । लुगाफाटो पुर्‍याएर लाउनुपर्ने । '१० कट्ठाबाट तरकारी खेती थालें,' उनले भने, 'मिश्रति तरकारी बाली लगाएँ ।' त्यति बेला खर्च कम थियो, मल, बीउ र ज्यामी सस्ता थिए । २ वर्ष १० कट्ठामा खेती गरें । त्यो बेला खर्च २५ हजार हुन्थ्यो । 'सालमा १ लाख बचाउँथे,' उनले बताए । राम्रो आम्दानी भएपछि पहिलो चरणमा उनले गोबरग्यास जडे । शौचालय बनाए । वस्तुको थलो -गोठ) र टिनले छाएको कच्ची घर बनाए ।

यो बीचमा गरेको आम्दानीले ४ सन्तान पढाएका छन् । जेठा छोरालाई विद्यार्थी भिसामा अस्ट्रेलिया पठाएको २ वर्ष भो । कान्छाले बिबिएस पढ्दै छन् । जेठी छोेरीले १२ सकाइन् । कान्छीले एसएलसी दिएकी छन् । उनी र श्रीमती देवमाया पाखुरा खियाउँछन् । डेढ बिघामा खेती गर्न १ लाख ५० हजार खर्च लाग्छ । बचत वाषिर्क ४/५ लाख गर्छन् । गत वर्ष खर्च कटाएर ४ लाख बचत भएको उनले बताए । त्यो रकमले गाउँमै ३५ हजार प्रतिकट्ठा दरले १० कट्ठा जमिन किने । यो वर्ष त्यसको मूल्य बढेर २ लाख रुपैयाँ प्रतिकट्ठा पुगेको छ । 'किन्न ग्राहक आएका थिए,' उनले भने, 'परिश्रमले जोडेको दिइनँ ।'

यिनले ३ वर्षअघि तरकारीको आम्दानीले पक्की घर बनाएका छन् । मोटरको सोख छैन । बूढो साइकल छ । टिभी, क्म्प्युटर सबै छन् । भण्डाराका यी नामी कृषकको घाटा नबेहोर्ने जुक्ति हो मिश्रति खेती । एउटाको भाउ घट्यो, अर्कोको बढ्छ ।

पाण्डेको घरबाट करिब २ सय मिटर दूरीमा छ ठाकुर त्रिपाठीको दुईतले घर । परिवारको नाजुक अवस्थाले गर्दा उनलेे पढाइलाई निरन्तरता दिएनन् । छाक टार्न तरकारी रोप्थे । 'सानिमाकोबाट तरकारीका बेर्ना ल्याएर रोप्यौं,' उनले भने, 'बढी फल्यो, उब्रेको बेच्दा पैसा आयो ।' उब्रेको तरकारीको आम्दानीले परिवारलाई व्यावसायिक खेतीमा डोर्‍यायो । ०५० सालामा उनका बुबाले ८ कट्ठामा तरकारी खेती गरेको थिए । तरकारी खेती हेर्न गाउँलेको भीड लाग्थ्यो । बीउ, मल, ज्यामी सस्ता थिए । अहिले मुख्य पेसा तरकारी बनेको छ । आपmनै १५ र भाडाको १४ कट्ठामा खेती गर्छन् । 'घाम पानी छिर्ने घर थियो,' उनले भने । २०५४ सालमा बन्दा रोपेका थिए । उनका अनुसार त्यो वर्ष बन्दाको भाउ अचाक्ली बढ्यो । १२ रुपैयाँ किलो । त्यो वर्ष १ लाख ५० हजार कमाइ

भो । अनि एकतले पक्की घर बनाए । अहिले घर दुईतले छ । घरमा चाहिँदो सबै छ । गत वर्ष ६ लाख कमाइ भएको थियो । यो वर्ष निकै कम भयो, साढे २ लाख । आमहडतालका कारण बन्दा १ रुपैयाँ किलोमा झर्‍यो । 'बन्दा बिक्री गरेनौं,' उनले भने, 'बारीमै जोत्यौं ।' ठाकुरले नयाँ काम थालेका छन । भण्डारा-काठमाडौं तरकारी व्यापार । ५ महिना भो ठूलो ट्रक किनेको । तरकारी बटुल्न २ रिक्सा छन् । करिब २ सय डोका छन् । 'आफैं ल्याउनेलाई भाडा दिन्छु,' उनले भने, 'अहिले धेरैले डोको बाजेकोे घर भनेर चिन्छन् ।'

थारू घर सम्भिmनेले कल्पना गर्छन खर नभए खपटाले छाएको । माटोले पोतेको । भित्तामा घोडा र हात्तीको आकृति । चैनपुर-१ का श्याम प्रसाद चौधरीको घरमा यी छैनन् । थारू शैलीको पक्की घर बनाएको ४ वर्ष भो । सम्पत्ति पुग्दो छ । रोजगारी छैन त के भो । बारीमा टन्न तरकारी फलाएका छन् । उनी १५ वर्षअघि परम्परागत बाली छोडेर तरकारीमा होमिएका थिए । ४/५ कट्ठाबाट थालेका थिए ।

'खर्च हुन्थेन,' उनले भने, 'आम्दानीका लागि तरकारी रोजे ।' उनले त्यो बेलाको बीउ गतिलो हुनाले उत्पादन राम्रो भएको बताए । त्यसमा पनि काँक्रोको बीउ असल हुन्थ्यो । अरू तरकारीको भन्दा मूल्य पनि राम्रो । अहिले 'हाई बि्रड' बीउले रुवाउने गरेको उनले बताए । ६ वर्षयता उनले भिन्डी उत्पादनमा जोड दिएका छन् । गत वर्ष भिन्डीबाट ७५ हजार कमाए । बोडी, फर्सी, रायो साग, चम्सुर, मूला रोप्छन् । 'मजदुर कमै लाउँछु,' उनले भने, 'परिवारले श्रम गर्छौं ।'

२ छोरी र १ छोरालाई क्याम्पस पढाउँदै छन् । जेठी छोरी बिएड, छोरा बिबिएस र कान्छी छोरी १२ कक्षामा छन । 'आउँदो साल ५ कट्ठामा तरकारी बढाउने विचार छ,' उनले सुनाए,' परिवार यसैमा सन्तुष्ट छ ।' उनी तरकारी खेती गर्ने थारू समुदायको दोस्रा व्यक्ति हुन् । पहिलो उनका भाइ धर्म हुन् । चैनपुरमा अहिले व्यावसायिक तरकारी खेती गर्ने थारू परिवारको संख्या ३० छ ।

तरकारीको पकेट क्षेत्रका यी केही नमुना कृषक हुन् । अहिले यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत तरकारी बनेको छ । पुरानाले खेतीलाई आधुनिकीकरण गर्दै छन् । नयाँले थाल्दै छन् । धान, मकै गर्जो टार्नमै सीमित खैरहनी-८ का हरि मर्दनिया -थारू) ले १ वर्षदेखि तरकारी खेती थालेका

छन् । 'पहिलो वर्ष २३ हजार कमाएँ,' उनले भने, 'बारीमा अझै छ ।' खेती गर्दा १० हजारजति खर्च भएको उनले बताए । यस वर्ष उनले ३ कट्ठामा खेती बढाउने भएका छन् ।

जिल्ला कृषि कार्यालयका प्रमुख लक्ष्मण पौडेलका अनुसार जिल्लामा तरकारीको कमाइले घरका छाना फेर्ने, बालबच्चा पढाउनेको संख्या धेरै छ । 'धेरै तरकारीबाटै सम्पन्न बनेका छन्,' उनले भने, '१ दर्जनजतिले यसैबाट ख्याति कमाएका छन् ।' भण्डारा, खैरहनी, चैनपुर, पिठुवा, शक्तिखोर तरकारीका पकेट क्षेत्र हुन् । जिल्लामा व्यावसायिक कृषकको संख्या १ हजारभन्दा बढी छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks