Loving nepal news

Monday, July 19, 2010

माओवादीले एमाले निर्णय पर्खने/ दाहाल- भट्टराईबीच छलफल

काठमाडौ, श्रावण ४ - माओवादीले सरकारको नेतृत्ववारे निर्णय गर्न एमालेको निर्णय पर्खने भएको छ । माओवादी सचिव सिपी गजुरेलले एमालेको निर्णय आइनसकेकाले प्रधानमन्त्रीबारे निर्णय गर्न अप्ठ्यारो भएको बताएका छन् । उनले त्यसका लागि ९ बजे वस्ने भनेको पार्टीको पोलिटव्यूरो बैठक ११ बजेसम्म सारिएको बताए ।

'स्थिति प्रष्ट भइसकेपछि अन्तिम टुंगो गर्दा ठिक हुने भएकाले बैठक सारेका हौ', उनले भने, 'एमालेले निर्णय गरिनसकेकाले निर्णय गर्न अप्ठ्यारो परेको हो ।'

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले आफ्नो नेतृत्वमा सरकार नबने एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने जनाएको थियो । तर माओवादीले प्रधानमन्त्रीमा आफै दावी गर्ने वा एमालेलाई सहयोग गर्ने भन्ने बिषयमा अन्तिम निर्णय गरिसकेको छैन् । माओवादीकै केही नेताहरुले खनालाई समर्थन गर्नु र माधव नेपाल नेतृत्वको सरकारको बिरोध गर्नुमा अन्तर नरहेको बताइरहदा गजुरेलले दुबै परिस्थितिमा अन्तर रहेको बताए ।

'दुबै परिस्थितिमा अन्तर छ । नेपाल नेतृत्वको सरकार कांग्रेस र विदेशी शक्तिको आडमा बनेको थियो', उनले भने, 'उही पार्टी भएपनि अहिलेका सम्भावित उम्मेदवार त्यो अवस्थाको विपक्षमा छन् ।'

एमालेले पनि प्रधानमन्त्रीमा आफ्नो उम्मेदवार उठाउने वा अरुलाई समर्थन गर्ने भन्ने बिषयमा मंगलबार निर्णय गर्ने भएको छ ।

यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वावुराम भट्टराईबीच अहिले भट्टराई निवास शान्तिनगरमा छलफल भएको छ । त्यसअघि दुबै नेतालाई कांग्रेस नेता अमरेश सिंहले भेटघाट गरेका थिए । भेटपछि सिंहले राष्ट्रिय सहमति जुटाउने प्रयासका लागि माओवादी नेतालाई भेटघाट गरेको जानकारी दिए । उनले त्यसका लागि प्रधानमन्त्रीको निर्वाचन लम्विन सक्ने संकेत समेत दिए ।

माओवादीले प्रधानमन्त्रीमा आफैले उम्मेदवारी दिने वा अरुलाई सघाउने भन्ने पार्टीमा बहस चलिरहेका बेला दुई शीर्ष नेताले पोलिटब्यूरो बैठक वस्नुअघि छलफल गरेका हुन् । दुई नेताले बैठकलाई विवादरहित बनाउन छलफल गरेको बताइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks