काठमाडौ, श्रावण १० - पछिल्लो १ वर्षमा व्यापार घाटामा ९५ अर्ब रुपैयाँले थपिएको छ । गत वर्ष जेठमा १ खर्ब ९२ अर्ब रुपैयाँ व्यापार घाटा थियो । यस वर्ष २ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । यो ५० प्रतिशतको दरले भएको यो एतिहासिक वृद्धि हो ।
गत आर्थिक वर्षको सुरुदेखि नै उल्लेख्य दरले बढिरहेको आयात र सुस्ताउँदै गएको निर्यातका कारण हरेक महिना व्यापार घाटा उच्च दरले बढेको छ । यस अवधिमा आयात ३५ प्रतिशतले बढेको छ भने निर्यात करिब १० प्रतिशतले घटेको छ ।
जेठसम्म नेपालले कुल ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरका सामान आयात गरेको छ । निर्यात ५५ अर्ब रुपैयाँ मात्र भएको छ । आयातको १३ प्रतिशत मात्र निर्यातबाट आर्जन भइरहेको छ ।
भारत र तेस्रो मुलुक दुवैतर्फबाट हुने आयात बढेको छ भने निर्यात दुवैतिर घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मुलुकको ११ महिने आर्थिक विवरणअनुसार भारतबाट १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने ३६ अर्ब रुपैयाँको निर्यात भएको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको हिस्सा ५८ दशलमव ३ प्रतिशत पुगेको छ । तेस्रो मुलुकतर्फको निर्यात पनि १८ प्रतिशतले घटेको छ ।
यस अवधिमा शोधनान्तर घाटामा भने केही सुधार देखिएको छ । फागुनमा २३ अर्ब ५३ करोड रुपैयाँ रहेको शोधनान्तर घाटा जेठमा १५ अर्ब रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । असार मसान्तमा भने यो घाटा ५ अर्ब रुपैयाँभन्दा तल झरेको राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकको यस नयाँ अनुमानलाई आधार मान्ने हो भने असारमा मात्रै शोधनान्तर स्थितिमा १० अर्ब रुपैयाँभन्दा बढी रकम थपिएको देखिन्छ ।
यसैगरी जेठ अन्त्यमा विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । फागुनमा २ खर्ब ३५ अर्ब रहेको सञ्चिति जेठ मसान्तमा २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय
बैंकले असार अन्त्यमा यो रकम २ खर्ब ६६ अर्ब रुपैयाँमा पुग्ने आकलन गरेको छ ।
जेठमा मूल्य वृद्धिदर घटेको छ । गत वर्ष यसै अवधिमा १२ प्रतिशतले बढेको बजार भाउ यस वर्ष ९ दशमलव ६ प्रतिशतले बढेको छ । वृद्धिदर कम भए पनि गत वर्षको उच्च आधारमा झन्डै दोहोरो अंकले भएको मूल्य वृद्धिले सर्वसाधारणको जीवनस्तर भने कठिन बनाउँदै लगेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks