Loving nepal news

Tuesday, July 20, 2010

एमालेलाई माओवादीको सशर्त समर्थन

काठमाडौ, श्रावण ५ - एमाले अध्यक्ष झलनाथ खनालले व्यवस्थापिका संसदमा दुई तिहाइ मत ल्याउने अवस्था आए माओवादीले उनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार बसेको माओवादी पदाधिकारी बैठकले खनालले संसदमा ४ सय १ मत ल्याउने अवस्था आएमा उनलाई समर्थन गर्ने लिखित प्रतिबद्धता जनाएको हो । एमाले केन्द्रीय सदस्य योगेश भट्टराई माओवादीको लिखित प्रतिबद्धता लिन बैठक स्थल पेरिस डाँडामा पुगेका थिए । उनले माओवादी पत्र बुझेपछि दुई तिहाइका लागि पार्टी प्रयासरत रहेको जनाएका छन् ।

'दुई तिहाइ बहुमतको लागि एमालेले लेखेको पत्र प्राप्त भयो । हामीले उहाँहरुको दुई तिहाइ बहुमत पुगोस् भनेका छौं' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'एमालेको दुई तिहाइ बहुमत पाउने अबस्था आयोभने हामी समर्थन गर्छौं । निर्वाचन प्रकृया सुरु हुनुअघि नै उहाँहरुले आफ्नो उम्मेदवार निरन्तर रहेको वा दुई तिहाइ बहुमत पुगेको खवर गरिनु पर्छ ।'

श्रेष्ठले खनालले दुई तिहाइ ल्याउने अवस्था नआएमा पार्टीले आफ्नै उम्मेदवारलाई निरन्तरता दिने बताए । माओवादीले दुई तिहाइ आउने अवस्था नआए पूर्व जानकारी गराउन एमालेलाई आग्रह गरेको छ ।

व्यवस्थापिका संसदमा माओवादीको २ सय ३७ र एमालेको १ सय ९ सिट संख्या छ । दुई तिहाइ पुर्‍याउन एमालेलाई थप ५५ मत आवश्यक पर्छ । माओवादी निर्णयपछि एमालेले मधेसवादी दलहरुसँगको छलफललाई तिव्रता दिएको छ ।

एमालेले खनाललाई ४ सय १ सभासदको लिखित हस्ताक्षर मतदान अघि नै जुटाउनुपर्ने र नसके उम्मेदवारी फिर्ता लिई अरु पार्टीका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks