'कार्कीको हत्यामा संलग्नहरू माओवादी लडाकू शिविरमा’
काठमाडौँ, असार २७ गते । नेकपा (एमाले)ले राष्ट्रिय परिषद् सदस्य छविलाल कार्कीको हत्याको विरोधमा देशव्यापी भण्डाफोर कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा (एमाले) मुख्यालय मदननगर बल्खुमा आइतबार आयोजित पत्रकार सम्मेलनमा असार २८ गतेदेखि साउन ३ गतेसम्मको भण्डाफोर कार्यक्रम सार्वजनिक गरिएको हो । एमालेले स्वर्गीय छविलालको १३औँ पुण्यतिथिका दिन साउन ४ गते देशका ७५ जिल्ला सदरमुकाममा श्रद्धाञ्जलिसभा गर्ने भएको छ ।
पार्टी अध्यक्ष झलनाथ खनालले प्राप्त तथ्य र प्रमाणका आधारमा कार्कीको हत्या माओवादी कार्यकर्ताबाटै भएको दाबी गर्दै हत्यामा संलग्नहरू सिन्धुलीस्थित माओवादी लडाकू शिविरमा संरक्षित भएको आरोप लगाउनुभयो ।
उहाँले कार्कीको हत्या घटनाका आधारमा राष्ट्रिय सहमति निर्माण, शान्तिप्रक्रियामा अवरोध नपुगोस् भन्नेमा पार्टी गम्भीर रहेको उल्लेख गर्दै कार्कीको हत्या रहस्यमय भएकाले गभ्भीर अनुसन्धान आवश्यक भएको र अनुसन्धानमा सहयोग गर्न माओवादीलाई आग्रह पनि गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक प्रकृतिका अपराधका घटनामा अनुसन्धान गर्न नेपाल प्रहरी असफल बन्दै आएको र त्यसका कारण राजनीतिक दबाब पनि भएको बताउनुभएको छ ।
उहाँले एनेकपा माओवादीका लडाकू रहेका शिविरहरू अपराधी संरक्षण गर्ने थलो भएको पटक-पटक प्रमाणित भइसकेको बताउनुभएको छ ।
पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले आइतबार बसेको तीन दलको बैठकमा छविलाल कार्कीको हत्याको विषयलाई उठाउँदा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'घटनाबाट आफू स्तब्ध भएको' भन्दै कार्कीको हत्यामा आप\mनो कार्यकर्ताको संलग्नता पाइए कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो ।
त्यो क्षेत्रका जिम्मेवार साथीसँगको कुराकानीमा कार्यकर्ताको संलग्नताबारे प्रमाणित भएको छैन, बैठकमा अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एमाले नेता ज्ञवालीले भन्नुभयो- तर ढुक्क हुन सकेको छैन, एमालेले साह्रै पेले भनेर त्यो क्षेत्रका कार्यकर्ताले गुनासो गर्दै आएका थिए ।
एमाले नेता ज्ञवालीले बैठकमा छविलाल हत्याको निन्दा गर्ने, सरकारले अनुसन्धान अगाडि बढाउने र अनुसन्धानमा माओवादीले सहयोग गर्ने लिखित प्रतिबद्धता भएको जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks