तेह्रथुम, श्रावण ५ - संखुवासभाको तामाफोकमा जंगली फलफूलबाट वाइन बनाउने उद्योग खुलेपछि स्थानीय महिलाले रोजगारी पाएका छन् ।
जंगलमा पाइने ऐंसेलु, चुथ्रो र केसरी संकलन गरेर मकालु वाइन इन्डस्टि्रजले वाइन बनाउन थालेपछि उद्योगमा तीन दर्जनभन्दा बढी महिलाले रोगजारी पाएका हुन् । प्राकृतिक प्रविधिबाट तयार गरिने वाइन उद्योगमा महिलालाई प्राथमिकता दिएको उद्योगका सञ्चालक सुजन श्रेष्ठले बताए ।
तेह्रथुम, संखुवासभा, ताप्लेजुङ र धनकुटा जिल्लाका जंगलमा खेर गइरहेका फलफूल संकलन गरेर उद्योगले वाइन उत्पादन थालेको हो । आगोको प्रयोगबिना प्राकृतिक प्रविधिबाट तयार गरिने वाइन उद्योगमा कामदार पनि बढी आवश्यक पर्ने सञ्चालक श्रेष्ठले बताए ।
सुरुमा वाषिर्क ९० बोतल क्षमताबाट वाइन उत्पादन सुरु गरेको उद्योगले अहिले वाषिर्क २ लाख ५० हजार बोतल वाइन उत्पादन गर्छ । सोही परिमाणको वाइन उत्पादनका लागि बाह्रै महिना कामदार आवश्यक पर्ने गरेकाले ज्यालादारी र स्थायी गरी यतिका महिलालाई रोजगारी दिइएको उद्योगले जनाएको छ ।
पुरुष अन्यत्र गएर पनि काम गर्न सक्ने भएकाले महिलालाई प्राथमिकतामा काम दिइएको सञ्चालक श्रेष्ठले बताए । 'स्थानीयस्तरमा महिलालाई रोजगारी दिए उनीहरू आत्मनिर्भर हुन्छन्,' उनले भने । महिलाले उद्योगमा काम गरेर दैनिक २ सय रुपैयाँदेखि मासिक १० हजार रुपैयाँसम्म कमाउने गरेका छन् ।
उत्पादित वाइनले नेपालमै राम्रो बजार पाउन थालेपछि जंगलमा खेर जाने ऐंसेलु, चुथ्रो र केशरी संकलन गरेर ल्याउने यहाँका अन्य बासिन्दाले पनि काम पाएका छन् । अप्रत्यक्ष रूपमा दुई सयभन्दा बढीले रोजगारी पाएका छन् । दुर्गममा उद्योग खुलेपछि स्थानीयले रोजगारी र आम्दानी दुवै पाएको स्थानीय कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केवलमान गुरुङले बताए ।
निजी, सामुदायिक र अन्य वन क्षेत्रमा रहेका यी फलफूल संकलन गरेर उद्योगमा बिक्रीका लागि ल्याउनेको संख्या दैनिक बढिरहेको छ । गुरुङका अनुसार सिजनमा ऐंसेेलु, केशरी र चुथ्रो बिक्री गरेर यहाँका महिला र पिछडिएका समुदायले लाखौं रुपैयाँ कमाइरहेका छन् ।
उद्योगले यी जंगली जातका फलफूल ल्याएजति लिन थालेपछि उपभोक्तालाई सहभागी गराएर सामुदायिक तथा निजी वनमा ऐंसेलु र चुथ्रोको बिरुवा रोप्ने काम भइरहेको
छ । उद्योगले जंगलमा खेर गइरहेको ऐंसेलु प्रतिकिलो ६० रुपैयाँका दरले किनिदिने गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks