Loving nepal news

Monday, July 26, 2010

बारसहितका रेस्टुरेन्टलाई अनिवार्य भ्याट

सुजित महत

काठमाडौ, श्रावण ११ - सरकारले बारसहितका रेस्टुरेन्टलाई अनिवार्य भ्याटको दायरामा ल्याउने भएको छ । पछिल्लो समय राजधानी र मुख्य सहरमा रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । सबैले राम्रो कारोबार गरेको देखिए पनि अधिकांश भ्याटको दायरामा नआएपछि अर्थमन्त्रालयले यस्तो तयारी गरेको हो ।

सेवा व्यवसायमा पर्ने रेस्टुरेन्टहरूले वाषिर्क १० लाख रुपैयाँभन्दा थोरै कारोबार देखाई भ्याटमा दर्ता नभएकाले नीति परिवतर्न गर्न लागेको सम्बद्ध स्रोतले जनाएको छ । वाषिर्क १० लाख रुपैयाँभन्दा बढी कारोबार हुने सेवा व्यवसाय अनिवार्य भ्याटमा दर्ता गर्नुपर्छ ।

आन्तरिक राजस्व विभागका अनुसार मुलुकभरि ३ सय ४३ वटा रेस्टुरेन्ट मात्र भ्याटको दायरामा छन् । उपत्यकामा २ सय ७१ रेस्टुरेन्ट भ्याटमा दर्ता भएका छन् । काठमाडौं र ललितपुर जिल्लामा करिब ५ हजार रेस्टुरेन्ट दर्ता छन् । विदेशमा काम गर्न जानेहरूले सिकेर आएको रेस्टुरेन्ट संस्कृतिले व्यवसाय विस्तार भइरहेको छ ।

विभागले गत आर्थिक वर्ष स्वयंसेवकहरूमार्फत उपत्यकाका सबैजसो बारसहितका रेस्टुरेन्टको सूचना विवरण संकलन गरेको थियो । 'बारसहितको सबैजसो रेस्टुरेन्टको वाषिर्क कारोबार १० लाख नाघ्ने अध्ययनमा देखियो,' सम्बद्ध स्रोतले भन्यो, 'त्यसैले बार भएका सबै रेस्टुरेन्टलाई भ्याटको दायरामा ल्याउनुपरेको हो ।' पछिल्लो समयमा ललितपुरका झम्सिखेल, जाउलाखेल, कुमारीपाटीलगायत ठाउँमा करोडौंको लगानीमा आधुनिक रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । तर ललितपुरका ६० वटा होटल/ रेस्टुरेन्ट मात्र भ्याटको दायरामा रहेको आन्तरिक राजस्व कार्यालय ललितपुरका प्रमुख कर अधिकृत विष्णु नेपालले जनाए । 'पछिल्लो समयमा हामीले भ्याटको दायरामा आउन ताकेता बढाएका छौं,' उनले कान्तिपुरसँग भने । यसबाहेक ठूला भोज र पार्टी आयोजना गर्ने रेस्टुरेन्टका साथै पार्टी प्लालेससमेत भ्याटको दायरामा आउन बाँकी रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।

सरकारले अनिवार्य भ्याटको दायरामा ल्याए ती रेस्टुरेन्टका ग्राहकले भने खानाका लागि थप १३ प्रतिशत रकम तिर्नुपर्नेछ । भ्याटमा दर्ता भएका रेन्टुरेन्टमा खाना खानेले १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्छ । भ्याटमा दर्ता भएका रेन्टुरेन्ट र दायरामा नआएका रेस्टुरेन्टबीचको प्रतिस्पर्धालाई भने यसले बढाइदिनेछ ।

नियमित भ्याट तिर्ने रेस्टुरेन्ट तुलनात्मक रूपले महँगो हँुदा ग्राहक तान्न गाह्रो भइरहेकोमा यसले समान आधार तयार हुने सञ्चालकहरू बताउँछन् ।

यसका साथै विभागले रेस्टुरेन्टहरूको कारोबार अनुसन्धान गरी कर निर्धारण गर्ने प्रक्रियालाई पनि गति दिएको छ । बबरमहलस्थित आन्तरिक राजस्व कार्यालय क्षेत्र-१ ले हालै नयाँ बानेश्वरका ५ रेस्टुरेन्टलाई एक करोड ७१ लाख कर निर्धारण गरेको थियो ।

प्रमुख कर प्रशासक शिशिर ढुंगानाका अनुसार रोयल एलिनाज बेकरी क्याफेलाई एक करोड ३५ हजार, जुम रेस्टुरेन्ट ४० लाख ६९ हजार, बाजेको सेकुवा १९ लाख ७ हजार तथा बेइजिङ गार्डेनलाई तीन लाख ९५ हजार कर निर्धारण गरिएको छ ।

यसैगरी लाजिम्पाटस्थित क्षेत्र ३ ले एक करोड ८ लाख निर्धारण गरेको छ । सेन्ट्रल प्वाइन्टलाई ३२ लाख ८१ हजार, भूमि रेस्टुलाउन्ज ५५ लाख, ओआसिस क्याफे

१३ लाख कर निर्धारण गरिएको प्रमुख कर प्रशासक मधुसूदन पोखरेलले जनाए ।

दर्ता नगरी पार्टी प्यालेस राजधानीको ठमेलमा दर्ता नै नगरी पार्टी प्यालेस सञ्चालन गरेको फेला परेको छ । दर्ता नगरी व्यवसाय गरिरहेको त्रिदेवी पार्टी भेन्युलाई आन्तरिक राजस्व कार्यालय क्षेत्र-३ ले ३६ लाख २५ हजार भ्याट तथा सात लाख १५ हजार असुल गर्नुपर्ने ठहर्‍याएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks