Loving nepal news

Tuesday, July 27, 2010

तराई मुक्ति मार्चाका सैन्य कमाण्डर पक्राउ


भरत जर्घामगर

लहान, श्रावण १२ - प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका तराईमा भूमिगत सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमाण्डरलाई पक्राउ परेको छ । सिरहा कारागारबाट २०६५ साउन २९ गते फरार भएका सैन्य कमाण्डर विक्रान्त भनिने जसोकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय लहानको टोलीले विक्रान्तलाइ सोमवार साँझ लहानको पूर्वी सीमानामा रहेको बलान नदीको पुलमुनिबाट पक्राऊ गरेको थियो । सोमवार साँझ नै विक्रान्तलाई पक्राउ गरेपनि पक्राउ परेको एकदिनपछि मात्र प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका पूर्वी सैन्य कमाण्डर विक्रान्तको साथमा एक थान कटुवा पेस्तोल सहित सोमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लहानमा घटना गराउन आएको सूचना पाएपछि लुकेकै स्थानबाट विक्रान्तलाई पक्राऊ गरेको वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमाण्डर रहेका विक्रान्त भूमिगत रुपमै लहानदेखि १८ किलोमिटर दक्षिणी सीमासँगै टाासिएको भारतीय बजार लौकहीको कर्मैत महादेवास्थित डा. लाल साहको घरमा सेल्टरको रुपमा बस्दै आएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

२०६५ साउन २९ गते सिरहा कारागारको मूख्य गेटबाट ४९ जना कैदी फरार हुने गरी बनाइएको 'जेल ब्रेक' को मुख्य योजनाकारमध्ये विक्रान्त पनि थिए । उक्त जेल ब्रेकका मुख्य योजनाकारहरुमध्ये अब तुफान सिंह विद्रोही मात्र पक्राऊ हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राऊ गरिएपछि प्रहरीले विक्रान्तलाई हातहतियार तथा खरखजाना अभियोगअन्तर्गत मुद्दा चलाएको छ । मुद्दासँगै अखिल तराई मुक्ति मोर्चाको योजना र रणनीतिबारे थप अनुसन्धान गरिने र सोको प्रतिवेदन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks